arrow

तीन वर्षमा धादिङमा मात्रै झण्डै तीन सयको दुर्घटनाबाट मृत्यु

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार

धादिङ। धादिङ जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा तीन वर्षको अवधिमा २ सय ९० जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७४-७५ मा मात्र सवारी दुर्घटनाबाट एक सय १७ को मृत्यु भएको छ। दुर्घटनामा २ सय ७ जना घाइते भएका छन्। अधिकांश सवारी दुर्घटना राति १ बजेदेखि बिहान ५ बजेको समयमा भएको छ।

आर्थिक वर्ष २०७२-७३ मा ७७ जना, २०७३-७४ मा ९६ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले दुर्घटना बढ्दै गएकाले दुर्घटना कमी गर्न कदम चाल्नु पर्नेमा जोड दिँदै आएको छ।

जिल्लामा भएका अधिकांश दुर्घटना सवारी साधनको तीव्र गतिका कारण हुने गरेको छ। चालकले मादकपदार्थ सेवन, थकान र निद्राले पनि दुर्घटना बढाएको ट्राफिक प्रहरीको भनाइ छ। यसबाहेक तनाव, उत्तेजना, सडकको दूरावस्था र पुराना सवारी साधनका प्रयोगले दुर्घटना बढेको छ। साँघुरो र जीर्ण सडक, अर्को सवारीलाई उछिन्ने र तीब्र गतिले सवारी चलाउने गर्दा दैनिकजसो सवारी दुर्घटना हुने गरेको कार्यालयले जनाएको छ।

पृथ्वी राजमार्ग, त्रिभुवन राजपथ, कालुपाण्डे मार्ग र विभिन्न ग्रामीण क्षेत्रसम्मको कच्ची सडकको सञ्जाल भएको धादिङ जिल्लामा पृथ्वी राजमार्गमा सबैभन्दा बढी दैनिक १० हजार सवारीसाधन आवतजावत गर्ने गर्छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ