सन्तोषको मृत्युले गाँउ डुब्यो शोकमा, शव झिकाउन वडाध्यक्षले गरे १ लाख सहयोग
प्रकाशित २०७५ साउन १८ शुक्रबार
623
Shares
रंगेली। मोरङको सुनवर्सी नगरपालीका वडा नं. २ अमरदह बजार यति बेला शोकमा डुवेको छ । बैदेशिक रोजगारका शिलशिलामा दक्षिण कोरिया पुगेका स्थानीय २९ वर्षीय सन्तोष विष्टको गत जुलाई १२ मा सडक दुर्घटनामा परी मृत्यु भएको खवरसंगै अमरदहबासी शोक डुबेका हुन् । अझ मृत्यु भएको २५ दिन भइसक्दा पनि शव झिकाउन आवश्यक खर्च नहुदा यति बेला उनको ६० वर्षीय वावु नरेन्द्रबहादुर विष्ट , ५७ वर्षीय आमा चन्द्रमाया विष्ट र उनकी जीवन सङ्गीनी सरिता रोएर दिन बिताइ रहेका छन् ।
बिष्ट दम्पत्तिले आफ्ना छोराको शव नेपाल ल्याउन अथक प्रयास गरेता पनि आर्थिक अभावका कारण समस्या भएपछी हाल बिष्ट दम्पत्तिले आफनो छोराको शव नेपाल ल्याइदिन सरोकारवाला निकाय र सरकारसँग आग्रह गरेका छन् । शोकले उनिहरूको भोक र निन्द्रा गुमिसकेको छ । नरेन्द्रले भने – १३ लाख ऋण गरेर गएको छोरो ऋण तिरी नसक्दै सधैंका लागि हामीलाई छोडेर गयो । न सास छ, न लास छ । ल्याउनका लागि सबैसँग गुहार मागें, तर कतैबाट पहल भएन । आखाँभरि आँशु पार्दै उनले भने –शब ल्याउन १० लाख खर्च लाग्छ भन्छन् , कहाँबाट ल्याउँ त्यति धेरै पैसा ?
दक्षिण कोरियाको सिजिओ सहरमा स्कुटरमा सवार सन्तोषलाई पछाडिबाट गाडीले ठक्कर दिएपछि उपचारका क्रममा मृत्यु भएको आफन्तको भनाई छ । दुर्घटना गराउने गाडी धनीको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उनको शव नेपाल ल्याउन समस्या भएको हो । सन्तोषलाई दुर्घटना गराउने गाडीले चुक्ता गर्नु पर्ने रकम तिर्न नसकेपछि दुर्घटना गराउने गाडी धनी र शव त्यहाँको प्रहरीले नियन्त्रणमा लिएर राखेको छ ।
सन्तोष दलाल मार्फत दुवईबाट डेढ वर्ष अघि दक्षिण कोरिया पुगेका हुन् । पर्यटन भिषाबाट कोरिया पुगेका कारण सन्तोषको शव ल्याउन प्राविधिक समस्या भएको जानकारहरूको भनाई छ । गाउँका आशलाग्दो युवकको दुर्घटनामा परेर मृत्यु भएपछि सुनवर्सी नगरपालिका वडा नं. २ का वडाध्यक्ष प्रताप तामाङले शुक्रबार घरमै पुगेर विष्ट परिवारलाई १ लाख १ हजार नगद रुपियाँ सहयोग गरेका छन् ।
निकै भावुक र आँखाबाट आसु खसाल्दै आफ्नो वडाको वासिन्दालाई सङ्कटमा पर्दा जनप्रतिनिधिको हैषियतले आफुले व्यक्तिगत रकम सहयोग गरेको तामाङले बताए । लाश ल्याउन झण्डै १० लाख खर्च हुने भएपछि अहिले स्थानीयहरू सहयोग सङ्कलनमा लागेका छन् ।