arrow

राष्ट्रपतिबाट दुई मन्त्रीले लिए शपथ, प्रधानमन्त्रीबाट राज्यमन्त्रीले

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
saphat.jpg

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त दुई मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।  

राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा शपथ कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्याललाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । दुवै जना नेकपाबाट प्रतिनिधिसभामा निर्वाचित(मोरङ र स्याङ्जा) हुन् ।

यसैगरी राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । अब मन्त्रिपरिषद्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय, २२ मन्त्री (प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित)र तीन राज्यमन्त्री भएका छन् । मन्त्रिमण्डलमा नेकपा र सङ्घीय समाजवादी फोरम नेपाल सहभागी छन् जसमा चार जना महिला छन् ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय संसद्का सभामुख कृष्णबहादुर महरा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, मुख्य सचिवलगायत उच्च पदस्थ अधिकृतको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठन भएको मन्त्रिपरिषद् गत वर्ष फागुन १४ र चैत २ तथा यस वर्ष जेठ १८ गते विस्तार भएको थियो । यो पाँचौँ पटकको विस्तार हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ