arrow

असोज २ को समयसीमालाई ख्याल गरी कानून निर्माण गरिन्छ : मन्त्री ढकाल

logo
प्रकाशित २०७५ साउन १८ शुक्रबार
bhanu-bhakta-dhakal.JPG

काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी असोज २ गतेअगावै आवश्यक कानून निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले आगामी असोज २ गतेभित्र सबै कानून निर्माण नगरे मुलुकमा संवैधानिक र कानूनी जटिलता आउन सक्ने पक्षलाई मध्यनजर गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

कानून निर्माणले गति लिन नसक्दा संघीय संसद् ‘विजनेश’विहीन भएको बताउँदै उनले मन्त्रालयका तर्फबाट यसमा विलम्ब भयो भन्ने कुराको प्रश्न उठाउन नदिनेतर्फ आफू लाग्ने र त्यसका लागि सबैको सहयोग जरुरी रहेको उल्लेख गरे ।

नसोचेको परिस्थितिपछि आफू यस मन्त्रालयमा आएको बताउँदै उनले बोल्नेभन्दा पनि काम नै पहिलो प्राथमिकता हो भने ।

मन्त्री ढकाललाई स्वागत गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले कानून निर्माणका लागि मन्त्रालय अहिले दिनरात नभनी खटिरहेको बताए ।

बंगलादेशमा एमबिबिएस अध्ययनरत नेपाली छात्राहरुबारे विवादास्पद अभिव्यक्तिपछि तत्कालीन कानूनमन्त्री शेरबहादुर तामाङले गत मंगलबार राजीनामा दिएपछि कानून मन्त्रालय मन्त्रीविहीन थियो ।

नवनियुक्त मन्त्री ढकाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट मोरङ क्षेत्र नं ३ बाट निर्वाचित भएका हुन् । नेकपा (माओवादी केन्द्र) र एमाले एकीकरणसँगै अहिले उनि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य छन् । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ