arrow

‘सोल्टी’ र ‘मितिनी’ लाई साउन मसान्तमा चीन पठाउने तयारी

बिदेश जाने गैडाको संख्या ३० पुग्दै

logo
प्रकाशित २०७५ साउन १९ शनिबार
rhino.JPG

काठमाडौं । ‘सोल्टी’ र ‘मितिनी’ नाम गरको अर्को जोडी गैडा साउन मसान्तमा चीन पठाउने तयारी गरिएको छ ।  चीनलाई उपहार स्वरुप दिन लागेको दोस्रो जोडी गैँडामध्ये एकदेखि डेढ वर्ष उमेरको भालेको नाम सोल्टी र डेढदेखि दुई वर्षको पोथीको नाम मितिनी राखिएको छ ।
 
चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप यो जोडी गैडा पठाउन लागिएको हो ।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजान तयारी थालेको बताए ।

यसअघि असार २८ गते एक जोडी गैँडा चीन पठाइ सकेको छ  । ‘रुपसी’ र ‘भद्र’ नामका गैडालाई चीनको ग्वान्जाओस्थित पान्यु जिल्लामा रहेको चिमेलोङ सफारी पार्कमा राखिएको छ ।

बाटोका कारण यो पटक पनि दुई दिनअघि नै साउन २९ गते गैँडा काठमाडौं ल्याईदैछ । पहिलो जोडी गैँडा दुई दिनअघि नै काठमाडौँ ल्याएर  राखिएको थियो ।

निकुञ्जबाट नियन्त्रणमा लिइएका गैँडा हाल सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा खाल्टो खनेर (पिटबुमामा) राखिएको छ ।


यसअघि झैं पछिल्लो जोडी गैंडा पठाउदा निकुञ्जका चिकित्सक, प्राविधिक र सहयोगी पठाउने तयारी गरिएको छ ।  पहिलो जोडी गैँडा पठाउँदा सँगै गएका चिकित्सक र प्राविधिक भने फर्किसकेका छन् ।
 
दुई वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा गैंडा उपहार दिने वचन दिएका थिए ।  त्यहि अनुरुप अहिले गैँडा पठाउन लागिएको हो ।

चीनमा दुई जोडी गैँडा पठाएपछि  निकुञ्जबाट अहिले सम्म उपहारस्वरुप विभिन्न देशमा पठाइएका गैँडाको संख्या  चीनलाई ४ सहित  गरी ३० वटा पुग्ने भएको छ  ।

बाह्र वर्षपछि यो बर्ष दुई जोडी गैँडा चीन पठाउने प्रक्रिया अघि बढेको  हो ।  निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा चार गैँडा पठाइएको थियो ।  पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैँडा पठाइएको थियो ।

यसअघि गैँडा पठाएर भारत, म्यान्मार र थाइल्याण्डबाट हात्ती ल्याइएको थियो । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले गैँडा दिएर भारतबाट मात्र १६ हात्ती ल्याइएको जानकारी दिए  ।

गैंडा हस्तान्तरणका लागि कुल एक करोड ५० लाख रुपैयाँ खर्च  चीन सरकारले नै बेहोरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ