arrow

गंगामायाका जेठा छोरा नुरप्रसाद प्रहरीको सम्पर्कमा, आमालाई भेटाईँदै 

logo
प्रकाशित २०७५ साउन २० आइतबार
nur-prasad.jpg

काठमाडौं । फुजेल घटनाको बहस सुरु भएकै दिन गंगामाया अधिकारीका जेठा छोरा नुरप्रसाद अधिकारी प्रहरीको सम्पर्कमा आएका छन् । नुरप्रसादका भाई कृष्णप्रसादको हत्यासम्बन्धी मुद्दाको बहस शनिबारबाट शुरु भएको छ ।

चितवन जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीबाट बहस शुरु भएको अदालतका स्रेस्तेदार गहेन्द्र पन्तले जानकारी दिएका छन् । 

कृष्णप्रसादको २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो । प्रवेशिका परीक्षा दिएर पूर्वी चितवनको जयमंगलामा हजुरबुबा भेट्न आएका समयमा अपहरणपछि रत्ननगरको बकुलहरमा उनको हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो । कृष्ण प्रसादका बुबा नन्दप्रसादको अनसनकै क्रममा निधन भएको लामो समयसम्म पनि दाह संस्कार हुन सकेको छैन । छोराको ‘हत्यारा’लाई कारवाहीको माग गर्दै आमरण अनशनमा बस्दै आएकी कृष्णप्रसादकी आमा गंगागामाया अधिकारी अहिले पनि वीर अस्पतालमै छिन् । यद्यपि, अहिले उनले अनसन तोडेको अवस्था छ । 

जेठा छोरा नुरप्रसाद अधिकारी ‘बेपत्ता भएको’ लामो समयपछि काठमाडौंमै भेटिएका छन् । कान्छा छोरा कृष्णप्रसादको हत्यारालाई कारवाहीको माग गर्दै अधिकारी दम्पत्ति अनशनमै रहेका बेला नुरप्रसाद २०७० बाटै सम्पर्कविहिन भएका थिए ।
६ असोज २०७१ सालमा अनशनमै रहेका बेला बुबा नन्दप्रसाद अधिकारीको मृत्यु हुँदा समेत नुरप्रसाद सम्पर्कमा आएनन् । 

लामो समय सम्पर्कविहिन रहेका छोराको खोजी गरिदिन आग्रह गर्दै गंगामायाले प्रहरीलाई अनुरोध गरेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई सम्पर्कमा ल्याएको हो । ६ वर्षदेखि परिवार र आफन्तसमेतको सम्पर्कमा नरहेका अधिकारी ललितपुरको सानेपामा फेला परेका हुन् । उनलाई  साँझसम्ममा आमा गंगामाया अधिकारीसँग भेट गराउने महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले बताएका छन् । 

आमा–बुवाले अनशन थाल्दासँगै रहेका नुरप्रसाद ७० सालबाट हराए । बेपत्ता भएकै अवस्थामा केही सञ्चारमाध्यममा अन्तर्वार्ता दिएका अधिकारीले मानवअधिकारकर्मीहरूका कारण आफ्नो र आमा–बुवाबीचको सम्बन्ध बिग्रिएको पनि बताएका थिए । सम्पर्कविहिन भएपछि पनि सामाजिक सञ्जाल फेसबुक भने उनले चलाईरहेकै थिए । 

नन्दप्रसादको मृत्युअगाडि मानवअधिकारकर्मीकै पहलमा अनशन तोडाउने प्रयास हुँदा नुरप्रसादले विरोध गरेका थिए । अनशन तोडाउने प्रयास भए आफूले समेत विद्रोह गर्ने भन्दै उनले अधिकारकर्मीमाथि नै हतियार ताकेको विषय समेत त्यो बेला चर्चामा आएको थियो । उनले त्यसपछि पनि ओरोपितहरुमाथि चिर्पट प्रहार गरेको घटनाक्रम समेत बाहिर आएको थियो ।  

यस्तै, चितवन जिल्ला अदालतले गएको फागुनमा कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाका जाहेरवाला नुरप्रसादलाई अदालत उपस्थित हुन आदेश जारी गरेको थियो । नुरप्रसाद त्यतिबेला अदालतमा उपस्थित भएनन् । जिल्ला अदालत चितवनले गएको फागुन १३ गते नुरप्रसादलाई अदालतमा बकपत्रका लागि उपस्थित हुन आदेश दिएको थियो ।

चितवन जिल्ला अदालतले नुरप्रसादसँग बयान लिनु भनि आदेश दिए पनि नुरप्रसाद नभेटिएपछि अदालतले गोरखाको गण्डकी गाउँपालिका– ३ मा रहेको सार्वजनिक चौतारीमा रहेको पिपलको बोटमा सबैले देख्ने गरी म्याद तामेल गरेको थियो । 

तामेल गरेको पत्रमा चैत २५ गतेसम्म अदालतमा उपस्थित भई बकपत्र दिन भनिएको थियो । तर, नुरप्रसाद तोकिएको समयमा अदालतमा उपस्थित भएनन् ।

२०६१ जेठ २४ गते कृष्णप्रसादका बुबा नन्दप्रसादले आफ्नो छोराको हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको र त्यसको १ वर्ष ६ महिनापछि कृष्णप्रसादका दाजु नुरप्रसादले १३ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए । 

जिल्ला अदालतले किटानी जाहेरी भएकामध्ये सातजनालाई धरौटीमा र चारजनालाई साधारण तारेखमा छाडेको थियो । पछि सर्वोच्च अदालतले १३ जना अभियुक्तमध्ये छविलाल पौडेललाई थुनामै राखेर बाँकी कारवाही किनारा गर्नू भन्ने आदेश दिएको थियो ।

सर्वोच्चको आदेशअनुसार पौडेलले गत असार २४ गते सर्वोच्च अदालतमा आत्मसमर्पण गरेसँगै अहिले पुर्पक्षका लागि जेलमा छन् । उनलाई पुर्पक्षका लागि डिल्लीबजार कारागारमा राखिएको छ । पौडेल कारागार चलान भएपछि गंगामायाले केही दिनका लागि भन्दै आमरण अनशन स्थगित गरेकी छन् । उनले आफ्नो छोराका हत्यारालाई कारबाही नभए फेरि अनसन बस्ने भनेकी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ