arrow

ओखलढुंगाका दुई सय घर परिवार अझै जोखिमसंग जुध्दै

विस्थापितको यकिन तथ्यांक नै छैन् कार्यालयमा

logo
जीवन शर्मा,
प्रकाशित २०७५ साउन २१ सोमबार
okhaldhunga.png

ओखलढुंगा ।  २०७२ बैशाख १२ को भूकम्पका कारण  पूर्ण क्षति व्यहोरेर बस्तीनै विस्थापित बनाएका ओखलढुंगाका दुइ सय घर परिवार अझै जोखिममा जुधिरहेका छन् । बस्ती स्थानान्तरणका लागि राज्यले उचित व्यवस्था नमिलाउदा उनिहरु अहिले पनि जोखिम्मै बस्न बाध्य भएका हुन् । भूगर्व विद्को अध्ययनले बसोबास गर्न अयोग्य ठहर्याएका बिभिन्न बस्तीहरुको स्थानान्तरणको प्रकृया सुरु नहुदाँ उनिहरु बिचल्लीमा परेको बताउँछन् ।

राज्य तहबाट समयमै सुरक्षित बस्तीको व्यवस्थापन हुन नसक्दा आफुहरु अझै पहिरोमुनी मुटुकाप्दै पालमा बस्न बाध्यभएको खिजीदेम्बा गाउँपालिका १ रगनीका भूकम्प प्रभाति वेदमाया सुनुवारले गुनासो गरिन । उनले भनिन,‘हामीलाइ वारी पारी पहिरो जाँदा पनि मुटु काम्छ, राती सुत्न समेत आनन्दले पाइदैन् ।’ वेदमाया जस्तै खिजीदेम्वा १ गैरागाउका ४६ विस्थापीत परिवारको पिडा उस्तै छ ।

उनिहरुले अहिलेसम्म कुनै बैकल्पीक व्यवस्था समेत नगरि सोही विस्थापित बस्तीमा बसीरहेका छन् ।  ‘हामीहरु तीन बर्ष देखि ढुक्कसंग बस्न पाएका छैनौ,’ गैरागाउँकै अर्का स्थानीय मानबहादुर महतराले भने, कि हामीलाइ यसै ठाउँमा बस्न योग्य भनेर आवास निर्माण गर्न दिनुपर्‍यो, कित बस्ती स्थानान्तरणमा तत्काल पहल गर्नुपर्‍यो ।” वेदमाया र मानबहादुर मात्र होइन ओखलढुंगाको पाँचवटा गाउपालिका २ सय परिवारको गुनासो यस्तै छ । मोलुङ गाउपालिका ३ हर्कपुरका १४ घर परिवार विस्थापित सूचिमा छन तर उनिहरु अहिलेपनि गाउ नजिकै आइपुगेको पहिरोलाइ सामना गर्दै साविककै स्थानमा बस्न बाध्य छन् ।

 ‘हामीलाइ सरकारले अन्यत्र जानका लागि निर्देशन दियो तर ठाउँ देखाइदिए, ६० बर्षीय चन्द्रकुमारी सुनुवारले भनिन, यो सरकारले कि हामीलाइ यही मार्नु पर्‍यो नत्र उचित स्थान खोजेर स्थानान्तरण गर्नु पर्छ ।’ यसरी भूकम्पका कारण पहिरोको उच्च जोखिममा रहेका विस्थापित बस्तीका नागरिकलाइ कतिखेर के हुन्छ टुंगो छैन् । उनिहरु आर्थिक रुपमा समेत त्यत्तिकै कमजोर देखिएका छन् । हर्कपुर केरावारीका विस्थापित परिवार तीनमहिना देखि छ महिना सम्म मात्र खान पुग्ने बताउछिन स्थानीय निर्मला सुनुवार । सो ठाउमा १९ सय ९० सालमा गएको भूकम्पले १७ घर पुरेको र गाउ बस्ती नै अलि पर सरेको इतिहास भेटीने उनले बताइन् । जिल्ला प्रशासन कार्यालयले ०७२ को भूकम्प लगातै भूगर्वविदको टोली नै पुगेर केरावारी गाउँलाइ नै विस्थापित बस्तीको सूचिमा राखेरे ६ महिनाका लागि साविकको हर्कपुर ५ मा नेपाली सेनाले बनाएको सेल्टरमा बस्ने व्यवस्था मिलाएको र त्यस पछि पूनः विस्थापित गाउमै आएर बस्न बाध्य भएको निर्मलाले गुनासो गरिन् ।

 अझै टहरोमै बसीरहेका यो समुदायका विस्थापितहरु बर्षादको समयमा पानी चुहीएर बस्न नसकीने र हिउदमा गर्मीले भतभती पोल्नेहुँदा वसोबास असहज भएको स्थानीय दुतकुमारी सुनुवार बताउँछिन् ।  समुदाय नजिकै आइपुगेको पहिरोका कारण दिन रात त्रास बढ्दै गएको र कहीले स्कुलमा कहिले सामूहिक आवासमा बसेको अहिले सम्मको समय विताएको सुनुवारले दुखेसो पोखिन् । यि त उदहारणका केही पात्र मात्र हुँन्  । हाल ओखढुंगाका  पाँचवटा स्थानीय तहमा पर्ने विभिन्न १६ स्थानका २ सय घर विस्थापितको सूचिमा रहेको राष्ट्रिय पूननिर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार ओखलढुंगाको तथ्यांकमा उल्लेख छ ।

सामाजिक विकास विज्ञ सुनिता अधिकारीले आठ स्थानीय तह मध्य पाँच वटा स्थानीय तहका १६ वटा बस्ती विस्थापित भएको बताइन् । मोलुङ गाउपालिकाको हर्कपुर, प्राप्चा, चम्पादेवी गाउपालिकाको बिलन्दु, फूलबारी, लिखु गाउपालिकाको टारकेराबारी, यसम, पोकली, खिजिदेम्बा गाउपालिकाको रगनी, खिजीचण्डेश्वरी, र चिशंखुगढी गाउपालिकाको माम्खा लगायतका स्थानहरु भूकम्पका कारण पहिरोको उच्च जोखिममा रहेको कार्यालयको तथंकमा उल्लेख छ ।  उल्लेखित स्थानमा रहेका १६ वटा बस्तीका दुई सय भन्दा बढी घरपरिवार अझै निजी आवास कहा बनाउँने भन्ने अलमलमा परेका छन् ।  परापूर्वक कालदेखिनै बसोबास गर्दै आएको स्थानलाई भूगर्वविद्को अध्ययनले बसोबासका लागी अयोग्य ठहर्याएपनि उनिहरु आफैले बैकल्पीक व्यवस्था गर्न नसकेको र सरकारी तहबाट पनि कुनै चासो नदेखाएको गुनोसो गर्दै आएका छन् ।   

कार्यालयको तथ्यांकमा १६ वटा बस्तीका २ सय परिवार विस्थापित भएको विवरण उपलब्ध भएपनि अझै केही विस्थापित परिवारले निवेदन नदिएकै कारण विस्थापित सूचिमा परेका छैनन् ।  उनिहरु भुकम्पका कारण चिराचिरा परेको पुरानै बस्तीमा बसेर जोखिममा जुधिरेहका छन् ।  प्रदेश नम्बर १ कै पहिरोको उच्च जोखिममा रहेको ओखलढुंगामा साना ठुला गरी बर्षेनी दर्जनौ पहिरोले बस्तीहरु विस्तारै जोखिमयुक्त बनाइरहेको अवस्थामा भूकम्पले त्यस्ता ठाउलाइ पहिरो निम्त्याउन थप मद्दत गरेको चिशंखुगढी गाउपालिका वडा नम्बर ७ माम्खास्थित नेभारे सामूदायिक वन उपभोक्ता समितिका अध्यक्ष मुगाधन राईले बताए । भूकम्प जानुभन्दा बर्षै अघिदेखि गाउनै  उच्च जोखिममा रहेको माम्खास्थित भडारेको पहिरोले हाल सम्म ५० घर भन्दा बढी विस्थापित वनाइसकेको छ । पछिल्लो समयमा यसले थप विकराल स्थिति निम्त्याएको चिशंखुगढी गाउपालिका वडा नम्बर ८ माम्खाका वडा सदस्य शेरबहादुर राइले बताए ।  यहाका नागरिहरु कहा गएर वासको व्यवस्था मिलाउने भन्ने चिन्तामा रहेका छन् ।  

 राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ४८ परिवारलाई तत्काल स्थानान्तरण गर्ने प्रकृयामा ल्याइएको बताएको छ । बाँकिको पहिचान भैरहेको र उनिहरुलाइ प्रकृयामा ल्याएर बस्ती स्थानान्तरण गर्ने विषयमा आफुले विशेष चासो दिएको जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठले बताए । स्थानीय सरकारका प्रमुख, प्रादेशिक र सङ्घीय सांसद, सम्बन्धित क्षेत्रका प्राविधिक तथा विज्ञ लगायत संग निरन्तर समन्वय गरिरहेको हुँदा केही समय सम्ममा सकारात्मक परिणम ल्याउन सकिने श्रेष्ठले विश्वास गरेका छन् । प्राधिकरणले अझै विस्थापित भएका ६० भन्दा बढी घरधुरी पहिचान गरी विस्थापीतको सूचिमा राख्न नसकेको मोलुङ गाउपालिका वडा नम्बर ३ का अध्यक्ष रामबहादुर कार्कीले बताए । सो वडाभित्र भूकम्पपछिको पहिरोका कारण विस्थापित हुने सबै परिवारलाई नजिकै रहेको प्रप्चास्थित सुरक्षित ठाउँमा एकिकृत बस्ती विकासको योजना बनाएपनि योजना अनुसार काम गर्न नसकिएको कार्कीले बताए ।

  भुकम्पका कारण बसोबास गरिरहेको घरघडेरी चिराचिरा परेका प्रभावित भूकम्प गएको तिन बर्ष बितिसक्दा समेत जहाको त्यही आफुभन्दा ठुलो डरको भारी बोकेर बस्न बाध्य भएको विस्थापितहरुले गुनासो गरेका छन् । पिडितहरुले अहिलेपनि त्रिपाल तथा जस्ताका टहरामुनी रात काट्दै गरेको खिजीदेम्बा गाउपालिका वडा नम्बर ३ की स्थानीय विस्थापित धनकुमारी सुनुवारले बताइन् ।   राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार जिल्ला आयोजना कार्यान्वयन इकाइ ओखलढुंगाका प्रमुख विजयमुनि बज्राचार्यले बस्ती सार्नका लागी नयँ ठाउहरु बाट पनि आवेदन आईरहेकाले विज्ञसहितको टोलीबाट त्यसको अनुगमन पछि के गर्ने भन्ने निर्णय लिइने बताए । भुगर्वविद्ले सिफारिस गरेका बस्तीलाई स्थानान्तरण गर्ने र व्यक्तिगत रुपमा सुरक्षित स्थानमा घर बनाउन चाहनेका लागि तत्काल अनुदान  दिइने व्यवस्था मिलाउन सकिने उनको भनाइ छ  ।

ओखलढुंगामा जम्मा २० हजार ६ सय ७८ घर पूर्ण क्षति भएका थिए जसमध्य १९ हजार ३ सय ९१ ले तत्काल अनुदान संझैता गरिसकेका र सात सय ७४ ले अझै संझौता गर्न बाँकी रहेको छ । हाल सम्म प्रथम किस्ता प्रप्त गर्ने लाभग्राहीको संख्या १९ हजार ३ सय २९ र घर पूननिर्माणको चरणमा रहेका लाभग्राही १६ हजार ९ सय ६६ रहेको पून निर्माण प्राधिकरणको तथ्यांकमा उल्लेख छ । साउन १५ सम्ममा सात हजार तीन सय ८६ घर निर्माण सम्पन्न भैसकेका र उनिहरुले तेस्रो किस्ता समेत प्राप्त गरिसकेको बताइएको छ । अहिले सम्म पनि निजि आवास निर्माणको काम सुरु नगरेका लाभग्राहीको संख्या भने तीन हजार सात सय १२ रहेको तथ्यांकले देखाउछ ।

तर पून निर्माण प्राधिकरण इकाइ कार्यालय ओखलढुंगाले पूननिर्माण सम्बन्धि विवरणहरु राखेपनि वास्तविक विस्थापित बस्तीका नागरिकको तथ्यांक भने अझै एक्कीन गर्न सकेको छैन् ।  विस्थापित बस्तीलाइ व्यवस्थित र सुरक्षित स्थानमा बसोबास गर्ने व्यवस्था मिलाउनका लागि सम्बन्धित निकायहरुले अझै चासो नदिने हो भने भूकम्पले चिराचिरा पारेको यी बस्तीका सयांै नागरिकहरुको जिवन कतिखेर के हुने भन्ने टुंगो छैन् । तीन बर्ष अघि देखि शारिरीक मानशिक कष्टपूर्ण जिवन विताउदै आएका २ सय घर परिवारमा आश्रीत ९ सय भन्दा बढी नागरिकको भविश्यका विषयमा सरकारको तत्काल ध्यान नदिने हो भने विकराल परिस्तिथति उत्पन्न देखिन्छ । यस तर्फ समयमै सचेत हुनु जरुरी देखन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ