टिपरको ठक्करबाट मारिएका आफन्तलाई प्रहरीको न्याय, अश्रुग्याँस, लाठीचार्ज र पक्राउ
पिडितलाई तह लगाउन दर्जनौ प्रहरी परिचालन, पिडितलाई थप पिडा
सुनिल शिवाकोटी,
प्रकाशित २०७५ साउन २१ सोमबार
445
Shares
हेटौँडा। मोटरसाइकललाई ठक्कर दिएर जीवन गुमाएका टंक न्यौपाने र घाइते गिता न्यौपानेका आफन्त तथा स्हथानियरुलाई हेटौंडाको प्रहरीले उल्टै दमन गरेर न्याय दिएको छ।
प्रहरीले ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई न्याय दिलाउन लाग्नुभन्दा टिपरको सुरक्षालाई बढ्ता ध्यान दिदा हेटौंडाको वडा नम्वर १७मा सोमबार अप्रिय स्थिति उत्पन्न भएको छ।
प्रहरीले मोटरसाइकलमा सवार व्यक्तिलाई ज्यान लिने टिपरलाई जवर्जस्ती लैजान खोजेपछि भएको विवाद वढ्दै जाँदा हेटौँडा उपमहानगरपालिका–१७ गैरीगाउँमा सोमबार दिउसो झडप भएको हो।
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीय आइतबार दिउसो १२ बजेदेखि कान्ति लोकपथ अवरुद्ध गर्दै टिपर लैजान रोक लगाएका थिए। सोमबार दिउसो प्रहरीले बल प्रयोग गरेर टिपर लैजान खोजेपछि झडप भएको हो।
पीडित परिवारलाई उचित राहत, घाइतेको उपचार, टिपर चालकलाई कारबाही, सडक क्षमता भन्दा बढि सामान बोक्ने सवारी संचालनमा रोक लगाउनुपर्ने लगायतको माग गर्दै स्थानीयले आइतबार दिउँसो १२ बजेदेखि सडक अवरुद्ध गरेका थिए । प्रहरीले बल प्रयोग गरेर सोमबार अपरान्ह ४ बजेबाट पिडित पक्षलाई हटाएर यातायात खुलाएको छ।
प्रहरीले जवर्जस्ती बाटो खुलाउन खोज्दा स्थानियको अवरोध हटाउन ७ सेल अश्रुग्याँस प्रहार गरेको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा ५० जना भन्दा बढि प्रहरी खटिएका थिए।
प्रहरीले ठक्कर दिने टिपर हेटौँडा उपमहानगरपालिकाको जेसिबि प्रयोग गरी जिल्ला प्रहरी कार्यालय मकवानपुर पुर्याएको छ ।
पिडित पक्षको समर्थनमा उत्रिएका नेपाल तरुण दल हेटौँडा नगर अध्यक्ष सुनिल गिरी, हरिशरण थापा, रणबहादुर श्रेष्ठसहितलाई प्रहरीले पक्राउ गरेको छ।
आइतबार हेटौँडाबाट गैरीगाउँतर्फ गइरहेको ना ७ ख ७२२३ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा ४२ प ७०७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २६ बर्षीय टंक न्यौपानेको मृत्यु भएको थियो। मोटरसाइकलमा सवार गिता न्यौपाने घाइते भएकी छिन् । उनको चितवनमा उपचार भईरहेको छ ।
वार्ताबाट समस्या समाधान गर्न प्रशासनले वेवास्ता गरेको स्थानीयको आरोप छ। सोमबार दिनभर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी र स्थानीयबीच वार्ता भएपनि सहमित नजुटेपछि स्थानीय आक्रोशित बनेका हुन् ।
स्थानियले टिपर साहुको पक्ष लिएर पिडित पक्षलाई थप पिडित बनाएको आरोप लगाएका छन्।