arrow

साउदी अरेबियाद्धारा क्यानाडाको हवाई उडान रद्द

logo
प्रकाशित २०७५ साउन २२ मंगलबार
saudi-arabia-canada.jpg

रियाद। साउदी अरेबियाको राष्ट्रिय ध्वजाबाहक विमान सेवाले क्यानाडाको टोरन्टोमा गर्दै आएका उडानहरु रद्द गर्ने भएको जनाएको छ। उडानहरु अर्को सोमबारदेखि रद्द गरिएको र त्यसपछिका लागि टिकटहरु बिक्री नगर्न आदेश दिइएको उक्त एयरलाइन्सले सोमबार जानकारी दिएको साउदी प्रेस एजेन्सीले जनाएको छ।

क्यानाडेली विदेशमन्त्री र रियादमा रहेको दूतावासको विरोधस्वरुप साउदी अरेबियाले यो निर्णय गरेको बताइएको छ। क्यानाडेली विदेशमन्त्री क्रिश्टिया फ्रिल्याण्डले साउदी अरेबियाको जेलमा रहेका क्यानाडेली नागरिक समाजका एकजना अभियन्तालाई तुरुन्त रिहा गर्न दबाव दिँदै आएका छन्।

रियादमा रहेको क्यानाडेली दूतावास र विदेशमन्त्री फ्रिल्याण्डले ती क्यानाडेली नागरिकलाई तुरुन्त रिहा गर्न दबाव दिएपछि त्यसको विरोधस्वरुप साउदी अरेबियाले पछिल्लो निर्णयका रुपमा रियादबाट टोरन्टोमा भइरहेका उडानहरु रद्द गर्ने निर्णय गरेको हो।

यसै विरोधस्वरुप साउदी अरेबियाले रियादमा रहेका क्यानाडेली राजदूतलाई पनि २४ घन्टाभित्र देश छोड्न सोमबारै आदेश दिएको छ। त्यसैगरी क्यानाडामा रहेका आफ्ना राजदूतलाई पनि फिर्ता बोलाएको छ। यसका साथै साउदी अरेबिया र क्यानाडाबीचको व्यापार व्यवसाय र नयाँ लगानीका सबै कार्यक्रमहरु पनि स्थगित गर्न आदेश दिइएको साउदी अरेबियाले जानकारी गराएको साउदी प्रेस एजेन्सीले जनाएको छ।

उक्त एयरलाइन्सले अर्को सोमबार पछिका लागि बुकिङ गरिएका टिकटहरु रद्द गर्न यसका यात्रुहरुलाई भनेको छ र यदि यसरी रद्द गर्दा कुनै पनि दस्तुर नलाग्ने गरी व्यवस्था मिलाइएको जानकारी पनि गराएको छ। सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ