arrow

गंगामायालाई छोरा भेटाइदिएरै मुद्दा कमजोर पार्ने प्रयास 

logo
प्रकाशित २०७५ साउन २४ बिहिबार
gangamaya-FNL.jpg

काठमाडौं। वर्षौंदेखि वीर अस्पताललाई आफ्नो घर बनाएर बस्न वाध्य गोर्खा फुजेलकी गंगामाया अधिकारीले छोराको हत्यारालाई कार्वाही गराएरै छाड्न आन्दोलन थालेको धेरै भयो । तर उनले न्याय पाउने सम्भावना कमजोर बन्दै गएको छ । 

उनले गत असार २९ गते ३६ दिन लामो आमरण अनसन सरकारको आश्वासनपछि तोडेकी थिइन् । उनले सरकारलाई माग पूरा गर्न १० दिनको अल्टिमेटम दिएकी थिइन् । सरकारले माग गर्ने छाँट ल्याएको छैन । 

सरकारी प्रतिनिधिले ‘भोलि देखिनै माग पूरा हुन सुरु गर्ने आश्वासन दिएका थिए । त्यो आश्वासन जस्तै मात्रै देखिएको छ । उनले आफ्नो जेठो छोरा नूरप्रसादलाई खोजिदिन गरेको आग्रह भने पूरा भएको छ । चार वर्षदेखि भूमिगत नूरप्रसादलाई प्रहरीले साउन २० गते ललितपुरमा फेला पारेको थियो । 

१० दिन अल्टिमेटम सकिएको पनि धेरै भइसकेको छ । गंगामाया अलमलमा छिन् । उनका कान्छा छोरा कृष्णप्रसादको २०६१ सालमा माओवादीले हत्या गरेको थियो । त्यसपछि परिवार नै विक्षिप्त बनेको छ । 

चार वर्षपछि सार्वजनिक भएपछि नुरप्रसादले वीर अस्पतालमा आमासंग रहेर सामाजिक संजालमा ‘मेरो स्वतन्त्रता र स्वाभीमानमा अंकुश लगाउने अनि मलाई बुबाको लास र आमाको मृत्युशैयामा जबर्जस्ती दलाली गर्न नत्र राम्रो हुँदैन भनेर जबर्जस्ती माओवादी सरकारले उच्च अदालत पाटनको गेटैबाट साउन २० गते समातेर राखेको छ’ भनेका थिए ।

नूरप्रसाद र गंगामायालाई अहिलेको सरकार (नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी) समर्थित मानवअधिकारकर्मीहरुले पनि मिल्नका लागि दवाव दिएको स्रोत बताउँछ । स्रोत भन्छ –‘उहाँहरुलाई एउटै मुद्दामा धेरै नअल्झेर अगाडि बढ्न दवाव आएको छ । छोरालाई भेटेपछि गंगामाया पनि अलि लचक भएको हो कि जस्तो पनि देखिएको छ ।’

कृष्णप्रसादका हत्यारालाई कार्वाही गर्न माग राख्दै आमरण अनसनमा बसेका गंगामायाका पति नन्दप्रसादको २०७१ साल असोज ६ गते आमरण अनसनकै अवस्थामा वीर अस्पतालमा मृत्यु भएको थियो । सरकारले त्यतिबेलै उनको शव शिक्षण अस्पताल महाराजगञ्जमा राखेको थियो । अहिले पनि शब त्यहीं छ भनिएको छ । नन्दप्रसादको दाहसंस्कारसमेत हुन सकेको छैन । त्यसउप्रान्त गंगामाया निरन्तर अनसनमै छिन् । त्यो पनि एक्लै । 

अधिकारकर्मीहरुको बुझाइमा गंगामायाले अब गुमाउन बाँकी छ त नूरप्रसादलाई । चार वर्षपछि नूरप्रसाद गंगामायासंग रहँदा कतै उनको मन पग्लिएर सहमतिमा आएर सबै मुद्दा फिर्ता लिन्छिन् कि भन्ने पनि चर्चा चल्न थालेको छ । 

स्रोत भन्छ –‘उहाँलाई फकाउने काम भइरहेको छ । एउटा छोरा छैन, श्रीमान छैन अब भएको छोरासंग आनन्दले बसे भएन ? भनेर प्रश्न गर्न थालिएको छ । उहाँ सहमतिमा आउन सक्ने सम्भावना पनि छ ।’

छोरालाई माओवादीले हत्या गरेको भनेर तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डा बाबुराम भट्टराईले समेत खुलेआम स्वीकारेका थिए । यसरी स्वीकार्दा समेत हत्यारालाई कार्वाही हुन सकेको छैन । केही समयअघि हत्यामा संलग्न भनिएका १३ जनामध्येका एक छविलाल पौडेलले भने सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए । 

डिल्लीबजारस्थित चारखाल कारागारमा रहेका पौडेललाई आफैले आत्मसमर्पण गर्न भनेको प्रचण्डले बताएका छन् । अहिले नेपाल कम्युनिष्ट पार्टीले नै गंगामायालाई सहमतिमा आउनका लागि दवाव दिइरहेको बुझिन्छ । १० दिनभित्र सहमति पूरा गर्छु भन्ने केपी शर्मा ओली नेतृत्वको सरकार पनि दोषी देखिएको छ । 

नूरप्रसादले दवाव आइरहेको बताउनु र गंगामाया गल्दै जानुमा पनि छिट्टै वीर अस्पताल छाड्ने संकेत मिल्न थालेको छ । लासमाथिकै राजनीति बलियो हुन थालेको आभाष समेत हुन थालेको छ । 

यसैबीच, लामो समयदेखि गंगामायाको नजिक रहेर उनको हकहितका लागि लडिरहेका मानवअधिकारकर्मी चरण प्रसाईले भने सरकारले गंगामायासंगका प्रतिवद्धता पूरा गर्न इच्छुक देखिएको बताएका छन् । 

उनले भने, ‘प्रतिवद्धता अनुसार प्रगति भइरहेको छ । हत्यारा मध्येका एक रुद्र आचार्यलाई विदेशबाट झिकाउने पहल सरकारले थालेको जानकारी दिएको छ ।’

कृष्णप्रसाद हत्यामा १३ जना संलग्न रहेको भनिएकामा छविलालमात्र जेलमा छन् । अरुको पूर्ण अवस्था सरकारले दिएको छैन । 

त्यसैगरी प्रसाईले सरकारले गंगामायालाई बस्नका लागि घरको समेत प्रवन्ध गर्न लागेको जानकारी दिए । 

त्यसो त चितवन जिल्ला अदालतमा कृष्णप्रसाद हत्याको फाइल फेरि खुलेको छ । भाइको हत्यापछि नुरप्रसाद र बाबु नन्दप्रसादले हत्यारालाई कार्वाही गर्न निवेदन दिएका थिए । अदालतले निवेदक नुरप्रसादलाई झिकाउने आदेशसमेत दिइसकेको छ । 

कस्तो छ गंगामायालाई ? 
प्रसाईका अनुसार गंगामायालाई त्यति सन्चो छैन । उनको शरीर थिलोथिलो भएको छ । ३६ दिनको आमरण अनसनपछि आइसीयुमा रहेकी उनलाई हालैमात्र क्याबिनमा सारिएको छ । 

गंगामाया लामो समयदेखि अस्पतालमै रहेर अनसन बसिरहेकाले पनि उनको शरीर थिलोथिलो भएको छ । कमजोरी बढेको छ । उनलाई निरन्तर औषधि चलाउनु पर्ने अवस्था रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ