- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पुराना घरको नक्सा पास सम्बन्धी सेवा वडा कार्यालयबाटै प्रदान गर्न थालेको छ । प्राविधिक टोली खटाएर नगरपालिकाले वडा कार्यालयमा नक्सा पास अभियान सञ्चालन गरेको हो ।
वडा नं. १४ बाट सुरु गरिएको यो अभियान सबै वडा कार्यालयमा सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । नगरबासीको सुविधाका लागि पुराना घरको नक्सा पास सम्बन्धी सेवा अभियान सञ्चालन अवधिभर वडा कार्यालयबाटैं प्रदान गरिने नगर प्रमुख बासुदेव घिमिरेले बताएका छन् ।
साविकका शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, गंगोलिया, मधवलिया र टिकुलिगढ गाविस मिलेर बनेको तिलोत्तमा नगरपालिकामा नक्सा पासको प्रक्रियामा झण्डै ५ हजार घरहरु रहेको बताइन्छ । प्रक्रियामा रहेका यिनै घरहरुको नक्सा पास सम्बन्धी कार्य वडा कार्यालयबाट हुने भएको हो । नगरपालिकाले २०७० सालभन्दा अघि बनेका घरहरुको नक्सा पासका लागि गत चैत महिनासम्म छुट सुविधा दिएको थियो ।
नगरपालिकाले सञ्चालन गरेको अभियानबाट विगतमा घर बनाए पनि नक्सा पास नगरेका वा घर बनाएर सम्पन्नताको प्रमाण पत्र नलिएका तर प्रक्रियामा रहेका नगरबासीहरु लाभान्वित हुनेछन् । नगर प्रमुख बासुदेव घिमिरेले वडा नं. १४ की कल्पनीदेवी थारु, शिवप्रसाद थारु र बेचुप्रसाद थारुलाई घर सम्पन्नताको प्रमाण पत्र दिएर सुरु गरेको यो अभियान वडा नं. १३ मा लगत्तै सञ्चालन हुनेछ ।
नगर प्रवक्ता सुरेन्द्र श्रीकाअनुसार बिहीबार र शुक्रबार बाहेक अन्य दिनमा नगरपालिकाको प्राविधिक टोलीले अभियान नसकिँदा सम्म सम्बन्धित वडामा नैं रहेर सेवा प्रवाह गर्नेछ ।
१४ नम्वर वडा अध्यक्ष सोहनप्रसाद थारुले घर नक्साको काम वडाबाट हुँदा सेवाग्राहीलाई धेरै राहत मिलेको बताए । ईञ्जिनियर मनिष खनालले यो अभियानबाट प्रक्रियामा रहेका झण्डै ८० प्रतिशत घरको नक्सा पास सम्पन्न हुने विश्वास व्यक्त गरे ।