काठमाडौं । सभामुख कृष्णबहादुर महराले सकारात्मक चिन्तनमार्फत् राजनीतिज्ञले समाजलाई सत्मार्गमा लैजानुपर्ने बताएका छन् ।शुक्रबार (आज) काठमाडौंमा आयोजित ‘नेतृत्व वर्गमा राजनीतिक सद्भावका लागि सकारात्मक चिन्तन’ विषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले सो बताएका हुन् ।
संघीय संसद तथा प्रदेश सभाका सांसदहरु तथा राजनीतिक दलका नेताहरु सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले आफूले प्राप्त गरेका सकारात्मक ज्ञानलाई जीवन व्यवहारमा लागू गर्नुपर्ने बताए ।
‘‘राजनीतिज्ञहरु जड हुनुहुँदैन, सबैखाले विचारहरुलाई ग्रहण गर्नुपर्दछ ।’ उनले भने, ‘सकारात्मक चीजलाई ग्रहण गर्दै समाजमा स्थापित गर्ने र नकारात्मक पक्षलाई हटाउने आँट गर्नुपर्दछ ।’
आफू भौतिकवादमा विश्वास गर्ने व्यक्ति भएको बताउँदै सभामुख महराले अध्यात्मिक चेतनाले पनि सकारात्मक चिन्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए ।
ईश्वरीय विश्वविद्यालयमार्फत् सकारात्मक चिन्तनपद्धतिको राम्रो विकास भइरहेको चर्चा गर्नुहुँदै सभामुख महराले राजनीतिज्ञहरुले आफूले प्राप्त गरेको ज्ञान राष्ट्र सेवामा लगाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाल, स्वास्थ्यराज्यमन्त्री डा. सुरेन्द्र यादव, ओम शान्ति रिट्रिटका निर्देशक ब्रह्माकुमारी आशा दिदीलगायतले आफ्ना कुरा राखेका थिए ।