arrow

सात बर्षीया बालिकाको बलात्कार विरुद्ध दिल्लीमा प्रदर्शन

logo
प्रकाशित २०७५ साउन २५ शुक्रबार
protest-after-rape-delhi-2.jpg

नयाँ दिल्ली। भारतको नयाँ दिल्लीमा रहेको एक सरकारी विद्यालयमा सात बर्षीया बालिकालाई बलात्कार भएको घटनाका विरुद्धमा शुक्रबार प्रदर्शन भएको छ। बालिकाका बाबुआमा सहित आफन्त र अधिकारकर्मीहरूले विद्यालय भवन अगाडी प्रदर्शन गरेको प्रहरीले जनाएको छ।

विद्यालयमा विद्युतसम्वन्धी काम गर्ने प्राविधिकले ती बालिकालाई विद्यालय भवनमै बलात्कार गरेको प्रहरी अधिकारीहरूको भनाई छ। बालिकामा रक्तश्रावको समस्या देखिएपछि बलात्कार भएको आशङ्कामा उनका बाबुआमाले बिहीबार प्रहरीमा उजुरी दिएका थिए। प्रहरीमा उजुरी परेपछि घटना सार्वजनिक भएको हो।

“पिडितको स्वास्थ्य परीक्षण गरिएको छ, परीक्षण रिपोर्टले बालिकामाथि बलात्कार भएको स्पष्ट सङ्केत देखाएको छ,” दिल्ली प्रहरीका प्रवक्ता माधुर वर्माले एएफपीसँग भने।

पिडितले किटानीसाथ दोषी देखाएपछि ३७ बर्षिय प्राविधिकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको उनले बताए। स्थानीय सञ्चार माध्यमहरूले सम्प्रेषण गरेको समाचार अनुसार ती प्राविधिकलाई एक महिना अगाडी मात्रै विद्यालयले काममा लगाएको थियो।

त्यो प्राविधिकले पानी तान्ने पम्प रहेको एकान्त कोठामा बालिकालाई तानेर लगी बलात्कार गरेको प्रारम्भिक विवरणबाट देखिएको प्रहरीको भनाई छ। बालिका विद्यालयबाट घर जान लागेका बेला ती व्यक्तिले तानेर लगेका थिए। भारतमा यौन हिंसा सम्वन्धी यस्ता घटनाका बारेमा धेरै नै कमजोर तथ्याङ्क छ। गत सन् २०१६ मा मात्रै झण्डै १९ हजार यौन हिंसासम्वन्धी घटना भएको विवरणहरू सार्वजनिक भएको छ।

अधिकारकर्मीहरूले तथ्यांकमा १९ हजार देखिएपनि त्यो भन्दा धेरै यस्ता घटनाहरू भएको दावी गरेका छन्। उनीहरूले धेरै घटनाहरू प्रहरी सम्म पुग्न नसकेकोले तथ्याङ्कमा नसमेटिएको बताएका छन्। भारतमा १२ बर्ष भन्दा कम उमेरका बालिकालाई बलात्कार गर्नेलाई मृत्यु दण्ड दिने कानूनी व्यवस्था रहेको छ। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ