arrow

कमरेड केपीको खिया लाग्दै गरेको रथ

logo
चन्द्र भण्डारी,
प्रकाशित २०७५ साउन २६ शनिबार
chandra-bhandari3.jpg

काठमाडौं। राम्रा कहानी बनाउनेहरु शासक बन्न सक्छन् भन्ने आशय दार्शनिक प्लेटोले व्यक्त गरेका छन्। नेपालका धेरै राजनीतिक पार्टीका नेताहरूले नेपालको संवृद्धी र विकास, प्रजातन्त्र, समतामूलक समाज, गणतन्त्र, साम्यवाद, राष्ट्रियता र जनताका लागि धेरै कहानीहरु सुनाए। जनताले साथ दिए सफलता हासिल गरे कथाका रचयिताहरु शासक बने। समयानुसार जुन कहानी प्रभावकारी भए पनि प्रजातन्त्र अभ्यास बन्न सकेन। समानुपातिक प्रणाली अवसर र न्याय दिन सकेन। संघियता अधिकार बन्न सकेन। गणतन्त्र राजाहरु फाल्न सकेन। साम्यवाद बिचैमा हरायो । 

हजारौं जनताको रगत बग्यो। जवानी गयो। कहानीले शासक बनायो राष्ट्र र जनताको संरक्षक बनाउन सकेन। त्यसैले पानीजहाज, रेल र ग्यासपाईपको नयाँ कहानीमा जनता महँगी, उच्च कर, पहुँच भन्दा बाहिर शिक्षा र स्वास्थ्य, परिवार छोडेर विदेसिनु पर्ने युवाको बाध्यता बनेको छ।

जुन नेतृत्व राष्ट्र र जनताप्रति समर्पित र उत्तरदायी हुन सक्दैनन् उनी शासक त बन्लान तर नेता बन्न सक्दैनन्। नेपालको लामो ईतिहासमा शाह, राणा र बहुदल प्राप्ति पछिको समयलाई तुलनात्मक रुपमा अध्ययन गर्दा शासकहरुले जे जस्तो कहानी बुने पनि आफ्नो सुख सुविधा बढाई मोज मस्ति भोग गर्नमा नै रमाएको देखियो। अपवादमा राजा महेन्द्र र विरेन्द्रले आफ्नो सुविधा बढाएको देखिएन जबकि जन प्रतिनिधिहरुमा बीपी कोईरालाले तलव २५०० बाट १५०० बनाएको पढ्न पाईन्छ। राष्ट्रको विकास, संबृद्धी र स्वाभिमानका निम्ति बीपी कसैसंग नझुकेर जेलमा बसेको गौरवपूर्ण ईतिहास पनि पढ्न पाईन्छ। उहाँकै मित्र कृष्ण प्रसाद भट्टराईले २०४६ साल पछि देशको नेतृत्व गर्दै तोकिएको समयभित्र नेपाली भूमिलाई टेकि संविधान निर्माण गरि सत्ता हस्तान्तरण गर्नुभएको थियो। गृहस्थिविहीन, गान्धीवादी भट्टराईले सत्तामा बसि राख्न चाहेको र थोरै चुकेको भए आश्रम रोज्नु पर्ने थिएन।

अहिलेको वर्तमान अवस्थामा नयाँ कहानीको आकर्षणमा केपी ओली प्रधानमन्त्री बनेका छन्। नेपालका शासकहरुको ईतिहास भोगिहरुको रुपमा पढ्न पर्छ। वर्तमानका शासकहरुको ईतिहास व्यक्तिगत सम्पन्नतामा रमाउने, गिरोहसित खेल्ने, आत्मसमर्पणवादीहरुको रुपमा पढ्नु पर्दछ। तर केपी ओली आफै भित्र धेरै चुनौतिहरु छन्। स्वयं आफैले आफैलाई समग्र राष्ट्र र जनताको नेता आफै स्विकारेका छैनन् । केपीमा मेरो देश र मेरा जनता भन्ने भावनाले पूर्णता प्राप्त गरेको छैन जसलाई उनले आफै पुष्टि गरेका छन्। मेरो राष्ट्र र मेरा जनता भन्ने भावना बोकेको प्रधानमन्त्री राष्ट्रिय ध्वजाबाहक विमानको प्रयोग नगरि नीजि कम्पनीको विमानबाट भारत र चीनको भ्रमणमा जाने थिएनन् ।

लामो त्याग र तपस्याबाट देशको नेतृत्वको अवसर पाएका केपी ओलीलाई यो पङ्क्तिकारले चोट पुर्‍याउन चाहन्न। न देश बनाउने कहानीमा अनावश्यक शंका उपशंका तर्क र कुतर्क गर्न चाहन्छ।  तथापि केपी ओली राष्ट्र हाँक्नका निम्ति चढेको रथका धेरैजसो पहियाहरु राष्ट्रद्रोही, भ्रष्ट, कुतर्कवादी, असहिष्णु, विध्वंसात्मक छन् भन्ने कुरामा चाहि सचेत गराउनै पर्छ। यस चुनौतिको सामना उनले कसरी गर्दछन यसमा उनको कहानी लेखिने कुराको अर्थ हुन्छ। यो संविधान कार्यन्वनको नया अनुभव हो। कमी कमजोरी हुन्छन् तर सत्तामा बस्नेले जातीय रुपमा गालिगलोज गर्ने, देश विखण्डनका कुरा गर्ने, पदको दुरुपयोग गर्ने, सत्ता रापको आगो ताप्ने काम गर्न अल्छी गर्ने, काम भन्दा मिटिड् बढी गर्ने, ठाउँ नहेरी आवश्यक्ता नबुझी भाषण गर्ने, कहाँ के बोल्ने लगाम नलगाउने, जनताको सिंहदरवार भन्दा विदेशिका साना दरवारमा भक्ति चढाउने, आफ्नै जनतालाई अल्पमत गराउने गरी नागरिकता बाँडेर सिंहदरवारको कुर्चीको सुरक्षा खोज्ने, अनि नागरिकतहबाट सचेत गराउँदा काँग्रेसले काम गर्न दिएन भन्न मिल्छ? सरकारको विरोध गर्ने समय त भएको छैन तथापी केपीजी चढेको रथमा खिया लाग्दैछ। तसर्थ औला प्रतिपक्षतर्फ नठड्याइ आफैतिर ठड्याउँदै देशको सम्वृद्धि र विकासका निम्ति नयाँ कहानी बुन्नु पर्दछ।

(भण्डारी नेपाली काँग्रेसका नेता हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ