arrow

सपथग्रहणमा भारतीय क्रिकेटर र आमिर खानलाई बोलाउन चाहने को हुन् इमरान खान ?

सफल क्रिकेटरको सत्तारोहण तयारी र चुनौती

logo
मोहिनी मिश्र रिसाल,
प्रकाशित २०७५ साउन २६ शनिबार
imran-khan.JPG

काठमाडौँ । पाकिस्तानलाई क्रिकेटको दुनियाँमा सफलताको शिखरमा पुर्‍याउन सफल इमरान खानले देशको कार्यकारी प्रमुखको रुपमा सपथ अगामी अगष्ट १८ लिने उनको पार्टीले शुक्रबार जानकारी दिएको छ । त्यस्तो कुनै अप्रिय घटना भएन भने यही अगष्ट १४ अगावै उनले सपथ लिने अन्तरराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको थियो ।

 प्रत्येक वर्ष अगष्ट १४ मा पाकिस्तानको स्वतन्त्रता दिवस पर्छ । सन् १९४७ को अगष्ट १४ मा पाकिस्तान भारतबाट छुट्टिएर अलग्गै राष्ट्र बनेको हो । राष्ट्रपतिले त्यस अगावै नयाँ प्रधानमन्त्रीलाई सपथ गराउने कार्यक्रम बनाएको थियो । तर गठबन्धनको लागि प्रयाप्त संख्या नपुगेपछि अगष्ट १४ अगाबै सपथग्रहण हुन नसक्ने उनको पार्टीको भनाइ छ ।

पाकिस्तानका परम्परागत राजनीतिक शक्तिका रुपमा रहेका ठूला दल यसपालि पाखा लागेका छन् र यी क्रिकेट ‘स्टार’ले जनमत बटुलेका छन् । उनलाई पाकिस्तानी जनताले स्पष्ट बहुमत नै नदिए पनि मिलीजुली सरकार निर्माणको लागि मत भने दिएका छन् । जसका कारण पाकिस्तानको अबको राजनीतिक यात्रा एउटा नयाँ तर वैकल्पिक शक्तिकारुपमा उदाएको दलले अगाडि बढाउने छ । गत महिना पाकिस्तानमा भएको आमनिर्वाचनले यो परिणाम दिइसकेको छ ।

तर पाकिस्तानको यो पछिल्लो आमनिर्वाचनको एउटा संयोग के भएको छ भने पहिलो दल बन्न सफल इमरान खानको पाकिस्तान तेहरिक इन्सान, पिटीआइले पाकिस्तानमा निवर्तमान प्रधानमन्त्री तथा मुस्लिम लिगका नेता नवाज शरिफका विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गराएको थियो । त्यसै मुद्दाबाट शरिफ जेल गएका छन् भने इमरान खानको दल सबैभन्दा ठूलो भई सत्तारोहणको तयारी गर्दैछ । त्यसैले कतिपयले यसलाई संयोगभन्दा बढी सुनियोजित भनेका छन् । यतिखेरका पाकिस्तानी सञ्चार माध्यमहरुमा व्यापक चर्चा यो पनि छ ।

खानले सपथको कार्यक्रम गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकै पथ पछ्याउँदै त्यस समारोहमा सार्क देशका सरकार प्रमुखहरुलाई पनि आमन्त्रण गर्ने योजना सार्वजनिक गरेका छन् । तर पछिल्लो कार्यक्रममा त्यो योजना भने समावेश देखिएन । तर पनि आगामी १८ अगष्टको सपथ समारोहको अयोजना गर्ने भन्ने विषयमा भने व्यापक मात्रामा तयारी भएको बुझिएको छ । तर जे जस्तो भए पनि आगामी सरकारका लागि उनको सपथ र नेतृत्व भने चर्चाकै शिखरमा रहने छ । क्रिकेटमा सफलता हासिल गरेका व्यक्तिले मुलुक हाँक्ने काममा के कस्तो सफलता प्राप्त गर्नुहुने हो भन्ने चासो सबैमा छ र त्यो हुनु स्वाभाविक पनि हो ।

चुनाव जितेमा पाकिस्तानमा व्यापक बन्दै गएको भ्रष्टाचारको अन्त्य गर्ने, आतङ्कवादको अन्त्य गर्ने र भारतसँगको सम्बन्ध विस्तार गर्ने एजेण्डा उनले चुनावी एजेण्डा बनाएका थिए । त्यसैले यी एजेण्डाको कार्यान्वयनमा उनले कसरी सफलता प्राप्त गर्नेछन् भन्ने बारेमा पाकिस्तानमा बहस र चर्चा पनि शुरु भएको छ । पाकिस्तानमा उनलाई क्रिकेटको एक कप्तान कसरी सत्ताको बागडोर सम्हाल्ने कप्तानका रुपमा काम गर्न सक्छ भनेर पनि विश्लेषण गरिएको छ । तर यी काम गर्नसक्ने गरी नै इमरानको उदय भएको चर्चा अहिले पाकिस्तानमा गरिँदैछ ।

निर्वाचनमा सबैभन्दा ठूलो दलका रुपमा इमरान खानको दल तेहरिक–ए–इन्साफ (पिटीआइ)ले ११५ स्थानमा जित हासिल गर्‍यो । पिटीआइले गत सोमबार खानलाई नै प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्‍यो । अगष्ट १८ मा उनलाई प्रधानमन्त्रीको रुपमा सपथ गराउने बताइएको छ । पार्टीले सरकार बनाउन आवश्यक १३७ सिटको लागि यहाँका साना र स्वतन्त्र दलसँग गठबन्धनको कोशिस गर्ने निर्णय पनि गरेको छ । प्रमुख तीन दलमध्ये पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टीले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थानमा जित हात पारेका छन् । कूल ३४२ स्थान रहेको पाकिस्तानी संसद्मा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन हुने गर्दछ । बाँकी सदस्य महिला र अल्पसंख्यक समुदायका लागि आरक्षित गरिएका छन् ।

इमरानको जन्म १९५२ को नोभेम्बरमा भएको थियो । पाकिस्तानी क्रिकेटरबाट सन्यास लिएपछि उनले राजनीतिक जीवन शुरु गरेका हुन्  । उनि सन् २०१३ मा नै सांसद पदमा विजय हासिल गरेका थिए । सन् १९९० दशकको मध्यबाट उनले राजनीतिक यात्रा थालेका थिए । पाकिस्तानी क्रिकेट टिममा उनले सन् १९७१ देखि १९९२ सम्म खेलेका थिए । सन् १९८२ देखि उनी १९९२ सम्म पाकिस्तानी क्रिकेट टिमको कप्तानका रुपमा काम गर्दा पनि उनि चर्चित नै व्यक्ति हो । सन् १९८७ मा उनले क्रिकेटबाट सन्यास लिएको भएता पनि १९८८ मा उनलाई पुनः क्रिकेट टिममा समावेश गर्न आग्रह गरियो । खानले ३९ वर्षको उमेरमा पाकिस्तानलाई विश्वकपमा विजयी गराए । उनले तीन हजार ८०७ रन र ३६२ विकेटको रेकर्ड पनि बनाउन सफल भए । सन् १९९६ मा खानले ‘पाकिस्तान तेहरिक¬–ए–इन्साफ (न्यायको लागि आन्दोलन) नामको राजनीतिक पार्टीको स्थापना गरी यसको अध्यक्ष बने ।

यही पार्टीको राजनीतिक यात्राले उनलाई पाकिस्तानको प्रधानमन्त्रीको पदसम्म पुर्‍यायो । आफ्नो सपथग्रहणमा छिमेक देश र अन्य देशका केही राजनीतिक नेता नभई भारतीय प्रख्यात क्रिकेटरहरु र अभिनेता आमिर खानलाई बोलाउने उनको सोँच रहेको छ, यद्यपी यो निर्णय भने भइसकेको छैन । उनले निर्वाचनमा गरेको भारतसँगको सम्बन्ध विस्तारको एजेण्डमा यो पहलले पनि केही सहयोग पुर्‍याउन सक्ने अपेक्षा भने गरिएको छ ।

पाकिस्तानको शासन सत्ताको बागडोर आफूले सम्हालेलगत्तै भिन्न किसिमबाट मुलुकलाई अघि लैजाने बाचा खानले गरेका छन्  । सरकारी निकायको क्षमता सुदृढ गर्ने तथा सम्मान र समानताका आधारमा परराष्ट्र सम्बन्ध विकास गर्ने पनि उनले बताएका छन्  । पाकिस्तानमा सत्तासिन एक पार्टीले अर्को पार्टीलाई लगाउने गरेको भ्रष्ट्राचारको आरोपजस्ता कार्यलाई निर्मुल पार्न भ्रष्ट्राचार नै नियन्त्रणको काम गर्ने उनले बताएका छन् । विपक्षीले चुनावमा धाँधली भएको आरोप लगाइरहेको अवस्थामा ७१ वर्षको इतिहास रहेको यस मुलुकलाई कसरी हाँक्छन् भन्ने विषयमा जनता उत्सुक नै भइरहेका छन् ।

वास्तविकता के हो भने पाकिस्तान पार्टीहरु भ्रष्ट्राचारको दलदलमा फसेकोले यस पटक नागरिकले नयाँ र वैकल्पिक शक्तिलाई रोजेका छन् । यस निर्वाचनले स्थापित गर्न खोजेको इमरान खानको पार्टीले यहाँका परम्परागत र पुरानो विरासत भएका अरु पार्टीलाई एक किसिमले भन्ने हो भने विस्थापित नै गरेको देखिन्छ र एक सशक्त वैकल्पिक शक्तिको नेतृत्व पनि गरेको देखिन्छ ।

पाकिस्तानी तालिबान, अल कायदा र इस्लामिक स्टेट्स आतङ्ककारी समूहले तहसनहस बनाएको देश पाकिस्तानमा इमारनको पार्टी १३७ स्थानमा जितेको भए एकलौटी निर्णयले केही गथ्र्यो होला । तर अबको गठबन्धन सरकार निर्माणमा गर्नु पर्ने र उनले चुनौतिको सामाना गर्नु पर्ने अवस्था रहेको छ । आतङ्कवादले सताएको र राजनीतिमा पनि सेनाको भित्री सहयोग चाहिने गरेको भनिएको यस देशमा खेलकूद क्षेत्रका यी सफल व्यक्तित्वले राजनीतिक सफलता पनि हासिल गर्न सकुन् भन्ने कामना गर्नेको सङ्ख्या बढी नै छ । (विभिन्न एजेन्सीको सहयोगमा)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ