२१ सय रोपनी क्षेत्रफल रहेको लक्ष्मीनारायण गुठी समुदायलाई हस्तान्तरण
सीता डोटेल,
प्रकाशित २०७५ साउन २६ शनिबार
273
Shares
पाल्पा । रेग्मी परिवारले सञ्चालन गर्दै आएको रामपुरको लक्ष्मीनारायण गुठी समुदायलाई हस्तान्तरण गरिएको छ । गुठी सञ्चालक र मोही बिच बर्षौदेखि किचलो रहेको लक्ष्मीनारायण गुठी सञ्चालन तथा व्यबस्थापन कार्य समुदायमा हस्तान्तरण भएको हो ।
२०४९ सालमा लक्ष्मीनारायण गुठी सञ्चालन संस्था जिल्ला प्रशासन कार्यालय पाल्पामा ३५ नम्बरमा दर्ता भएर सञ्चलानार्थ भएपनि १७ औं शताब्दीको अन्त्य र १८ औं शताब्दीको शुरुवातमा निर्माण भएको रामघाट मन्दिर अहिले समुदायमा हस्तान्तरण गरेको सञ्चालन समिति अध्यक्ष बुद्धिप्रकाश रेग्मीले बताए । बर्षौदेखि रेग्मी परिवारले सञ्चालन गरेको यो गुठीमा मोही र रेग्मी परिवार सञ्चालनमा किचलो रहेको थियो । राज्यले नेपालका गुठीहरुलाई व्यवस्थित गर्न फरक निति पनि ल्याएको छ ।
ऐतिहासिक बराहपुराण, गंगामहात्म्य, शिब पुराणमा उल्लेख भएको कालीगण्डकी नदी तट रामपुर ५ रामघाटमा रहेको लक्ष्मीनारायण मन्दिर तथा रामघाट गुठी समुदायलाई हस्तान्तरण कार्यक्रममा अध्यक्ष रेग्मीले हाल रहेको ७ सदस्यीय रेग्मी परिवारका समितिमा सरोकारवालाहरु ६ जना मनोनित गरेका छन् ।
यसअघि रेग्मी परिवारका सदस्य मात्र समितिमा रहने प्राबधान थियो । आगामी चैत भित्र पुनः समिति निर्वाचित गर्ने गरि हालको तदर्थ समितिमा मोहीयानी समेत गरि किर्तिनाथ श्रेष्ठ, देब बहादुर ठाडा, सिमा राना, दुर्गा प्रसाद पोखरेल वडा सदस्य बिष्णु प्रसाद बस्याल र महन्त चन्द्रकान्त पौडेललाई मनोनित गरेको अध्यक्ष रेग्मीले बताए । समितिमा अध्यक्ष बुद्धि प्रकाश रेग्मी, उपाध्यक्ष चिरिञ्जिवी रेग्मी, सचिव मिनराज रेग्मी, कोषाध्यक्ष हरिहर रेग्मी, सदस्यहरुमा गुरु प्रसाद रेग्मी, बिष्णु प्रसाद रेग्मी र क्रृषिराम रेग्मी रहेका थिए । गत जेठ २९ गते प्रशासनबाट गुठी समुदायलाई हस्तान्तरण गर्ने मान्यता पाएपछि गुठी हस्तान्तरण गरेको हो । यसैबिच आगामी चैत भित्र लक्ष्मीनारायण गुठीको नयाँ कार्यसमिति निर्वाचन सहित त्यसको पहिलो बैठकले सल्लाहाकार र मन्दिर निर्माण समिति गठन गर्न सक्ने प्राबधान छ ।
अहिले सम्म संरक्षण, जिर्णाेद्धार तथा भोगचलनमा रेग्मी परिवारले धान्दै आएकोमा गुठी सञ्चालन समितिले लक्ष्मीनारायण गुठी समुदायमा हस्तान्तरण गरि समुदायको अग्रसरतामा चलाउन ४ किसिमको सदस्यता बितरण गर्ने निर्णय गरेको छ । रामघाट धामको रुपमा बिकास गर्ने गुरुयोजनाका साथ अगाडी बढेको गुठीले मानार्थ सदस्य, संरक्षण सदस्य, कर्मठ सदस्य र साधारण सदस्य गरि सदस्यता खोल्ने निर्णय गरेको हो ।
रेग्मी परिवारका स्व. तुलसीराम रेग्मीले संरक्षण तथा सञ्चालन गछि रेग्मी परिवारले सञ्चालन गर्दै आएको यस गुठीमा रेग्मी परिवार र मोही बिच लामो समयदेखि विवाद चर्किएको थियो । मोही र अन्य व्यक्तिले रेग्मी परिवारले संरक्षण, संञ्चालन तथा भोगचलन गर्ने भएकाले वास्ता नगर्ने र मोहीयारले लामो समयदेखि मोहीले स्याहार संरक्षण गरेकोले भोगचलनमा विवाद उत्पन्न भएको थियो । चर्किएको विवाद समाधान गर्न २०६९ सालमा इलाका प्रहरी कार्यालय रामपुरमा रेग्मी परिवार, मोही, राजनितिक दल, तत्कालिन गाबिसका प्रतिनिधि बसेर राजनितिक दल र सरोकारवालाहरु समक्ष सञ्चालनका लागि गुठी हस्तान्तरण गरेका थिए । तर गुठी सञ्चालनको बिधान संशोधन भएकाले रेग्मी परिवारले संरक्षण तथा मन्दिरको बिकास निर्माण जिर्णाेद्धार गर्दै आएकोमा रामपुरको विकासको कोशेढुङ्गा भएको लक्ष्मीनारायण गुठीको समुचित विकासको लागि गुठी सामाजिकरण गरिएको रेग्मी परिवारले जनाएको छ ।
लक्ष्मी नारायण गुठी अन्तर्गत अहिले रामपुर क्षेत्रमा २१ सय रोपनी क्षेत्रफल जग्गा रहेको छ । रामघाट तथा खोप्टारको पाटी महत्वपुर्ण ऐतिहासिक, पुरात्वात्विक क्षेत्र यही गुठीमा पर्दछ । १० बर्षे गुरुयोजना सहित अघि बढेको लक्ष्मीनारायण गुठी रामघाटमा महन्त निवास, पुजारी निवास, भगवान् शिव पार्क र शौचालय निर्माण भएको छ भने अन्य थप ४ निवास बन्नेछ केही संरचना निर्माणाधिन अबस्थामा छ ।
४०-६० रोपनी क्षेत्रफलमा बन्ने त्रिदेव मन्दिर मुख्य मन्दिर हो । २ तलाको बन्ने मन्दिरको भुईतलामा ३० क्रृषिमुनिको मुत्र्ति र ५ लाख बढी सहयोग गर्नेको मुक्ति रहनेछ । माथिल्लो तलामा यस क्षेत्रले जोगाउदै आएको १० अबतार प्रख्यात भगवान् र पाण्डबका मुक्र्ति रहनेछ भने त्यसको माथि ब्रह्मा, बिष्णु महेश्वर को गजुर रहनेछ । रामघाट क्षेत्रमा जेष्ठ नागरिक सेवा केन्द्र, गौशाला, तल कार्यालय सहित माथि प्रतिक्षालय भवन रामघाट बनले बनाउनेछ ।
त्यस्तै गुरुयोजनामा विवाह मण्डप, योग गृह, सशुल्क तथा निशुल्क बृद्ध स्याहार सेवा केन्द्र, साप्ताहिक ज्ञानशरण, साप्ताहिक स्वास्थ्य शिबिर, मनोसामाजिक परामर्श कक्ष, सभाहल, भान्साघर, अतिथि गृह, नदी तटमा रहेको यस क्षेत्रमा ३ किरियाघर, शालिग्राम संग्रहालय, १०८ शिबलिङ्ग लगायतको संरचनाको विकासलाई गुरुयोजनामा समेटिएको जानकारी दिइएको छ । रामपुर ८ का कृष्ण पौडेल र गोबिन्द पौडेलले ७ गजुर सहितको बनाएको गेट निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । सदस्यता बितरण तथा सशुल्क सेवाबाट आउने रकमलाई पुजीको रुपमा विकास गर्दै मन्दिर सञ्चालन गर्ने लक्ष्य समितिको छ । बिभिन्न व्यक्ति तथा संस्थाबाट केही संरचना बन्ने र केन्द्र, प्रदेश र स्थानिय तहबाट प्राप्त रकम मन्दिर निर्माणकार्यमा लगाउने समितिका सचिव मिनराज रेग्मीले बताए ।
यसैविच गुठी समुदायलाई हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले रामपुर नगरपालिकाले यस बर्ष मन्दिर निर्माणको लागि १५ लाख बिनियोजन गरेको बताइन् । उपप्रमुख घिमिरेले समग्र रामपुर र यसको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक क्षेत्रको विकासका लागि स्थानिय, प्रदेश र संघिय सरकार मिलेर लाग्नुपर्ने बताईन् ।
मानिसलाई आध्यात्मिक बाटोमा डोर्याउदै विश्वमा चिनाउन संस्कृति बिश्वबिद्यालय स्थापना पनि यहाँ आबश्यक खड्किएको छ घिमिरेले भनिन् । सोही अबसरमा रामपुर ५ का वडाध्यक्ष हिमाल मल्लले वडाका यस्ता धरोहरको उत्थान र एक्यबद्धतामा एकजुट भएर लाग्नुको बिकल्प नभएको बताए ।
नेकपाका जिल्ला सदस्य राजु प्रसाद श्रेष्ठले रेग्मी परिवारले हुर्काछ, बढाछ, र खाछ भन्ने जुन मानसिकता थियो त्यो अब चिरिएको बताउदै रामघाट,राममन्दिर र सीताकुण्डको एकक्रित विकास हुनुपर्ने बताए । नेपाली काग्रेंसका अर्जुन प्रसाद रेग्मीले अब रामघाटको संरक्षणको सबैको साझा भएको बताए । नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा गौतम, गुठीका सदस्य बालकृष्ण रेग्मी, बासुदेव ढकाल, किर्तिनाथ श्रेष्ठले २ तिर फर्केका मोही र गुठीयार समुदायमा आएर सामुहिक रामघाट धामको विकासमा लाग्नुको दुइमत नभएको बताए ।