arrow

पत्रकार डेकेन्द्रराज थापाको माओवादीले हत्या गरेको १४ वर्ष पूरा, हत्यारा पहिचान हुँदा पनि कार्वाही भएन 

logo
प्रकाशित २०७५ साउन २७ आइतबार
dekendra_thapa.jpg

काठमाडौं । पत्रकार डेकेन्द्रराज थापाको हत्या भएको १४ वर्ष पूरा भएको छ । तत्कालीन माओवादीले थापाको हत्या गरेर सार्वजनिक गरेको दिन २०६१ साउन २७ गतेबाट अहिले १४ वर्ष पूरा भए पनि हत्यारालाई सरकारले कार्वाही गर्न सकेको छैन ।

घटनाका मुख्य हत्याराको पहिचान हुँदासमेत सरकार मुकदर्शक बनेर बसेको आरोप उनका भाइ यज्ञराज थापाले लगाएका छन् । यज्ञराजले आइतबार सामाजिक संजालमा सन्देश राख्दै ‘मुख्य हत्याराको पहिचान हुँदा पनि सरकार मुकर्दशक बन्दा पीडा उत्तिकै छ ।’ लेखेका छन् । 

द्वन्द्वकालीन समयमा ४५ दिन बन्धक बनाई माओवादी कार्यकर्ताले पत्रकार थापाको निर्मम तरिकाले हत्या गरी शव खाल्डोमा गाडेका थिए । 

दैलेख जिल्ला अदालतले हत्यारालाई कार्वाहीको लागि फैसलासमेत गरिसकेको छ । जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले हत्यामा संलग्न र हाल थुनामा रहेका तत्कालीन माओवादीका कार्यकर्ता वीरबहादुर केसीलाई एक वर्ष लक्षीराम घर्तीलाई एक वर्ष ६ महिना र निरक घर्तीलाई दुई वर्ष कैद सजायको फैसला सुनाएको थियो । 

त्यसैगरी, सर्वोच्च अदालतको आदेशपछि २०७१ साउन २१ गते साधारण तारिखमा छाडिएका हरिलाल पुन र जयबहादुर शाहीलाई जनही दुई दुई वर्ष कैद सजायको फैसला सुनाइएको थियो ।

हत्या आरोप लगाइएका फरार चारजना बमबहादुर खडका (मुक्ति), बमबहादुर खड्का (तरुण), केशव खड्का र भक्तिराम लामिछानेको मुद्दा भने सो इजलासले मुल्तबीमा राखेको थियो । 

पत्रकार डेकेन्द्रराजकी पत्नी लक्ष्मी थापाले २०६५ भदौ ६ गते जिल्ला अदालत दैलेखमा जाहेरी दर्ता गरेपछि थुनछेक आदेश अन्तर्गत २०६९ माघ १९ गते जाहेरीमा उल्लेखित नौ जनामध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरेको थियो भने चार जना त्यसबेलादेखि नै फरार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ