काठमाडौं । पुरानो चलन हो कान्छी पाथी र जेठी पाथीको । लोभीपापी व्यापारी र कारोबारीले आफ्नो फाइदाका लागि कान्छी पाथी र जेठीपाथी चलाउँथे ।
त्यो बेला आफुले अरुबाट सामान लिनु परेमा ठूलो पाथीमा लिने र अरुलाई दिनु पर्दा सानो पाथीबाट दिने चलन थियो । गाउँघरतिर अझै माना पाथी र मुरीको चलन छँदैछ । सरकारले अब चलनमा ल्याउन लागेको “केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४” अनुसार, नापतौल बढी वा घटी गर्नेलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने भएको हो ।
यो ऐनको दफा १४ मा, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ मा संशोधन गर्दै स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ को,- (१) दफा १९ पछि दफा १९ क. र १९ ख. थप गरिएको छ, जहाँ निर्धारित स्तरभन्दा घटी वा बढी हुने गरी नाप्ने, तौलने साधन बनाए, चलनमा ल्याए ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना गरिने उल्लेख छ ।