‘फुजेल प्रकरण’को सुनुवाई र ईजलाशमै भएको अनौठो घटना
यति विघ्न पूर्वाग्रही न्यायाधीश !
प्रकाशित २०७५ साउन २८ सोमबार
555
Shares
काठमाडौं । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीका हत्याबारेको मुद्दाको सुनुवाईका क्रममा अनौठो घटना घटेको छ । यहाँनेर, सम्मानित अदालतको मान मर्दन गर्न खोजिएको होईन । स्वयं न्यायमूर्तिले ईजलाशबाटै त्यस्तो निर्देशन दिँदा अदालतको मान मर्दन हुन्छ कि हुँदैन ? भन्ने प्रश्न हो । कुरा पीडितको जिज्ञासाको पनि हो । जसरी कृष्णप्रसादकी आमा गंगामायाले ‘न्यायाधीशहरु सन्त हुन्छन् । सन्तले कसैप्रति आग्रह पूर्वाग्रह राख्दैनन्, भन्ने विश्वास राख्छिन् । त्यही विश्वास न्यायको खोजीमा रहेका सबै पीडितले राख्छन् ।’
असार २४ गते कृष्णप्रसाद हत्याका मूख्य आरोपी भनिएका छविलाल पौडेल सर्वोच्चमा आत्मसमर्पण गर्न पुगे । त्यही दिन उनी पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भए । भोलिपल्ट चितवन जिल्ला अदालतले पत्रकार सम्मेलन गर्यो । पत्रकारसम्मेलनका आयोजक चितवन जिल्ला अदालत नै थियो । मुख्य न्यायाधीश कुलप्रसाद शर्माले फुजेल घटनाबारे बोले । उनले भनेका थिए, ‘साउन २० गते रहेको पेशीमा फुजेल घटनाको मुद्दा नै छिनोफानो गर्छु । पीडित पक्षले सहयोग नगरेकाले ढिलाई भएको हो ।’ यत्ति कुराले नै न्यायाधीश सन्त हुन्छन् र पूर्वाग्रह राख्दैनन् भन्ने गंगामायाको विश्वास भङ्ग भयो । उनले मुख्य न्यायाधीश शर्माको अभिव्यक्ति पूर्वाग्रही ठानिन् । र, साउन १५ गते न्याय परिषदमा उजुरी दर्ता गर्न लगाईन् । उजुरीको दर्ता नम्बर ८ हो । जुन उजुरीमा प्रतिवादी फुजेल ७ बस्ने छविलाल पौडेल समेत १३ जना भनिएको छ ।
गंगामाया वीर अस्पतालमै शय्यामै थिईन् । अहिले पनि छिन् । उनको उजुरी अधिवक्ता पुष्पराज पौडेलले दर्ता गराएका थिए । उनले उजुरीमै आचरण विपरीत छविलाल पौडेल समेतकाे प्रभावमा परी मुद्दामा कार्वाही गर्ने गरी पत्रकार सम्मेलन गरेकाले निवेदन दिन बाध्य भएको कुरा लेखेकी छन् ।
यस्तो थियो साउन २० को अनौठो घटना
पूर्वनिर्धारित पेशी अनुसार साउन २० गते ईजलाश बस्यो, मुख्य न्यायाधीश शर्माकै नेतृत्वमा । पीडितको पक्षबाट बरिष्ठ अधिवक्ता बाबुराम गिरी, ईन्द्रप्रसाद अर्याल र पुष्पराज पौडल थिए ।
विपक्षीको तर्फबाट बरिष्ठ अधिवक्ता मुक्ति प्रधान, रमण श्रेष्ठ, दिनमणि पोखरेल लगाएत थिए । सरकारी वकिल थिए, परमेश्वर पराजुली । सुरुमा सरकारी वकिलले बहस गरे । सरकारी वकिलले पत्रिकामा प्रकाशित समाचार पढेर सुनाउन खोजे । समाचार थियो, गंगा मायाले ईजलाशमै रहेका श्रीमान् शर्माविरुद्ध न्याय परिषदमा उजुरी हालेको ।
सरकारी वकिलले कुरा सुनाउन नपाउँदै न्यायाधीश शर्माले, ईजलाशलाई त्यो विषय थाहा छ, परेन भने । लगत्तै बरिष्ठ अधिवक्ता बाबुराम गिरी बोले । उनले भने ‘आफ्नो मुद्दा आफैले हेर्न नमिल्ने हो, न्यायिक आचरणमा ।’ लगत्तै न्यायाधीश शर्माले भने, ‘गंगामायाको वारिस पुष्प जी यहीँ हुनुहुन्छ ?’ अधिवक्ता पौडेले, हजुर श्रीमान्, भने । उसो भए तपाईँ त्यहाँबाट बाहिर जानुस्, न्यायाधीश शर्माले पौडेललाई बाहिर धपाए । बाबुरामको बहस सकिएपछि पौडेल भित्र आए ।
उनले मलाई किन बाहिर पठाएको भनि न्यायाधीश शर्मालाई प्रश्न गरे । प्रतिउत्तरमा शर्माले तपाईले मुद्दा हेर्न मिल्छ र ? पौडेलले भने, ‘पीडितको कानुन व्यवसायीका नाताले पहिलो कुरा त पक्षमै बहस गर्ने हो । अर्कोतिर म निवेदक होईन । पीडितको प्रतिनिधि हो । नमिल्ने के छ र, श्रीमान् ?’ म एउटा माध्यम अर्थात् कुरियर न हो ।’ पौडेलले बरु तपाईले हेर्न पाउनु हुन्न भनिदिए ।
लगत्तै विपक्षीका वकिल मुक्ति प्रधान एयरपोर्ट जान उठे । अनि न्यायाधीश शर्माले आफुमाथिको मुद्दा प्रमाणित हुनेगरी गज्जबको निर्देशन दिए । त्यो पनि सरकारी वकिललाई !
ईजलाशबाटै उनले सरकारी वकिललाई भने– 'बरिष्ठ ज्यू एयरपोर्ट जाँदै हुनुहुन्छ । उहाँलाई गाडिको व्यवस्था गरेर एरपोर्ट छोड्ने व्यवस्था गर्नुस् ।’ साधारण तया सबैले बुझ्ने कुरा, ‘सरकारी वकिल पीडित पक्षको हुन्छ, अर्थात् वादीको तर्फबाट वकालत गर्छ ।’ तर, श्रीमान्ले सरकारी वकिललाई विपक्षी वकिलको कारिन्दा बनाईदिए । त्यो पनि ईजलाशबाटै निर्देशन दिएर । ईजलाशमै बसेको बेला त्यसरी पूर्वाग्रही निर्देशन दिन मिल्छ ? के यो न्यायिक आचरणमा पर्छ ?
ईजलाश भित्रै रहेका पीडितहरु पीडितका वकिललाई बहस गर्न नदिने तर, पीडकका वकिललाई गाडीमा एयरपोर्ट छोड्ने भन्ने, त्यो पनि सरकारी वकिललाई ? यो कस्तो परम्परा हो भन्दै बाहिर निस्किए । ईजलाशमा भएको यो तीतो कुरा सार्वजनिक गरेर न्यायालयको गरिमामाथि आँच पुर्याउन खोजिएको होईन । न्यायमूर्ति स्वयंले पीडितलाई ईजलाशमै निराश पारेर घर फर्काउन मिल्छ कि मिल्दैन ? भन्ने प्रश्न हो । र, न्यायालय जनास्थाको धरोहर हो ।
न्यायपरिषदमा मुद्दा विचाराधिन
चितवन जिल्ला अदालतका मूख्य न्यायाधीश शर्माविरुद्ध परेको मुद्दा न्याय परिषदमा विचाराधिन छ । मुद्दाको सुनुवाई गर्दा निवेदन दर्ता गराउनेलाई पनि बोलाईन्छ । तर, गंगामायाको अदालत जान सक्दिनन् । वारेस बनेर गएका पौडेलले आफुलाई अहिलेसम्म बोलाईएको छैन, भनेका छन् ।