arrow

पाटनमा रातको यात्रा ब्वगीको माचो 

logo
प्रकाशित २०७५ साउन २९ मंगलबार
macho.JPG

ललितपुर । बौद्ध धर्मावलम्बीहरुले महिना दिनसम्म मनाउने गुँलापर्र्व सुरु भएसंगै ब्वगी जान थालेका छन् ।
रातमा बोधिचर्या गीत गाएर बिभिन्न बौद्ध मन्दिर एवं चैत्य पूजा गर्ने भएकाले ब्वगी भनिएको जनविश्वास छ । 
ललितपुरको पाटनमा रहेका पन्चबुद्ध, अमिताभ, नारायण महादेव लगायत बिभिन्न चैत्य तथा बौद्ध मन्दिर गरी करीब २२ सय स्थलको परिक्रमा गरिन्छ । 

यो यात्रामा सहभागि हुनेले कम्तिमा पनि १७ सय भाग सामान वा नगद बोक्नुपर्ने हुन्छ ।यात्रामा सहभागि हुनेले नगद वा, सातु, चामल, कपुर, दियो आदी सामानहरु चढाउदै जान्छन् । हरेक दिन करीब ५ सय स्थलको परिक्रमा हुने रत्नाकर महाविहारका आजु तथा न्यकु जात्रा कजि बाजाका संयोजक सिद्धिरत्न बज्राचार्यले बताए ।

हरेक वर्ष भाद्रकृष्ण द्वितियाका दिन पाटनमा हुने मतयाः पर्वको तयारी स्वरुप बाटो हेर्न जाने परम्परालाई  ब्वगी जाने परम्परा भनिन्छ । मतयाःको रुट परिक्रमा नसकुन्जेल हरेक बिहान ब्वगी जाने चलन छ । यात्रा हरेक रातको २ बजेदेखि सुरु हुन्छ । 

राति सुरु यात्रा बिहानको सूर्योदयसँगै रोकिने गर्छ । फेरी भोलीपल्ट अघिल्लो दिन विश्राम लिएको स्थानबाट परिक्रमा सुरु हुन्छ । हरेक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि मतयाःको रुटमा परम्परागत बाजागाजा सहित ब्वगी जाने गरिन्छ ।

राजा गुणकामदेवका पालादेखि मतया शुरु भएको भनिएतापनि ब्वगी जाने चलन भने सिद्धिनरसिह मल्लको पालाबाट मात्रै सुरु भएको बज्राचार्यको भनाइ छ । यो परम्परालाई पाटनका १० टोलले पालैपालो मनाउने गरेका छन । 

यसपाली गाबहाल बुबहाल टोलले  ब्वगि जाने र त्यसपछि गाइजात्राको भोलीपल्ट मतया जाने परम्परालाई निरन्तरता दिने जिम्मा लिएको छ । यात्रामा सहभागिहरुलाई जिम्मा लिने टोलका करीब ७ सयजना स्वंयसेवक सहयोगका लागि परिचालन भएका छन । 

मतया  र ब्वगी यात्राका लागि मतया केन्द्रिय कमिटीले ३ लाख र नगरपालिकाले ५ लाख दिन घोषणा गरेपनि यसपाली करिब २७ लाख लाग्ने अनुमान  गरेको सञ्चालन समिति क्षेत्र नम्बर ५ गाबहाल बुबहालका अध्यक्ष बाबुराजा बज्राचार्यले बताए । 

ललितपुर नगरपालिकाले पनि बिगतमा २ लाख मात्रै दिने गरेकोमा गएको बर्षदेखि ५ लाख दिने मेयर चिरीबाबु महर्जनले घोषणा गरिसकेका छन । अबको एक महिना गुँला सेवा अथवा गुँलाधर्म भनि चैत्यलाई पूजा गर्ने गरिन्छ । त्यसैले गुँलाधर्मलाई चैत्य सेवा भन्ने पनि चलन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ