arrow

मानव सृजित पहिरोले निम्त्याएको विनास

logo
जीवन शर्मा,
प्रकाशित २०७५ साउन २९ मंगलबार
bato-okhaldhunga.png

ओखलढुंगा ।  ओखलढुंगाको सिद्धिचरण नगरपालिका १२ का टकबहादुर खत्री २०७४ असार देखि आफ्नै घरमा राम्रोसंग निदाउन सकेनन् । रातमा निद नआउनु उनको कुनै रोग व्याथा भने होइन् । ४० बर्षका टकबहादुरले अहिलेसम्म कमाएको सबै सम्पत्ति जोडेर ५६ लाखमा तीन बर्ष अघि तीन तलाको घर बनाए। तर उनले त्यो घरको बासस्थान गत हप्ता बाट अन्तै सार्नु पर्‍यो  ।

 विगत १५ महिनादेखि सो घरमा सुत्दा उनलाइ निन्द्रा नलाग्नुको कारण बनेको थियो घरैमुनी गएको मानव सृजित पहिरो । खत्रीका सधिँयार मोहनकुमार श्रेष्ठ (हाल सिद्धिचरण नगरपालिाकका मेयर) ले २०७४ जेठमा आफ्नै जग्गामा पेट्रोल पम्प निर्माण गर्ने भन्दै डोजर लगाउन थालेपछि घरमुनिबाट पहिरो जान थाल्यो। आफैमा पानी पलाउने कमेरे बगुवा माटो  र भिरालो जमिन। त्यसमाथि डोजरले खनेपछि पहिरो नजु सामान्य भयो । उक्त पहिरो बढदै गएर टकबहादुरको घरको जगमै आइपुगेपछि उनि एक हप्ता देखि पुरानो झुपडिमा बस्न बाध्यभएका बताउछन् ।

उनि न सरकारी जागिर, न त ठूलो व्यपार व्यवसाय भएका मान्छे । सामान्य पसरवारमा हुर्केका खत्रीले कहिले भारी बोकेर, कहिले मजदुरी गरेर त कहिले सानो तीनो व्यवसाय गरेर घर बनाएको बताउछन् । ‘‘दुःखले बनाएको घर पूरा पनि भएको थिएनउनले भने, ‘कोठा भाडामा लगाएर मासिक २० हजार सम्म आम्दानी हुन थालेपछि घर व्यवहार धान्न अलि सजिलो होला भन्ने सपना थियो ।’ तर डोजर लगाएर पहिरो चलाएदेखि आनन्दले सुत्न पाएको छैन् ।’’ बर्षदको समयमा ठुलो पानी पर्दा कतिखेर घर बगाउँछ होला भन्ने चिन्ता उनका लागि ठुलो रोग भएको छ ।  

पहिरो खनेलगत्तै नगरपालिका, जिल्ला प्रशासन र प्रहरीमा निवेदन दिएपनि निवेदनका बारेमा कसैले सुनुवाइ नगरेको उनले गुनासो गरे। ‘मेरो बोलिदिने नै को छ र?’ गहभरि आँसु पार्दै उनले भने, ‘गएको हिउँदसम्म चुप लागेर बसें। अहिले आएर मेरो घरको जगमै असर परेको छ। जिन्दगीभरको कमाइले बनाएको घर अब पहिले जस्तो बलियो भएन। यसको क्षतिपूर्ति कसले तिर्छ?’ स्थानीय तहको चुनावकै मुखमा खनिएको उक्त पहिरोले पुर्याएको क्षतिको विषयमा प्रशासनमा जान खोज्दा मोहन श्रेष्ठका आफ्न्त र बजारका सबै मिलेर हामी घरको जिम्मा लिन्छौं भन्दै उजुर गर्न नदिएको टकबहादुरले गुनासो गरे ।

तत्कालिन मेयरका उमेद्वार मोहन श्रेष्ठले चुनाव जितेपनि नजितेपनि चुनाव सकीएको भोलीपल्ट देखि पहिरो रोकथाम र सडक बनाउने काम गर्ने वचन दिएपनि उनि मेयर भएको १५ महिना वित्नलाग्दा समेत कानमा तेल हालेर बसेको खत्रीको आरोप छ । यो पहिरोलाइ अहिले स्थानीयले मेयेरको पहिरो नामाकरण बाट चिन्ने र बजारका विभिन्न चोक चोकमा हुने छलफलमा ‘मेयरको पहिरो’ नामाकरण बाटै छलफल हुने गरेको पाइन्छ  ।

उक्त पहिरोले उनको घरमात्रै जोखिममा परेको छैन् सदरमुकामको रमाइलोडाँडादेखि जिल्ला समन्वय समिति हुँदै जिल्लाको पश्चिमी भूगोलजाने मूख्य सडक नै १५ महिनादेखि बन्द छ। नियमित सवारी सञ्चालन भैरहेको सडक बन्द भएपछि रामपुर, कुन्तादेखी–कोषहाट हुँदै जिल्लाको पश्चिमी भेग जानका लागि सोब्रुबाट बैकल्पीक बाटो खुलाइएको छ । दैनिक सयौ सवारीसाधनहरु सोही बैलल्पीक मार्ग प्रयोग गर्दै छन् । बजार क्षेत्रबाट जिल्लाकै एकमात्र सामुदायिक अस्पताल मिसन जाने सडक पहिरोकै कारण बेलाबेलामा अवरुद्ध हुनेगर्छ। मेयर पहिरोका कारण हजारौ यात्रुहरुले दुख पाएको यातायात व्यवसायिहरुले बताए । पहिरो बाट बगेको लेदोपानीले सडक मुनिरहेको स्थानीयगको घडेरीमा बिक्री भैरहेको जग्गाको कारोवार समेत ठप्प भएको स्थानीयहरुको गुनासो छ ।

 हिउँदभरि पहिरो रोकथामको कुनै काम हुन नसकेर वर्षा लागेपछि पहिरो रोक्नका लागि पर्खाल निर्माणको ठेक्का लागेको छ। स्वीस विकास सहयोग (एसडीसी) को सहयोगमा ६८ लाख लागतमा ठेक्का लागेको पहिरो रोकथामको काम ९० दिनमा सम्पन्न गर्ने सम्झौता सहित स्टार विल्डर्स प्रालिले काम सुरु गरेको छ। ठूलो झरी पर्‍यो भने हाल निर्माणाधीन पर्खालले समेत धान्न नसक्ने स्थानीयहरु बताउँछन् । टकबहादुरको परिवार भने घर र जग्गाको मूल्य पाए अन्यत्र घर बनाएर बस्ने सोचमा छन् । तर उनको मागबारे सम्बन्धित व्यक्ति र निकाय अझै मौन रहेको पाइएको छ ।

पहिरोको मुख्य कारक भनिएका सँधियार मोहनकुमार श्रेष्ठ (हाल सिद्धिचरण नगरपालिकाका मेयर) ले पेट्रोल पम्प निर्माणका नाममा जग्गा खन्न लगाउनुनै गलत भएको स्थानीयहरुको भनाइ छ । स्थानीय तहको चुनावका श्रेष्ठले घर क्षति भएमा सबै जिम्मा आफूले लिने आश्वासन दिएका थिए । तर अहिले सम्म जिल्ला समन्वय समितिको मुखाम पर्ने उक्त पहिरोले सडकमा पुर्याएको क्षति र नागरिकले पाएका  सास्तीका बारेमा मौन बस्नुले उनि नागरिक प्रति जिम्मेवार बन्न नसकेको स्थानीयहरु बताउछन् ।

 स्वीस विकासका तर्फबाट प्राविधिक सहयोग गरिरहेका गंगाराम कोइरालाले चाडै काम सम्पन्न गर्न सके घर जोगाउन सकिने बताए। भिरालो र कमजोर जमिन भएका पहाडी बस्तीहरूमा पूर्वाधार निर्माण गर्नुपूर्व प्राविधिक अध्ययन नगर्ने चलनले गर्दा यस्तो समस्या हुने गरेको प्राविधिकहरूको भनाइ छ। सरकारी निकायबाट ठेक्का लागिसकेका कारण क्षति हुन नदिने गरी काम भएको मेयर श्रेष्ठले बताए । त्यही घर भएर आउने सडक कालोपत्रेको ठेक्का लागिसकेकोले पर्खाल बनिसकेपछि सबै समाधान हुने उनको भनाइ छ ।

नगरपालिकाका मेयरको जग्गा खार्ने क्रममा सुरु भएको पहिरो निर्माण गर्न स्वीस सरकारले ६८ लाख सहयोग गरेको छ। मेयरले नगरपालिका बाट पनि केही रकम छुट्याउने बताएपछि उनका विपक्षि राजनीति पार्टीले त्यसको विरोध गरेको छ । व्यक्तिले भत्काएको पहिरोमा नगरपालिकाको रकम खर्चगरेर दुरुपयोग गर्न खोजेको नेपाली कांग्रेसका पूर्व सासद रामहरी खतिवडाले बताए । जिल्ला समन्वय समिति नजिकै आइपुगेको पहिरो चाडोभन्दा चाडो नियन्त्रण गरी सडक सुचारु गर्नुपर्ने विषयमा पटक पटक मेयरको ध्यानाकर्षण गराउदा उनले खासै चासो नदिएको जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठको भनाइ छ ।

अन्य राजनीतिक दलका नेताहरूले यसको विरोध गरे पनि स्वीस सरकारको सहयोग रकम व्यक्तिको जग्गामा खर्च गरिएको भन्दै नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ । पहिरोमा पर्खाल लगाउने काममा केही २–४ जना कामदार देखिएपनि यसको प्रभावकारी काम भएको देखिदैन् । पहिरोका कारण स्थानीय टकबहादुरको घर पूर्ण जोखिममा छ ।  पानीपरिरहेको हुँदा सवारीसाधन पूर्ण ठप्प हुनुकासाथै पहिरो मुनीको सडक, अस्थायी वसपार्क र जिल्ला समन्वय समिति समेत ५ वटा स्थानीयका घरहरु समेत खतरामा रहेका छन् । सडकसंगै पहिरो नजिकका बस्ती र जग्गा जमिन कुरुप बन्दै गएकोमा स्थानीयहरु चिन्तीत भएको बताउछन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ