काठमाडौं । चीन पठाउने तयारी गरिएकोे ‘सोल्टी’ र ‘मितिनी’को जोडीलाई काठमाडौं ल्याईएको छ । चीनलाई उपहार स्वरुप दिन लागेको दोस्रो जोडी गैँडामध्ये ‘सोल्टी’ र ‘मितिनी’ लाई एस्कर्टिङ सहित काठमाडौं ल्याइएको हो ।
एकदेखि डेढ वर्ष उमेरको भालेको नाम सोल्टी र डेढदेखि दुई वर्षको पोथी मितिनीलाई मंगलबार राती काठमाडौं ल्याइको हो ।
एस्कर्टिङ टोली सहित दुई वटा छुट्टा–छुट्टै ट्रकमा राखेर ‘सोल्टी’ र ‘मितिनी’को जोडीलाई काठमाडौं ल्याईएको चितवन राष्ट्रिय निकुञ्ज प्रमुख संरक्षण अधिकृत बेद प्रसाद ढकालले बताउनु भएको छ ।
चितवनबाट काठमाडौ आएको टोलीमा भेटरीनरी चिकित्सक, खोरका मिस्त्री, सामान बोक्ने प्राबिधिक सहित २५ जना छन् । दुबै गैंडालाई सातडोबाटो स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको मुख्य कार्यालयमा राखिएकोछ ।
‘सोल्टी’ र ‘मितिनी’लाई ३१ गते विहिबार चीनको टोलीलाई हस्तान्तरण गरिनेछ । आउने मंगलबार बेलुका ७ बजे विशेष कार्गो विमानबाट सोल्टी र मितिनी चीन जाने छन् ।
चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप यो जोडी गैडा पठाउन लागिएको हो । यसअघि असार २८ गते एक जोडी गैँडा चीन पठाई सकिएको छ । ‘रुपसी’ र ‘भद्र’ नामका गैडालाई चीनको ग्वान्जाओस्थित पान्यु जिल्लामा रहेको चिमेलोङ सफारी पार्कमा राखिएको छ ।