भारतको स्वतन्त्रता दिवसको उपलक्ष्यमा पाल्पामा अन्तरक्रिया
प्रकाशित २०७५ साउन ३१ बिहिबार
325
Shares
पाल्पा । नेपाल–भारत मैत्री संघ पाल्पाको आयोजनामा भारतको ७२ औं स्वतन्त्रता दिवसको अबसरमा बुधबार पाल्पाको रामपुरमा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । २०५२ सालमा जिल्लामा स्थापना भएको मैत्री संघले नेपाल र भारतको बिभिन्न दिवस तथा बुद्ध जयन्ती लगायतका पर्वमा रचनात्मक तथा मैत्रीभावपुर्ण कार्यक्रम गर्दै आएको छ ।
अन्तरक्रियामा बोल्दै प्रमुख अतिथि रामपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष क्याप्टेन हिमाल मल्लले नेपाल र भारतको सम्बन्ध सदियौदेखि रहेको बताए ।
विभिन्न कारण हामी अझै पनि भारतको सहयोगबाटै अगाडि बढेका छौ मल्लले भने–दैनिक सरसामानदेखि रोजगार र शिक्षामा पनि भारत हाम्रो नजिकको गन्तव्य हो ।
भारतीय सेनाको जागिरबाट सवानिबृत समेत रहेका मल्लले भारतीय सेनामा रहेका बेला आफुले देशबीच सम्बन्ध नजिकबाट बुझेको बताए ।
कार्यक्रममा नेपाल–भारत मैत्री संघका जिल्ला सल्लाहकार देवराज ढकाल, रामपुर दोस्रो सानाशहरी खानेपानी संस्थाका अध्यक्ष कमलराज भट्टराई, कृषि विकास शाखाका प्रमुख रामहरि पाण्डे, संस्थाका आजिवन सदस्य थर्कबहादुर राना, रामतुल्सी माबिकी बिद्यार्थी सुरक्षा रायमाझीले नेपाल–भारत सम्बन्ध र भारतबाट नेपालले लिन सक्ने फाइदाका बिषयमा चर्चा गरेका थिए ।
मैत्री संघका जिल्ला सदस्य कौशल न्यौपानेले पाल्पा जिल्लामा नेपाल–भारत मैत्री संघको समन्वयमा क्याम्पस भवन, बिद्यालयलाई स्कुल बस सञ्चालन भएको र बिभिन्न बिद्यालयमा पुस्तक सहयोग गरेको तथा बिद्यार्थीलाई छात्रबृद्धि प्रदानगर्न समन्वयात्मक भुमिका खेलेको बताउँदै जिल्लामा भारतीय सहयोगबाट विकास निर्माण सेवा र सचेतनाकाउल्लेख्य काम गरेको प्रतिवेदन गरेका थिए ।
नेपाल भारत मैत्री संघ जिल्ला शाखाका पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षता, आजिवन सदस्य बिनोद श्रेष्ठको स्वागत, आजिवन सदस्य बिन्दु श्रेष्ठको धन्यवाद मन्तव्य तथा जिल्ला समिति सदस्य सीता डोटेलको सञ्चालनमा कार्यक्रम चलेको थियो ।