काठमाडौं । साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व बिहिबार घरका मूलढोकामा नागको चित्र टाँसी पूजार्चना गरेर मनाइँदैछ । यस दिन घरका ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांग निर्णायक समितिले बताएको छ ।
बराहपुराणमा उल्लेख भएअनुसार यसै तिथिमा ब्रह्माको नागराजसँग संवाद भएकाले यस दिन नागपूजाका लागि प्रसिद्ध भएको मानिन्छ । अनन्त वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागको नागपञ्चमीका दिन पूजा गरी दुबो, गाईको दूध, अक्षता चढाइन्छ ।
यो विधिले घरमा पुजा गरेमा अगस्त्य, पुलस्त्य, वैशम्पायन, सुमन्तु र जैमिनी ऋषिले अग्निभय र विषयुक्त जीवको भयबाट बचाउने चतुर्वग चिन्तामणिमा उल्लेख गरिएको छ ।
नागपञ्चमीका दिन बिहान सबेरै पुरोहितद्वारा नागको पूजा गरेर घरको मूलद्वारमा नागको चित्र टाँसी घरधनीले पनि नागपूजा गर्ने शास्त्रीय परम्परा छ ।
नागपञ्चमीका दिन व्रतालुले पाँचवटा टाउका भएको वा अष्टकुली नागको आकृति बनाई घरको ढोकामा गाईको गोबरले टाँस्ने चलन छ। गोबरको अभावमा गमको प्रयोग पनि गर्न सकिन्छ। त्यसपछि नागदेवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लडडु अर्पण गरी पूजा पाठ गरिन्छ ।
यस दिन कुलनागका थानमा पनि विशेष रूपमा पूजा गरी खीर, रोटीलगायत प्रसाद चढाइन्छ । नागपञ्चमीका दिन पशुपतिको वासुकी मन्दिर, धापाखेलस्थित नागदह, नक्सालस्थित नागपोखरी, कर्कोटकको बासस्थान रहेको मानिने टौदहलगायत स्थानमा मेला लाग्छ ।
के नगर्ने ?
खेत बारी खन्ने काम नगर्ने, रुख नकात्ने ,पानी धमिलो पार्न नहुने यो दिनमा संभोग गर्न हुदैन यदी भएमा जन्मने बच्चा राम्रो हुदैन । आजको दिनदेखि वर्षायाम समाप्त भई हिउँद सुरू भएको पनि मान्ने गरिन्छ। ज्योतिषशास्त्र(अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन। भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने संभावना भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ मानिदैंन ।
मुख्य द्वारमा नाग देवताको आकृतिको पूजा किन गरिन्छ ?
नाग पञ्चमीमा नागको चित्र बनाई पूजा गरेर घरमा टाँस्नाले सर्प भय हुदैन भन्ने हिन्दू शास्त्रको मान्यता छ। नागपञ्चमी सर्पको पूजा गर्ने दिन हो। नागपञ्चमी श्रावण महिनामा शुक्ल पक्षको पञ्चमीका दिन मनाइन्छ। यो श्रद्धा र विश्वासको पर्व हो। नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ। नेपालको सुदूर तथा मध्य पश्चिममा नाग पञ्चमीका दिन कागजमा नाग, बिछ्छी जस्ता बिषालु जिव जनावरहरूका चित्र बनाएर पूजा गरी घरको दैलोमा टाँस्ने चलन छ। यसका साथै नाग पञ्चमी र श्रीपञ्चमीका दिनमा हलसारो गर्न दिन जुराउनु पर्दैन भन्ने धार्मीक मान्यता रहेकाले हलसारो (पहिलो पटक हलो जोताई) गरेर हिउँदे खेतीको तयारी थाल्ने चलन पनि रहेको छ भने बडिमालिका लगायत विभिन्न ठाउँमा छरिएर रहेका मालिका मन्दिरमा पूजा गर्न जाने श्रद्धालुहरूले व्रत गर्ने, भूमी सयन गर्ने र ब्रह्मचार्य धारण गर्ने चलन छ ।
नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरहरूमा नाग पञ्चमी मेला लाग्दछ । उपत्यकाको पानी बाहिर पठाउँदा यहाँ बसोबास गर्दे आएका कर्कोटक नागलाई तौदह र शेष नागलाई नागदह र अन्य दहहरुमा गई सबै नागहरुलाई बासस्थान तय गरी दिएको भन्ने मान्यता छ । भगवान शिवको घांटिमा नागले बेरेको छ भने कुमारी, भैरव र अजिमाहरुको गहना पनि नाग नै हो ।
विष्णु भगवानको शैया नाग हो र अन्य धेरै देवताहरुको पटुका पनि नाग नै हो । बुद्ध भगवान, कृष्णभगवान, गुहेश्वरी आदि धेरै भगवानहरुलाई एक टाउको देखि लिएर धेरु टाउको भएका नागहरुले ओढाएको पाइन्छ । त्यसैले नागले वास गरेको ठाउँमा लक्ष्मीले बास गर्छिन् शान्ति भई वास फलिफाप हुन्छ भन्ने विश्वास छ । त्यसकारण घरको जग हाल्दा नाग पुजा गर्ने, घरमा नागको लागि अलग्ग स्थान छोडिराख्ने चलन छ ।
नाग पञ्चमीमा व्रतको विधि
नाग पञ्चमीमा नाग देवताका निमित्त व्रत लिने गरिन्छ । यस व्रतमा पूरै दिन व्रत बसेर सूर्यास्त भएपछि नाग देवताको पूजाका लागि खीर प्रसाद पकाई, त्यसलाई सर्व प्रथम नाग देवताको मूर्ति अथवा शिव मन्दिरमा अर्पण गरी प्रसादका रूपमा वितरण गर्ने र आफू स्वयंले समेत ग्रहण गर्नु पर्दछ ।
के नाग पूजा गर्नाले सर्प भय हुदैन त ?
हुनत सबै चाड पर्वहरू मनाउनुको पछाडी कुनै न कुनै रहस्य लुकेको हुन्छ। यस्तै हिन्दूहरूले प्रत्येक वर्ष श्रावण शुक्ल पक्षको पञ्चमी तिथीमा मनाउने नाग पञ्चमीको महत्व पनि त्यतिकै देखिन्छ। यो पर्व बर्षायाममा पर्ने भएकाले सर्प बिछ्छी आदी बिषालु जनावरहरूको प्रकोप हुने भएकाले यो बेला सर्पको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर हँुदैन भन्ने मान्यता छ ।
नयाँ घर बनाउनेले जान्नै पर्ने
नयाँ घर बनाउँदा घरको जग खन्ने बेलामा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रिय विधान छ । नागको शिरमा खन्दा आफुलाई पीडा, पछाडी खन्दा छोरा र पत्नीलाई दुःख, जाँघमा खने अनावश्यक व्यय हुने, पेटमा खने सर्वत्र सफलता पाइने विश्वास गरिन्छ । जग खन्दा भाद्र, आश्विन र कार्तिकमा पूर्व, मंसिर, पुष र माघमा दक्षिण, फागुन, चैत्र र बैशाखमा पश्चिम तथा जेठ, असार र श्रावणमा उत्तरमा नागको शिर हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।