प्रधानमन्त्री ओलीद्वारा बाजपेयीको निधनमा समवेदना [पत्रसहित]
प्रकाशित २०७५ भदौ १ शुक्रबार
252
Shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गरेका छन्। नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयी निष्ठावान, दूरदृष्टियुक्त र देशप्रति समर्पित राजनेता थिए भनिएको छ।
सन्देशमा प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयीले भारतका जनताको निःस्वार्थ भावले गरेको उदाहरणीय सेवा र दूरदर्शिताको सधै स्मरण भइरहने उल्लेख गरे। पूर्व प्रधानमन्त्री बाजपेयीको निधनले भारत र विश्वले नै एक उच्च राजनीतिक व्यक्तित्वलाई गुमाएको उल्लेख गर्दै प्रधानमन्त्रीले शोक सन्देशमा उनी नेपालको शुभचिन्तक र वास्तविक मित्र थियो भनेका छन्।
प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्धलाई सुदृढ तुल्याउन स्वर्गीय बाजपेयीले गरेको योगदानको स्मरण पनि गरे। स्वर्गीय बाजपेयीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकाकूल परिवारजनमा सहनुभूति एवं समवेदना प्रकट गरेका छन्।
असिम शोकको यो घडीमा भारत सरकार र त्यहाँका जनताका साथमा नेपाल सरकार रहेको प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीलाई पठाएको सन्देशमा उल्लेख गरेका थिए। रासस