arrow

प्रचण्ड उवाच – ‘सहिदले बगाएको रगत र बलिदानीबाट नै देशमा कम्युनिष्ट बहुमतको सरकार’

logo
प्रकाशित २०७५ भदौ १ शुक्रबार
prachanda10.jpg

रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदले बगाएको रगत र बलिदानीबाट नै देशमा कम्युनिष्टको बहुमतको सरकार बनाउन सफल भएको बताएका छन् । 

१५ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा सहिद परिवार सम्मान कार्यक्रमलाई रामेछापको दोरम्बामा संवोधान गर्दै उनले यस्तो बताएका हुन् । 

अध्यक्षले दोरम्बा हत्याकाण्डपछि राजतन्त्र फाल्ने र देशमा गणतन्त्र ल्याउन सफल भएको बताए । सहिदहरुको रगतले नै अहिले देशमा संघीय गणतन्त्र र हुँदै पार्टी एकीकरणमा रुपान्तरण भएको भन्दै सहिद परिवारका सदस्यलाई मन दह्रो पार्न समेत अनुरोध गरे । 

विश्व चर्चित रामेछाप जिल्लाको दोरम्बा हत्याकाण्ड तत्कालीन शाही सेना र सरकारको निर्णयमा नभई दरबारको ठाडो निर्देशनमा भएको उनको भनाई थियो । १५ वर्षअघि (२०६० साल साउन ३२ गते) आफ्नो पार्टीको २१ जना नेता कार्यकर्ताको हत्या भएको दोरम्बा हत्याकाण्डलाई आफ्नो पार्टीले विशेष रुपमा हेरेको अध्यक्ष प्रचण्डले बताए ।

तत्कालीन सरकार र नेकपा माओवादीबीच दाङको हापुरेमा दोश्रो शान्ति वार्ता चलिरहेको बेलामा राजनीतिक वार्तालाई बिथोली मान्छे मारेर परिवर्तनलाई रोक्ने सुनियोजित योजनामा दरबारले दोरम्बा हत्याकाण्डको मञ्चन गरेको अध्यक्ष प्रचण्डको भनाई छ ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा माओवादी जनसरकार प्रमुख बाबुराम लामासहित २१ जनालाई सेनाले हत्या गरेको थियो । सो घटनापछि माओवादीले सरकारसँगको वार्ता भंग गरेको थियो ।

दोरम्बामा आफ्ना कार्यकर्ताहरुको निर्ममतापूर्वक हत्या भएको सम्झँदै पार्टी अध्यक्ष प्रचण्डले दोरम्बालाई युद्ध पर्यटकीय स्थल बनाउने घोषणा पनि गरेका छन् । 

काभ्रे, रामेछापको बेथानको पानीघाट हुँदै दोरम्वा र दोलखाको शैलुङ्ग क्षेत्रसम्म तीन जिल्लालाई समेटेर युद्ध पर्यटकीय मार्ग बनाएर जनताको जीवनस्तर उकास्नको लागि तत्कालै आवश्यक वजेटको व्यवस्थापन गर्ने पनि अध्यक्ष प्रचण्डले बताए ।

साथै अध्यक्ष प्रचण्डले सहिद परिवारका बालबच्चा र युद्धमा मारिएका दुवै पक्षको शिक्षा, दीक्षा र ब्यवस्थापनको जिम्मा पनि कम्युनिष्ट सरकारले नै लिने बताए ।

निर्वाचनको क्रममा जनताको घरदैलोमा मत माग्न जाँदा पार्टीले भने अनुसारको विकास निमार्णमा ढिलाई भएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री केपी ओली र आपूmबीच केही दिनदेखि घनिभूत छलफल भइरहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

जनताले केही राहत पाउने गरी सरकारले छिट्टै नयाँ कार्यक्रम ल्याउने पनि उनले बताए । दोरम्बा हत्या काण्डमा तत्कालीन शाही नेपाली सेना दोषी भएको भन्दै अन्तराष्ट्रिय मानव अधिकार संस्था एमनेष्टी इन्टरनेसनलले पीडितलाई न्याय र पीडकलाई कार्बाही गर्न सरकारलाई सिफारिस समेत गरेको थियो । (सीएमप्रचण्डबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ