arrow

सरकारकै कारण संघीयता धरापमा पर्दैछ : डा.महत

logo
प्रकाशित २०७५ भदौ १ शुक्रबार
prakash-sharan-mahat.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले वर्तमान सरकारकै कारण संघीयता धरापमा पर्ने खतरा बढेको धारणा राखेका छन् । उनले भने– अहिलेको सरकारका अलोकप्रिय र जनविरोधी काम र निर्णयहरुका कारण ठूलो संघषबाट प्राप्त भएको संघीय शासन व्यवस्थाप्रति दिनप्रतिदिन जनताको वितृष्णा बढ्दै गएको छ ।

पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै डा.महतले भने– सरकारले वैज्ञानिक कारण बिना तथा हचुवाका भरमा यसरी करहरु लगाइरहेको छकि यसले जनतामा व्यवस्थाप्रति नै ठूलो निराशा र त्रास उब्जाएको छ, यसरी जनतामा त्रास छाउने र जनताको विश्वास नै नरहने हो भने कुनैपनि व्यवस्था दिगो बन्न सक्दैन ।

दुई तिहाई बहुमतको र स्थायित्वसहितको भनिएको वर्तमान सरकार बनेपछि जनतामा झन ठूलो निराशा छाएको र मुलुकमा राजनीतिक तरलता बढेर अब के होला भोलि के होला भन्नेजस्तो अवस्थाको सिर्जना भएको उनले बताए । सरकारले यस्तो अवस्थाको सम्बोधनका लागि तत्कालै सच्चिन जरुरी भएको उनको तर्क थियो ।
 
उनले भने– सरकार तत्कालै सच्चिएन र जनतामा भरोसा भर्न सकेन भने नेपाली जनताले यो सरकारको विकल्प त खोज्ने नै छन्, त्यतिबेला संघीय शासन व्यवस्थाकै विकल्पमा जनता उभिए भने त्यो खतरापूर्ण अवस्थाको जिम्मेवारी पनि अहिले सरकारमा रहेको कम्युनिष्ट पार्टीले नै लिनुपर्छ ।

जनतालाई काम गरेर व्यवसाय बढाउने अथवा फस्टाउने अवसर सिर्जना गरिदिए देशमा आर्थिक क्रियाकलापहरुमा बृद्धि हुने र यसबाट स्वतहः करमा बृद्धि हुनजाने सजिलो र व्यवहारिक बाटो छँदाछँदै सरकारले उल्टै जनताले बेच्ने एउटा कुखुरो, भैँसी र माछामा कर लिने नीति बनाएर गरिब जनतामा त्रास मात्र सिर्जना गरेको उनले बताए ।

सहमहामन्त्री डा.महतले नेपाली कांग्रेसको नेतृत्व रहेका स्थानीय निकायहरुलाई यस्तो अनावश्यक र गरिब नेपालीलाई भारपार्ने खालको कर नलिन पार्टीले निर्देशन दिने पनि बताए ।

उनले कांग्रेसको अहिलेको विरोध भनेको सरकारलाई सच्चिन दिएको चेतावानी हो भन्दै सरकारका यस्तै क्रियाकलापहरुका विरुद्ध कांग्रेसले खबरदारी गरिरहेको बताए ।
 
यदि सरकार सच्चिएर आएन र अहिलेकै अधिनायकवादी क्रियाकलापहरु जारी राख्ने, स्वतन्त्र प्रेसलाई पनि आफ्नो नियन्त्रणमा राख्ने दुष्प्रयास गर्ने, न्यायालयमा झन्बढी हस्तक्षेप बढाउनेजस्ता कामलाई निरन्तरता दिने हो भने कांग्रेसले सरकारका विरुद्धमा कडा आन्दोलन शुरु गर्न बाध्य हुने चेतावनी पनि उनले दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ