काठमाडौं। नेपाल–चीनमैत्रीको प्रतीकका रुपमा नेपालले चीन सरकारलाई उपहारस्वरुप प्रदान गरेका ‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैंडाका एक जोडी आज कार्गाे विमानबाट चीन पठाएको छ।
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यहाँस्थित चिनियाँ दूतावासका इकोनोमिक एण्ड कमर्सिल कन्सुलर झ्याङ फ्यानमार्फत चीन सरकारलाई उक्त गैँडाको जोडी हस्तान्तरण गरे।
मन्त्री बस्नेतले उहाँलाई गैँडासँगै गैँडाको उत्पत्ति, स्वास्थ्य, पशु क्वारेन्टाइन र साइटिससम्बन्धी चार प्रमाणपत्रसमेत हस्तान्तरण गरेका थिए। यो जोडी गैँडालाई चीनको साङ्घाइ वाइल्ड एनिमल पार्कमा राखिनेछ।
गैँडा हस्तान्तरणपछि विमानस्थलमा रासससँग कुरा गर्दै मन्त्री बस्नेतले यस कार्यले दुई मुलुकबीचको मित्रता थप प्रगाढ हुने विश्वास व्यक्त गरे। साथै नेपालमा एक सिङ्गे गैँडा पाइन्छ भन्नेबारेमा मुलुकको पहिचान विश्वमा प्रख्यात हुने र नेपालको पर्यटन व्यवसायमा समेत प्रवद्र्धन हुने उनको भनाइ थियो।
चीनको युनी–टप एयरलाइन्सको कार्गो विमानबाट आज साँझ लगिएका गैँडा पाँच घण्टा ४५ मिनेटको उडानपछि साङ्घाइ पुग्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिए। उक्त जोडी गैँडा चितवन राष्ट्रिय निकुञ्जबाट गत साउन २९ गते काठमाडौं ल्याइएको महानिर्देशक खड्काले बताए।
गैँडासँगै रेखदेखका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा अमिर षडौला, चितवन निकुञ्जका भेटेरिनरी प्राविधिक पुरुषोत्तम पाण्डे तथा कोषका अन्य तीन जना वन्यजन्तु प्राविधिक बिहीबार नै चीन गएका छन्।
दुई जोडी गैँडा उपहारस्वरुप चीन सरकारलाई दिने नेपाल सरकारको निर्णयअनुसार पहिलो जोडी गैँडा ‘भद्र’ र ‘रुपसी’लाई गत असार २८ गते चीन पठाइसकिएको छ।
यसअघि पठाइएका गैँडा गोञ्जाउ चिमेलङ सफारी पार्कमा राखिएको छ। सरकारले यसअघि विभिन्न १० मुलुकलाई २६ एकसिङ्गे गैँडा उपहार दिइसकेको छ।