arrow

मानबहादुरको घरमा पहिरो खस्यो: न साथ रह्यो, न त बास

logo
प्रकाशित २०७५ भदौ २ शनिबार
baglung_district.png

बागलुङ। अघिल्लो दिन गोठमा खर्च छाडेर घर फर्केकी श्रीमतीसँगको त्यो भेट नै मानबहादुर शाहीको जीवनमा अन्तिम बन्यो। बुधबार बिहान खसेको पहिरोले घर मात्र लगेन शाहीकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली पनि संगै पुरिए। निसीखोला गाउँपालिका–३ घुमाउनेका ६५ वर्षीय शाहीको खुशी पहिरोले लुटेपछि अहिले उनको न साथ रह्यो, नत बास नै।

शाही साताअघि मात्र गाईवस्तुसहित घरमाथिको गोठ गएका थिए। घरमा श्रीमती, बुहारी र तीन वर्षीय नाति विनोद शाही थिए। भाग्यले विनोद भने बाँच्न सफल भएका छन्। गोठबाट घर फर्कंदा न घर छ, न आफूलाई जीवनभर साथ दिने श्रीमती नै। श्रीमती र बुहारीको वियोगले छट्पटाइरहका शाहीका आँखा अझै ओभाएका छैनन्। घर, भएको जायजेथा र अन्नपातसमेत पहिरोमा परेपछि शाहीको उठिबास भएको छ। माइलो भाइ खड्कबहादुरको घरमा मृतकका काजकिरीया भइरहेको छ।


“गोठमा रहनुभएका श्रीमानलाई खर्च छोडी आलु ल्याएर मङ्गलबार घर फर्कनुभएको थियो,” धनकुमारीलाई सम्झदैँ छिमेकी जुनविक्रम शाहीले भने, “बुधबार बिहानै दुःखद् घटना भयो।” अवोध नाति लिएर भाइको घरमा बसेका शाहीको पुर्नबासको लागि तयारी भइरहेको वडाध्यक्ष समेत रहेका उनले बताए।

“श्रमदान जुटाएर घर बनाइदिने योजना छ,” उनले भने, “जस्ता, फलाम र अन्य निर्माण सामग्रीको खाँचो छ।’ अस्थायी प्रकृतिको भए पनि घर बनाएर शाहीको परिवारलाई पुनःस्थापित गर्ने सोच स्थानीयवासीको छ। जिल्ला विपद् व्यवस्थान समिति र गाउँपालिकाले राहत रकम प्रदान गरेका छन्।

प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल नेतृत्वको टोलीले घटनास्थलमै पुगी राहत रकम दुई लाख २० हजार र गाउँपालिकाले ७५ हजार उपलब्ध गराएको छ। थप राहत जुटाउन पहल गरिने गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए।

“शाही परिवारमा परेको दुःख, पीडामा गाउँपालिका साथमा छ’’ उनले भने, “तत्कालीन राहत उपलब्ध भएको छ, दिर्घकालीन व्यवस्थापनमा पनि सघाउँछौं।’’ वडा कार्यालय र गाउँपालिकाकाले विपद्मा परेका परिवारलाई सहयोग गर्न सबै पक्षसँग अनुरोध गरेका छन्। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ