arrow

केरला बाढी : मृत्यु हुनेको सङ्ख्या ३ सय ५७ पुग्यो

logo
प्रकाशित २०७५ भदौ ३ आइतबार
kerala-flood-2018.jpg

थिस्सुर, भारत। दक्षिण पश्चिम भारतमा विगत केही दिनदेखि निरन्तर परेको बर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३ सय ५७ पुगेको छ। पछिल्लो २४ घण्टामा ३३ जनाको मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको अधिकारीहरूले बताएका छन्। बाढीका कारण हजारौँ नागरिक विस्थापित बनेका छन्। बाढी तथा पहिरोमा परी वेपत्ता बनेका नागरिकको खोजीका लागि सेना, प्रहरीसहितका उद्धारकर्मीहरू निरन्तर लागेका बताइएको छ।

केरलाका सम्पूर्ण ग्रामिण इलाकामा सय बर्ष यताकै सबैभन्दा ठूलो विपद् आएको छ। अझै पनि धेरै इलाका पूर्णतया डुबानमा रहेकाले मृतक सङ्ख्यामा थप वृद्धि हुने देखिएको उद्धारमा सम्लग्न अधिकारीले जनाएका छन्।

अधिकारीहरूका अनुसार सरकारले पहिलो प्राथमिकतामा बाढीका परी सङ्कटमा रहेका वस्तीहरूलाई राखेकाले बाढीका कारण भएका क्षतिहरूको विस्तृत विवरण आउन नसकेको बताएका छन्।

केरलाका शहरी तथा ग्रामिण इलाकामा रहेका वस्तीहरूमा अझैपनि बाढी तथा डुबानको त्रास कायमै रहेको छ। मौसमसम्वन्धी पूर्वानुमान गर्ने भारतीय संघसंस्थाहरूले अझै आगामी दिनमा पनि बर्षा हुने र डुबानको समस्या थप विकराल बन्नसक्ने चेतावनी दिएका छन्।

बाढी प्रभावित क्षेत्रका भारतीय एक युवक इन्द्रजीत कुमारले भने, गत हप्ता परेको बर्षासँगै आएको बाढीका कारण डुवानको समस्या आएको र विद्युत, खाद्यान्न, वास तथा खानेपानी विना विताएका दिन रात सम्झँदा अझैपनि होस उडेको छ।

वरिपरी पानीले घेरिएको अवस्थामा खानेपानीको अभावमा तड्पिनुको पीडा सपनाजस्तो लागिरहेको छ, उनले भने। मे महिनामा मनसुन शुरु भएपछि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ३ सय ५७ पुगेको एक स्थानीय अधिकारीले पुष्टी गरे। उनका अनुसार गत २४ घण्टामा ३३ जनाको मृत शरीरलाई डुबान क्षेत्रबाट निकालिएको छ।

थिस्रुरमा डुबानका कारण घरबाहिर निस्कन नसकेका व्यक्तिहरूको प्राय मृत अवस्थामा उद्धार गरिएको छ, उनले बताए। केरलाका कतिपय समथल क्षेत्रमा पानी १० देखि १५ फिटको उचाइसम्म पुगेको माला गाउमा उद्धार गरिरहेका असरफ अलि के एमले बताए। एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ