arrow

राष्ट्रपतिसँग सातै प्रदेशका सभामुख र उपसभामुखले किन पोखे पीडा ?

logo
प्रकाशित २०७५ भदौ ४ सोमबार
rastrapati.jpg

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग सङ्घीय संसद् तथा सातै प्रदेशका सभामुख र उपसभामुखले प्रदेश सञ्चालनका लागि कर्मचारीको दरबन्दी निकै कम भएको गुनासो राखेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त भेटमा उनिहरुले कर्मचारीको पटक पटक हुने सरुवाले कामलाई सुव्यवस्थित गर्न कठिनाइ भएको तथा पुराना भौतिक संरचनामा कार्यालय सञ्चालन हुँदा भएको असुविधाबारे जानकारी दिए ।


जनप्रतिनिधिको मर्यादाक्रम, भौतिक संरचना र कर्मचारीको अभावबारे पनि उनिहरुले गुनासो गरेका थिए । स्थानीय तहका जनप्रतिनिधिको मर्यादाक्रमको विषय पनि टड्कारो रुपमा उठेकाले नयाँ परिवेशअनुसार मिलाउनुपर्ने आवश्यकताबारे जानकारी गराइएको प्रदेश नं ७ का सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

नयाँ जनप्रतिनिधि र नयाँ कर्मचारी भएका कारण प्रदेशका गतिविधि चुस्त र व्यवस्थित ढङ्गबाट अघि बढाउने सन्दर्भमा तालमेल मिलाउन कठिनाइ भएको हुँदा अनुभवी कर्मचारीको व्यवस्थापन र विज्ञसँगको छलफल र परामर्शलाई आगामी दिनमा घनीभूत ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता देखिएको विषय सभामुख र उपसभामुखले राष्ट्रपतिसमक्ष राखेका थिए ।

सो अवसरमा राष्ट्रपति भण्डारीले सभामुख र उपसभामुखले उठाएको विषयवस्तुबारे सरकारलाई जानकारी गराइने बताउँदै सङ्घीयताको कार्यान्वयनका लागि प्रभावकारी भूमिका खेल्न सुझाव दिए । नयाँ प्रणाली र नयाँ संरचनाको अभ्यास भएकाले प्रत्येक प्रदेशलाई बलियो र समृद्ध तुल्याउनका लागि भेटघाट र अनुभव साटासाट गर्न राष्ट्रपति भण्डारीले सुझाव दिनुभएको प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले जानकारी दिइन् ।

विभिन्न कोणबाट सङ्घीयताप्रति उठाइएको भ्रम चिर्न एवं ऐनकानून निर्माणमा एकरुपता ल्याउन, प्रशासनिक र प्राविधिक पक्षलाई चुस्त तुल्याउन, दक्ष र अनुभवी कर्मचारीको व्यवस्था गर्न तथा संसद् सेवालाई फराकिलो बनाउन टड्कारो आवश्यकता देखिएको विषय पनि भेटघाटका क्रममा उठेको थियो । भेटघाटमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, उपसभामुख डा शिवमाया तुम्बाहाम्फे तथा सातै प्रदेशका सभामुख र उपसभामुख सहभागी थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ