सनातन विद्वत् परिषदद्वारा हेमानन्द गिरीलाई शास्त्रार्थ गर्न खुल्ला चुनौती
हेमानन्द गिरीको कथित शङ्कराचार्य अस्विकार्य
प्रकाशित २०७५ भदौ ५ मंगलबार
514
Shares
काठमाडौँ । शङ्कराचार्य पदवीका नाममा नेपालको सार्वभौमसत्तामाथि नै हस्तक्षेप गर्न खोजिएको भन्दै हिन्दु धर्मशास्त्रका ज्ञाताले आपत्ति जनाएका छन् ।
सनातन विद्वत् परिषद् नेपालको संयोजकत्वमा आज आयोजित विद्वत्सभामा उनिहरुले अखिल भारतीय विद्वत् परिषद्लगायत केही संस्थाले हेमानन्द गिरीलाई पशुपति पीठाधीश शङ्कराचार्य घोषित गरिएको भन्ने समाचारप्रति सभाको गम्भीर ध्यानाकर्षण भएको बताए ।
परिषद्का अध्यक्ष एवम् नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेलले नेपालमा शङ्कराचार्यका रुपमा पशुपतिनाथ नै रहेकाले आद्य शङ्कराचार्यले बसालेका चार मठबाहेक अरूलाई नेपालीले नमान्ने बताए ।
प्राडा दीर्घराज घिमिरेले शङ्कराचार्य पठाएर स्वतन्त्र अस्तित्व भएको राष्ट्रमा धर्मका नाममा राजनीति शुरु भएकाले विद्वान् चुप लागेर बस्नु नहुने सुनाए । भविष्य र स्कन्द पुराणमा शङ्कराचार्यको चरित्रका बारेमा वर्णन गरिएको उनले जानकारी दिए ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले शङ्कराचार्य हुन ब्राह्मणबाट सन्यास लिएको हुनुपर्ने नारी हुन नसक्ने विषय आद्य शङ्कराचार्यले रचना गरेको ‘मठम्नायशासनम्’ नामक ग्रन्थमा उल्लेख गरिएको बताए ।
प्रा शिवगोपाल रिसालले आदि शङ्कराचार्यले बसालेका चार मठले नै कन्याकुमारीबाट हिमालय क्षेत्रसम्मको प्रतिनिधित्व गर्ने भएकाले हावाका भरमा अरू शङ्कराचार्य हुन नसक्ने तर्क गरे।
प्राडा ऋषिराम पोखरेलले पशुपतिजस्तो निराकार रुप भएको मुलुकमा अर्को मठको आवश्यकता नै नरहेको सुनाए । शङ्कराचार्य मठ पशुपतिका स्वामी १००८ रमणानन्द गिरीले हेमानन्द गिरी दण्डी साधु नभएकाले ज्योतिष्पीठका लागि प्रारम्भिक चरणको निवेदनमै अस्वीकृत भएको बताए ।
कार्यक्रममा प्रा पद्मप्रसाद भट्टराई, प्रा भवानीप्रसाद खतिवडा, सुश्री अम्बिका पाण्डे, रामकृष्ण उपाध्याय, गोकुलानन्द गिरी लगायतले हावाका भरमा शङ्कराचार्य भएको हल्ला गरेर नेपालकै बदनाम गर्न खोजिएकाले सावधान हुन आह्वान गरे ।
सभाले आजै छबुँदे घोषणापत्रसमेत जारी गरेको छ । घोषणापत्रमा शास्त्रोपदिष्ट समयमा उपनयनादि संस्कार भई विधिपूर्वक आफ्नो शाखाको वेद अध्ययन गरेको, वेद–वेदाङ्ग–धर्मशास्त्र र वेदान्तादि दर्शनमा पारङ्गत भई शास्त्रको समुचित व्याख्या विश्लेषण गर्न सक्ने, दण्डी सन्यासी परम्पराबाट दीक्षित, प्रतिभा सम्पन्न उत्तराधिकारी व्यक्ति विधिसम्मत तरिकाले शङ्कराचार्य पदमा नियुक्त हुने परम्परालाई लत्याउँदै अखिल भारतीय विद्वत् परिषद्ले मनोमानी तरिकाले गरेको शङ्कराचार्य नियुक्तिको निर्णयप्रति आपत्ति जनाएको छ ।
शङ्कराचार्यको पदवी पाएको दाबी गर्ने हेमानन्द गिरीलाई आजको सभाले शास्त्रार्थ गर्न खुला चुनौतीसमेत दिएको छ । भदौ ८ गते डोलेश्वरमा गर्न लागेको कार्यक्रम हुन नसक्ने सभाले निर्णय गरेको छ । सभासँग शास्त्रार्थ गरी विजयी भएर शङ्कराचार्य बन्न पनि सभाले हेमानन्दलाई अनुरोध गरेको छ ।