arrow

तरकारी बेचेरै उद्योग मालिक

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ भदौ ६ बुधबार
deepak.jpg

पुनर्वास ।  बिगत ११ वर्ष देखि पश्चिम नेपालको कञ्चनपुरको पुनर्वासस्थित आइबिआरडी बजारमा तरकारी बेच्दै आएका २७ वर्षीय दीपक सुनार अहिले उद्योग सञ्चालक बनेका छन् । उनी अहिले मसाला उत्पादक उद्योगीका रुपमा स्थापित बनेका छन ।

अत्यन्त न्यून आर्थिक अबस्थाका दीपक यति बेला पुनर्वासका एक्ला उद्योगी हुन जसले थुप्रै चुनौतीपूर्ण ब्यबसायिक मोडहरु छिचोल्दै सफल र उदाहरणीय युवा बन्न पुगेका छन् । उनले दिब्या मसाला उद्योग पुनर्वास नगरपालिका -५ मा स्थापना गरेर उत्पादन बजारमा ल्याउदै आएका छन ।

मौसम अनुसार कृषकहरुले उत्पादन गरेको तरकारी र छिमेकी शहर धनगढी बाट तरकारी साइकलमा बोकेर ल्याउदै जिविको पार्जन गर्दै आएका दीपक उद्योग सञ्चालक बन्न पुगे । अहिले पुनर्वास र जिल्लाको दक्षिणी भेगको मुख्य बजार बेलौरी , बेलडाँडीमा उनको उत्पादनले बजारमा राम्रै नाम र दाम कमाउन सफल बनेको छ ।

तरकारी बेच्दै आएका दीपक कसरी बन्न पुगे त एउटा सफल उद्योग सञ्चालक उनी भन्छन् -पसलमा तरकारी किन्न आउने हरेक ग्राहकहरुले मसाला समेत किन्ने भएकाले तरकारी संगै मसालाको कारोबार समेत हुने देखे पछि मसालाका प्याकेट समेत बेच्न थाले तर त्यही समयमा आफैले मसाला बनाइ बेच्ने जुक्ति फुरे पछि न्यून मात्रामा धनिया,जिरा,खुर्सानी र बेसार पिनेर बिक्री सुरु गरे यसको माग बढ्दै गए पछि ३ वर्ष अघि २०७३ मा चानचुन ४० हजारको लगानी जोहो गरेर मसला पिस्ने मेसिन ल्याएर उद्योगकै रुपमा सुरु गरे ।

 सुरुमा मासिक डेढ क्विन्टल मसाला उत्पादन गर्दै आएका दिपक अहिले दैनिक १ क्विन्टल मसाला उतपादन गर्दै आएका छन ।  अहिले दिपकको उद्योगको बजार मात्रै होइन लगानी पनि फराकिलो बन्दै गएको छ । उद्योगमा उत्पादन भएको मसालाको प्याकेटको आकर्षण र स्टोर क्षमता बढाउन उनले २ लाखको लगानी थपेर प्याकेजिङ मसिन समेत राखेका छन । सामान्य अनुभवकै आधारमा उद्योग सञ्चालनमा होमिएका युवा दीपक उत्पादनको गुणस्तरमै बढी ध्यान दिने गरेका छन् । बजारमा बढ्दै गएको मसालाको मागलाई ध्यान दिएर उनले दुई लाख लगानी गरेर दुई वटा मसला पिस्ने मेसिन उद्योगमा थपेर उत्पादन वृद्धिमा उनी लागेका छन् ।

पुनर्वासको ग गाउँमा सञ्चालनमा आएको उनको दिब्या मसाला उद्योगले गाउकै ५ जनालाई प्रत्यक्ष रोजगारी दिदै आएका छन् । उत्पादन संगै स्थानिय स्तरमा रोजगारीको अबस्था सृजना समेत गर्दै आएका दिपकले अहिले जम्मै खर्च कटाएर मासिक ५० हजार उद्योग बाट कमाउदै आएका छन् ।

सुरुमा पुनर्वासकै बजारहरुलाई केन्द्रित गरि उत्पादन थालेका दीपकले छिमेकी बेलौरी, बेलडाँडी लगायतका बजारहरुमा मसाला खपत हुँदै आए पनि अहिले उनको उत्पादनले काठमाडौंमा समेत राम्रो बजार पाएको छ । गुणस्तरीय उत्पादनमा जोड दिदै आएकाले छोटो समयमै  उनको उद्योगबाट उत्पादन हुँदै आएको मसलाले बजारमा पकड बलियो बन्दै गएको छ । उनको दिब्या मसाला उद्योगबाट धनिया पाउडर,जिरा पाउडर, खुर्सानी पाउडर ,बेसार पाउडर ,मिक्स मसाला, सब्जी मसाला र मिट मसला उत्पादन गर्दै आएका छन् ।

मेहनत लगन र परिश्रम गरे गाउँमै राम्रो आम्दानी गर्न सकिने उदाहरण युवा उद्योगी दीपकको कामले पुष्टि गरिदिएको छ । थुप्रै चुनौती हरुको चाङ पन्छाउदै सफल ब्यबसायी बन्न उनलाई उनको निरन्तरको लगनले सघाएको हो । उनलाई ब्यबसाय प्रबर्द्धन गराउन सरकारले ल्याएको युवा स्वरोजगार कार्यक्रमले पनि सघाएको छ । उनी भन्छन् - स्वरोजगार कार्यक्रम अन्तर्गत २ लाख रकम पाउँदा उद्योग सञ्चालनमा साहायता पुगेको हो । स्वरोजगार कार्यक्रम अन्तर्गत पाएको रकमले उद्योगको क्षमता बिस्तारमा लगानी लगाएका उनले उत्पादन बढाउदै लगेकाछन ।

स्थानीय स्तरमा सानो पुँजी बाट सञ्चालनमा आएको तर स्थानीय रोजगारी प्रबर्द्धन , आय आर्जनको स्तर वृद्धि गर्दै आर्थिक समृद्धिमा टेवा पुगाउदै आएका दीपक जस्ता थुप्रै युवाहरुले सञ्चालनमा ल्याएका घरेलु तथा लघु उद्योगको प्रबर्द्धन र प्रोत्साहनमा भने सरकारी पहल शून्य छ । उत्पादनमा आत्मनिर्भर बनाउने आशलाग्दो भविष्य रहेका दीपक जस्ता युवा उद्यमीहरुलाई प्रोत्साहन दिन  सरकारको पहल नहुँदा सहुलियत र अनुदानको अभावमा थुप्रै लघु उद्योगहरु बन्द समेत भइ सकेका छन् ।

उद्योगबाट मनग्ये आम्दानी पाइए पनि कञ्चनपुरको सिमान्त क्षेत्रमा उत्पादनमा जोड दिदै आएका दीपकका चुनौती पनि कम्ती छैननन् । नेपाल-भारत खुला सिमानाका कारण सिमापारीका बजारहरुबाट दैनिक निर्वाधरुपमा चोरीपैठारी हुँदै नेपाली बजारमा आउने भारतीय मसालाका कारण स्थानिय उत्पादनको खपतमा गम्भीर असर परेको युवा उद्योगी दीपक बताउछन् । उनी भन्छन् " हामी दु:ख गरेर उत्पादन गर्छौ तर भारतका उद्योग हरुमा उत्पादन गरिएका गुणस्तरहीन मसलाका कारण व्यापार घाटा भइ रहेको छ ।

 नियन्त्रण हुँदैन स्वदेशी लगानीको भविष्य अन्यौल छ । जेनतेन उत्पादन गरिन्छ उत्पादित उत्पादन बजार सम्म पुगाउदा बजारमा छ्यापछ्याप्ती भारतीय मसला पुग्छ यसबाट अपेक्षित खपत घट्दै गएको छ । " उनले आग्रह गर्दै भन्छन् - सीमा पारीका उत्पादनले हामीलाई परनिर्भर बनाउदै छ स्वदेशी उत्पादन प्रतिको हाम्रो मोह घट्दै छ यो हाम्रो चुनौती हो यसको नियन्त्रणमा सरोकारवाला जिम्मेवार बन्दिएको भए आत्मनिर्भर बन्ने अबसरहरु यहाँ बन्ने थिए ।

यति मात्रै होइन स्थानीय स्तरमा सञ्चालनमा आएका उद्योगहरुलाई प्रोत्साहन गर्ने हाम्रा सरकारी , गैरसरकारी  र स्थानीय निकायको समेत पहल छैन । सीमावर्ती क्षेत्रका उद्योगी , ब्यबसायी भारतीय उत्पादनका कारणले दिन प्रती दिन धराशयी बन्दै छन्  संरक्षण र प्रोत्साहनका लागि कसैले बोल्दैन कसैले सोच्दैन अनि हामी कसरी बन्छौ आत्म निर्भर !

पश्चिम नेपालको कञ्चनपुरको सीमान्त ठाउँ पुनर्वासमा थुप्रै युवाहरु लागेका छन् । जहाँ उत्पादनकै निम्ति आफ्नो बैँस लगाएका छन् । तर ती युवाहरुको एकल संघर्ष तब सार्थक बन्न सक्छ जब हामी सामुहिक रुपमा कमसल, गुणस्तरहीन उत्पादन रोकिदैन । अनि वृद्धि हुनेछ हाम्रो उत्पादन ,बढ्नेछ रोजगारीका अबसर, बढ्नेछ आय आर्जन अनि बढ्नेछ आर्थिक दर तब हुन्छ देश समृद्ध ।

 नारामा होइन व्यबहारले देखाउ समृद्ध बन्ने उदाहरण । उत्पादनमा आत्म निर्भर बन्ने र स्थानियलाई रोजगारी दिलाउने संकल्पमा लागेका उद्योगी दीपक जस्ता युवाको प्रयास सबैले अनुसरण गर्न सके हामी बन्ने छौ आत्म निर्भर ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ