arrow

भरत शमशेर क्रान्तिकारी नेता, उ बेलै जातभात र संस्कार मान्नु हुन्नथ्याे : देउवा

logo
प्रकाशित २०७५ भदौ ६ बुधबार
bharat.jpg

काठमाडौं । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका पूर्वकेन्द्रीय सदस्य भरतशमशेर राणा क्रान्तिकारी र विद्रोही स्वभावको नेता भएको बताएका छन् ।  

नेता राणाको निधनको १३ दिनमा कांग्रेस केन्द्रीय कार्यालयद्वारा आयोजित श्रद्धाञ्जलिसभामा सभापति देउवाले उनी सम्भ्रान्त परिवारमा जन्मेर पनि समावेशी शासनको पक्षपाक्षी भएको स्मरण गरे ।  

भारतको कोलकत्तामा विद्यार्थीकालमा नै आफ्नो भेट भएको स्मरण गर्दै सभापति देउवाले स्व राणा जातभात र संस्कार नमान्ने क्रान्तिकारी नेता भएको बताए । 

पुराना अग्रज नेता राणाको गत साउन २५ गते कोलकात्तामा ९० वर्षको उमेरमा निधन भएको थियो । कांग्रेस संस्थापक नेता वीपी कोइराला प्रधानमन्त्री  हुँदा नेपालको पहिलाे संसद गोर्खा परिषद्को नेताको हैसियतले नेता राणा प्रमुख प्रतिपक्षी दलको नेता थिए ।  

२०१७ को प्रतिगामी कदमसँगै बिपीलगायतका नेता कार्यकर्तालाई गिरफ्तार गरिएपछि त्याे घटनाको विरुद्धमा उभिँदै राणाले आफ्नो सिङ्गो पार्टीलाई विनाशर्त का‌ंग्रेसमा विलय गराए । सन्त नेता कृष्णप्रसाद भट्टराईको सभापतित्वको कार्यकालमा उनी कांग्रेस केन्द्रीय सदस्य थिए । 

सभामा नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा‍‍. बाबुराम भट्टराईले आफ्नो राजनीतिक यात्रामा राणाले लेखेकाे पुस्तकको प्रभाव र प्रेरणा रहेको स्मरण गरे । राणा प्रधानमन्त्री चन्द्र शमशेरका पनाति नेता राणाको जन्म मुलुकको आवश्यकता र आकस्मिकता भएको उल्लेख गर्दै डा. भट्टराईले भरत शमशेरमा विलक्षण प्रतिभा रहेको बताए ।  

कार्यक्रममा काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता राणा सदैव अन्यायको विरुद्धमा लड्ने समाजवादी नेता भएको स्मरण गर्दै राणामा सफल नेतृत्वको खुबी रहेको चर्चा गरे । 

वरिष्ठ नेता पौडेलले ठूलो सङ्घर्ष गरेर गोर्खा परिषद् पार्टी स्थापना गरी २०१५ सालको आम निर्वाचनमा पार्टीलाई दोस्रो स्थानमा पुर्‍याउन सफल भएको भन्दै स्व राणाको प्रशंसा गरे ।  

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातन्त्र) का अध्यक्ष पशुपति शम्शेर राणाले काङ्ग्रेस नेता भरत शम्शेर राणा सङ्घर्षशील हक्की स्वभावका भएको स्मरण गर्दै उनीभित्र प्राकृतिकरुपमै प्रतिपक्षी दलको नेताको स्वभाव रहेको धारणा राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ