निर्मला हत्या प्रकरणः थप रहस्यमय, यसकारण फस्दैछ प्रहरी
प्रकाशित २०७५ भदौ ७ बिहिबार
253
Shares
काठमाडौं । बालिका निर्मला पन्त हत्याको घटनामा संलग्न भन्दै प्रहरीले जसलाई समातेको छ, कन्चनपुर महेन्द्रनगरवासी उनलाई अपराधी मान्न तयार छैनन्, जसलाई उनीहरुले शंकाको घेरामा राखेका छन्, प्रहरी उनीहरुमाथि अनुसन्धान गर्न जाँगर देखाउँदैन । मानसिक सन्तुलन गुमाएको व्यक्तिमाथि दोष थोपरेर प्रहरीले मुख्य अभियुक्त उम्काउन खोजेको स्थानीयको जिकिर छ । तर पक्राउ परेका ४१ वर्षे दिलिप सिंह बिष्टलाई मानसिक रोगी स्वीकार्न प्रहरी मान्दैन ।
यही विवादको घेरमा कञ्चनपुरको महेन्द्रनगर बजार दिनानुदिन तोडफोड र टियर ग्यासको भूमरीमा पर्दैछ । चित्तबुझ्दो अनुसन्धान र विवादस्पद अभिव्यक्तिका कारण बालिका निर्मला पन्त हत्या प्रकरणमा कञ्चनपुर पुलिस भने शंकाको घेरामा फस्दै गएको छ ।
आशंका नम्बर १
गत साउने १० गते साथी रोशनी बमको घरमा गएकी छोरी अबेरसम्म घर नफर्किएपछि निर्मलाकी आमा दुर्गादेवी पन्त छोरी खोज्न रोशनीको घरमा पुग्छिन् । रोशनीकी दिदी बबिताले उल्टै उनलाई हकार्छिन् । दुर्गा स्थानीय प्रहरी चौकीमा पुग्छिन् र रोशनीको घरमा हेरिदिन भन्छिन् । तर प्रहरीले राति हेर्न नमिल्ने र भोलीपल्ट आउन ओठे जवाफ दिएर फर्काउँछ । आखिर प्रहरीलाई घटनाको अनुसन्धन गर्न रात बिहान साँझ कुनै समयले रोक्छ ? आशंकाको शुरुवात यहीँबाट शुरु हुन्छ । कतै रोशनी, बबिताको परिवार र स्थानीय प्रहरीवीच कुनै सम्बन्ध त थिएन ?
आशंका नम्बर २
निर्मला हराएको भोलीपल्ट साउन ११ गते रोशनी, बबिताको घर नजिकको निम्बुखेडा खोलामा निर्मलाको साइकल भेटिन्छ, अनि साइकल भेटिएको करीब सय मिटर पर उनको शव । तर साथीको शब भेटिएको ठाउँमा दुबै जना जाँदैनन् । कन्चनपुरका डीएसपी ज्ञान बहादुर सेटी भन्छन्, हामीले घटना भएको भोलीपल्टै रोशनी बबिताको घर खानतलसी गरेका छौं । तर उनीहरुमाथि सोधपुछ र अनुसन्धान भएको छैन । किन ? आशंका नम्बर ३
शब फेला परेको दिन घटनास्थलबाट प्रहरीले शंकास्पद बस्तु केही फेला पार्न सकेको देखिँदैन । तर घटना भएको २४ दिनपछि जब दिलिपसिंह विष्ट पक्राउ पर्छन् । विष्ट पक्राउ परेको २ दिनपछि मात्रै प्रहरीले मृतकका बाबु यज्ञराज पन्तलाई शब फेला परेको ठाउँमा लैजान्छ र प्रमाणस्वरुप विष्टकको कमिजको एउटा खल्ती देखाउँछ । दायाँ बायाँ पट्टिको (तस्वीरमा हेर्नुस् विष्टलाई सार्वजनिक गर्दाको कमिजो खल्ती) । प्रहरीले कण्डमको खोल समेत देखाउँछ । खल्ती च्यात्दा हत्तपत्त माथिको ढकन च्यातिन्न ।
अर्को कुरा प्रहरीले उनी मानसिक रुपमा स्वस्थ भएको जिकिर गर्दै आएको छ । मानसिक रुपमा स्वस्थ मान्छेले घटना भएको २४ दिनपछि पनि उही शर्ट लगाउँछ ? अर्को कण्डमको कुरा । हत्या गर्ने नियतले नै कसैलार्इ बलात्कार गर्छ भने उसले कण्डम प्रयोग गर्छ ? दिलिप सिंह विष्टले निर्मलाको साथमा रहेको २० रुपैयाँ समेत लगेको र पराग किनेर खाएको दाबी गरिएकाे छ । पराग खानका लागि २० रुपैयाँ समेत नछोड्ने मान्छेले बलात्कारका लागि कण्डममा रकम खर्च गर्छ ? मानसिक रोगी नै हो भने त अझ यो विषयमा सोच्न पनि जरुरी छैन । अर्को कुरा, घटना भएको बीसौं दिनपछि खल्तीको टुक्रा र कण्डमको खोल घटनास्थलमै भेटिनु (जबकि शुरुको दिनमा ती सामग्री भेटिएका थिएनन्) र ती सामग्रीमा धुलो हिलो नहुनु रहस्यमयी छैन ? आशंका नम्बर ४
भदौ ४ गते प्रहरीले निर्मलाका बाबु यज्ञराज पन्तलाई प्रहरी कार्यालय बोलाउँछ । दिलिपसिंह विष्ट बिरुद्ध किटानी जाहेरी गर्न भन्छ (प्रहरीले असल नियत राखेको पनि हुनसक्ला, अनुसन्धानमा सहयोग होला भनेर) । प्रमाण माग्दा भिडियो देखाउँछौं भन्छ । तर अहिलेसम्म उसले गरेकोको केरकार र विष्टले गरेको भनिएको कबूलको भिडियो कस्सैलाई देखाएको छैन । यसमा दुुईवटा कुराः यदि भिडियो नै छ भनेपनि, या त प्रहरीले विष्टलाई यातना दिएर घटना कबूल गर्न लगाएको छ, या त उसले फेक बोलेको छ ।
गृहमन्त्रीलाई कञ्चनपुर प्रहरीकै दाबी अनुसारको ब्रिफिङ :
कञ्चनपुर घटना चिर्किँदै जाँदा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गृहमन्त्री रामबहादुर थापालाई ब्रिफिङ गरेका छन् । महानिरीक्षक खनालले आरोपी दिलिपसिँह बिष्ट नै दोषी भएको जिकिर सहित मन्त्री थापासमक्ष ब्रिफिङ गरेका हुन् ।
बलात्कारपछि बिष्टले, निर्मलाको साथमा रहेको २० रुपैयाँ समेत लिएको, सोही २० रुपैयाँले पसलबाट गुटखा किनेर खाएको, मार्सल आर्टका खेलाडी विष्टले निर्मलाको किलकिले थिचेर हत्या गरेको, बलात्कारअघि निर्मलाको साईकलको चेन बनाईदिएको, त्यसपछि बलात्कार गरेको र पोल खुल्ने डरले हत्या गरेको खनालको ब्रिफिङमा समेटिएको छ ।
कञ्चनपुर प्रहरीले, निर्मलाको हत्यारा भनिएको बिष्ट २०६५ मा भिनाजु नारायणसिँह बिष्टको हत्या गरेर जेल परेको र चालचलन राम्रो भएको भन्दै कारागारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट कैद मिनाह पाउँदै, २०७४ जेठमा रिहा भएको मान्छे हो भनेको छ ।
के गर्ने अब ?
-महेन्द्रनगरबासीले शंका गरेकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने ।
-डीएनए परीक्षण गराउने, तर एक ठाउँमा होइन (प्रदर्शनकारीको विश्वास जितेर) ।
-कञ्चनपुरका प्रहरी अधिकृत सामेल नहुने गरी छानबिन टोली गठन गर्ने ।
-आन्दोलनकारीलाई तत्काल वार्तामा बोलाउने ।
-पक्राउ परेका दिलिपसिंह विष्टको मानसिक स्वास्थ्य परीक्षण गराउने ।
-शंकाको घेरामा परेका कञ्चनपुरका प्रहरीमाथि पनि छानबिन गर्ने ।
- पिडित परिवारलाई राहतको व्यवस्था गर्ने ।
-सुरक्षाको ग्यारेन्टी गर्ने ।