arrow

शुक्रबारको कांग्रेस केन्द्रीय समितिको बैठकमा के होला ? 

बिहिबार पदाधिकारी बैठक बस्दै

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
NC-party-office.png

काठमाडौं । नेपाली काँग्रेसले भदौ ८ गते शुक्रबार केन्द्रीय समितिको बैठक डाकेको छ । बैठक बिहान ११ बजे काँग्रेस पार्टी मुख्यालय सानेपामा बस्नेछ । 

पार्टी सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएर फर्केपछि बस्न लागेको बैठक समसामयिक विषयमै केन्द्रीत रहने सहमहामन्त्री डा प्रकाशशरण महतले बताए । 

महतका अनुसार अहिलेका पछिल्ला राजनीतिक गतिविधिसंगै मस्यौदा समिति र महासमिति बैठकसम्मका बारेमा कुराकानी हुनेछ । 

पार्टीका कुरा 
पार्टीमा महासमिति बैठक बोलाउन सभापति इतरको पक्षले जोड दिइरहेको छ । तर सभापति पक्षले भने त्यसलाई केही लम्ब्याउन खोजेको आरोप लगाइएको छ । 

भदौको मसान्तभित्र महासमिति बैठक बस्ने पहिले सहमति भए पनि अहिलेसम्म मस्यौदा समिति बन्न नसकेको अवस्थामा महासमिति बैठक चाडबाड सकाएर छठपछि नै गर्ने गरी टुंगो लगाउने तयारी भइरहेको स्रोत बताउँछ । 

मस्यौदा समिति बनिसकेपछि सुझाव लिन केही समय लाग्ने नै छ । जसका कारण महासमिति बैठक समयमै नबस्ने स्रोतको भनाइ छ । 

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महासमिति बैठक तयारी, विधान र विभाग सन्दर्भ, मुलुकी ऎनको स्वामित्व र विमतिको पाटो लगायत कर आतंकका विषयमा छलफल केन्द्रीत हुनेछ । 

डा महतका अनुसार केन्द्रीय सदस्यहरुले पनि खुलेर आफ्ना विचारहरु राख्ने भएकाले यो बैठक उपलब्धीमुलक हुनेछ । 

सरकारका कुरा 
सरकारले लागु गरेको मुलुकी ऐनले विभिन्न क्षेत्रलाई असर पारेको छ । विशेष गरी वाक्स्वतन्त्रतामाथि कडाइ गरिएसंगै प्रतिपक्षी दलहरुलाई समेत समस्यामा पार्न खोजिएको आभाष काँग्रेसका नेताहरुले गर्न थालेका छन् । 

यो विषयमा गम्भीर छलफल हुने बताइएको छ । त्यसैगरी प्रेस स्वतन्त्रतालाई अंकूश लगाउने प्रपञ्च रचिएको भन्दै त्यसको घोर विरोध गर्ने तयारीमा काँग्रेस रहेको बुझिन्छ । 

कर आतंकले समेत मुलुकलाई आक्रान्त पार्न खोजिएकाले काँग्रेसले निकै सुझबुझसहितको निष्कर्ष निकालेर अगाडि बढ्ने पनि बुझिएको छ । 

महामन्त्री डा शशांक कोइरालाले यसअघि नै आफ्नो पार्टीबाट जितेका स्थानीय तहका प्रतिनिधिलाई कर हटाउन निर्देशन दिएपछि केही स्थानमा कर फिर्ता भएको छ भने अनावश्यक लगाइएका करलाई पुनःसंशोधन गरी लागु गरिएको छ । 

त्यसैगरी संवैधानिक निकायमा देखिएको असहमतिबारे कसरी अगाडि बढ्ने भन्ने बारेमा गम्भीर छलफल हुनेछ । प्रधानन्यायाधीश नियुक्त हुन नसकेको र प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएपछि राजनीतिले नयाँ मोड लिएको छ । 

काँग्रेसले सत्ताधारी दललाई न्यायालयमा हस्तक्षेपकारी भूमिका खेलेको आरोप लगाइरहेको छ । 

बिहिबार काँग्रेस पदाधिकारी बैठक
भदौ ७ गते बिहिबार काँग्रेस पदाधिकारीको बैठक बस्दैछ । सभापति देउवा सिंगापुरबाट फर्केपछि पहिलो पटक पदाधिकारी बैठक बस्न लागेको हो । पदाधिकारी बैठकबाटै शुक्रबारको बैठकको एजेन्डा र विषयहरु छानिने बुझिएको छ । 

काँग्रेस अहिले आन्तरिक र बाह्य रुपले दवावमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ