arrow

व्यापारयुद्ध : थप १६ अर्ब डलरका सामग्रीहरुमा कर बढाउँदै चीन र अमेरिका 

logo
प्रकाशित २०७५ भदौ ७ बिहिबार
trade_war1.jpg

काठमाडौं । अमेरिका र चीनले विहीबारदेखि थप १६ अर्ब अमेरिकी डलरबराबरका सामग्रीहरुमाथि कर बढाउने तयारी गरेका छन् । दुवै मुलुकहरुले एकअर्काबाट आउने उक्त सामग्रीहरुमा कर बढाउने तयारी गरिरहेका हुन् । यसअघि नै उक्त मुलुकहरुले यो निर्णय गरेका थिए तर यस बीचमा कुनै पनि वार्ता तथा सम्झौता हुन नसकेपछि यो निर्णय कार्यान्वयन हुने भएको हो । 

अमेरिकाले सुरु गरेको व्यापारयुद्धमा चीनले जस्तालाई त्यस्तै जवाफ दिने भन्दै आफ्नो नीति अघि सारेपछि दुई मुलुकको व्यापारमा तनावको अवस्था सिर्जना भएको हो । 

दोस्रो चरणको यो कर बढाउने निर्णयसँगै समग्रमा ५० अर्बका एकअर्काका सामग्रीहरुमा दुई मुलुकहरुले थप कर लगाउने भएका हुन् । विश्वका प्रमुख दुई मुलुकहरुको बीचमा देखिएको गत जुलाई महिनादेखि सुरु भएको व्यापार युद्धले दुवै मुलुकको अर्थतन्त्र तथा ठुला कम्पनीहरु प्रभावित बन्न पुगेका छन् । 

अमेरिकाको राजधानी सहर वासिङटनमा चीन र अमेरिकाका अधिकारीहरुको बीचमा व्यापारिक विषयमा छलफल हुन लागेको अवस्थामा यस किसिमको विवरण सार्वजनिक भएको हो । 

अहिले अमेरिकाले ल्याएको योजनामा भने करिब २८० चिनियाँ सामग्रीहरुमा २५ प्रतिशतको कर लगाइने भएको हो । जसम रसायनिक उत्पादन, कृषिजन्य उत्पादन लगायतका सामग्रीहरु रहेका छन् । 

चीनले पनि कोइला औषधि, कार र बसलगायतका अमेरिकी उत्पादनहरुमा २५ प्रतिशतको कर लगाउने निर्णय गरेको हो । चीन र अमेरिकाबीचको व्यापारयुद्धको असर देखिन सुरु भइसकेको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गत महिना अहिले देखिएको व्यापारयुद्धको समस्याले सन् २०२० सम्मको अवधिमा विश्वको आर्थिक वृद्धिदर शून्य दशमलव ५ प्रतिशतले कमजोर रहनसक्ने बताएको छ । (एजेन्सी)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ