arrow

हलेसी नगरपालिकाको निर्णयमा सिडिओको हस्तक्षेप

काँग्रेसबाट निर्वाचित मेयर राईलाई सिडिओले काम गर्न बाधा पुर्याउँदै

logo
उत्तम चौलागाँई,
प्रकाशित २०७५ भदौ ७ बिहिबार
cdeo.JPG

खोटाङ ।  हलेसी तुवाचुङ नगरपालिकाको निर्णयलाई उल्टाउँदै खोटाङका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले नगरपालिकाको निर्णयमाथि ठाडो हस्तक्षेप गरेको पाईएको छ ।

हलेसी मन्दिर व्यवस्थापन समितिका पदाधिकारी चयनमा प्रजिअ पौडेलले नगरपालिकाको सर्वसम्मत निर्णयलाई समेत वदर गर्दै आफ्ना अनुकुलका मानिसलाई पदाधिकारी चयन गर्न उपयुक्त हुने रायसहित साउन १६ गते गुठी संस्थानमा हस्तक्षेपपूर्ण सिफारिस गरेको जनाईएको छ ।

हलेसी तुवाचुङ नगरपालिकाका सवै वडाका वडा अध्यक्षसहित नगरमा गत जेठ २२ गते बसेको बैठकबाट हर्कराज राईको अध्यक्षतामा मन्दिर व्यवस्थापन समितिको सर्वसहमत सिफारिस गर्ने निर्णय भएको  थियो। जसअनुसार हर्कराज राई अध्यक्ष, भूपेन्द्र कुमार राई उपाध्यक्ष, कमल गिरि सचिव, थाम बहादुर राई सहसचिव, दिलीपराज गिरी कोषाध्यक्ष, सदस्यहरुमा रमिता बस्नेत सौरभ गिरी, यज्ञराज राई र राकेश परियारको नामावली पठाएको थियो  ।

यस्तै, प्रमुख सल्लाहाकारमा गजुरमान राई र सल्लाहाकार सदस्यहरुमा लंकशेर राई, कुलपिद गुरुङ र रेवती केसी रहेको जानकारी पत्रसहित नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र उक्त कार्यालयमार्फत जिल्ला मालपोत कार्यालय खोटाङ र गुठी संस्थान प्रधान कार्यालय काठमाण्डौंमा बोधार्थ पत्र पठाएको थियो ।

तर, जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी पौडेलले उक्त निर्णयको सट्टा अध्यक्ष हर्कराज राई बाहेक अन्य सबै नामावली बदलेर गुठी संस्थान प्रधान कार्यालयमा छुट्टै सिफारिस पठाएको पाईएको छ। उनले सिफारिस गरेका पदाधिकारी एवं सदस्यहरुमा क्रमश अध्यक्षमा हर्कराज राई, उपाध्यक्षमा लंकशेर राई, सचिव खिलाल राई, कोषाध्यक्ष रमिला वस्नेत, सदस्यहरुमा भूपेन्द्रकुमार राई, मंगल परियार, यज्ञराज राई, थामबहादुर राई, प्रकाशचन्द्र गिरी, प्रतिनिधि सदस्यहरुमा मालपोत कार्यालय, वडा अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, हलेसी तुवाचुङ नगरपालिका, किराँत राई यायोख्खा र मारतिका ताक्तेन छोलिङ गुम्वालाई प्रतिनिधि सदस्यमा चयन गरेर प्रजिअ पौडेलले पठाएका छन् ।

“निर्वाचित संस्थाहरुलाई कमजोर बनाउँनका लागि राजनीतिक आर्थिक चलखेलमा लिप्त भएर प्रजिअ लागेको पाईएको छ । यस्तो हस्तक्षेपपूर्ण कार्य नगर्न र स्थानीय तहलाई कमजोर बनाउँने उक्त निर्णय तत्काल सच्याउँनका लागि पहल गर्दछु ।,”—हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख ईवन राईले भने —“ प्रजिअ भएर  रक्षक नै भक्षक जस्तो हुँदै आफ्नो क्षेत्राधिकारभित्र नवसी कुनैपनि संस्थालाई कमजोर बनाउँन खोज्नु कतिको जायज हो ? म उहाँलाई प्रश्न गर्न चाहान्छु ।” राइले भने ।  

त्यसो त, हलेसी मन्दिर व्यवस्थापन समितिका पदाधिकारी चयन गरेर पठाएको निर्णयलाई बदर गर्दै पौडेलले हलेसीको आधिकारिक बैठकको निर्णयलाई अनुपयूक्त भएको संकेत गरेर आफ्नो सिफारिस उपयूक्त भएको पत्रमा जनाएका छन् ।

प्रजिअको यो कामकारवाहीका प्रति नगरपालिकाले तीव्र रोष प्रकट गर्दै स्थानीय सरकारको मर्ममाथि प्रजिअ पौडेलको ठाडो हस्तक्षेपले उनि आफैं विवादमा तानिएको समेत जनाएको छ । यसो त, यस अगाडि पनि विभिन्न घटना र सन्दर्भहरुमा प्रजिअ पौडेलले आफ्नो जिम्मेवारी र कतव्र्यलाई निष्पक्षताका साथ सम्पादन गर्न नसकिरहेको भन्दै जिल्लास्थित प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले आरोप लगाउँदै आईरहेको थियो । उक्त आरोपलाई पछिल्लो पटक प्रजिअ पौडेलले गरेको यो एकपक्षीय सिफारिसबाट उनको रवैया आफै पुष्टी हुन गएको हलेसी तुवाचुङ नगरपालिकाका एक स्थानीयले बताएका छन् ।

उता, प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसँग यस विषयमा कुरा गर्न खोज्दा आफू विदामा भएकोले कुनै पनि कुरा नगर्ने बताए । यस विषयमा जानकारी लिन खोज्दा प्रजिअले आफू घर विदामा रहेको र पत्रकारसंग बोल्नुपर्छ  भन्ने बाध्य नभएको भन्दै पन्छिए र फोन रारवे।

विगतका दिनमा धेरै प्रजिअ जिल्लामा आएको र उनिहरुबाट जिल्लाबासीलाई नीति नियमानुसार सुशासन, पारदर्शितता, जवाफदेहिता तथा सम्पूर्ण कामहरुको निष्पक्ष कामकार्यवाही भएको पाईए पनि  प्रजिअ पौडेल आएपछि भने सुशासनमा समस्या भएको जिल्लाबासीले गुनासो गरेका छन्। प्रजिअ पौडेलले कतिपय सेवाग्राहीलाई धम्कीपूर्ण भाषा पनि प्रयोग गर्ने गरेको एक स्रोतले बताएको छ ।

प्रजिअ पौडेलकोमा काम लिएर गए कागजातमा अनावश्यक खोट देखाउँदै अल्मल्याउने गरेको र भाषा हेर्ने शिक्षक कि प्रजिअ हुन भन्दै सेवाग्राहीले विभिन्न समयमा गुनासो समेत पोख्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ