काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको पदीय भागवण्डा अब दशैंको टीका लगाउँदै मिल्ने भएको छ। आजै हुन्छ र अहिल्यै मिल्छ भन्दै गत जेठ ३ गते पार्टी एकता गरे पनि केन्द्रमा मात्र भाग मिलेको छ। एकताको तीन महिनाभित्र सबै मिलाउने पनि नेताहरुले बताएका थिए।
सांगठनिकदेखि प्रदेश, जिल्ला, नगरपालिका, गाउँपालिकालगायत जनवर्गीय संगठनको एकीकरण प्रक्रिया टुंगो लाग्न सकेकै छैन। यसको एउटै कारण भागवण्डा नै हो ।
नेकपाका केही नेताहरुका विचारलाई आधार मान्ने हो भने हरेक तहमा समस्या छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुनुपर्ने तल्लो तहदेखिको एकता निकै सकसपूर्ण भएको बुझिन्छ ।
निराश हुँदै एक केन्द्रीय सदस्यले भने, ‘आफ्नो पार्टीको धेरै नराम्रो किन भन्नु तर खासै राम्रो केही छैन, माथि हाम्रो त पदस्थापन भयो तर हाम्रै मतदाता, हाम्रै स्थानीय नेताहरुको उचित व्यवस्थापन गर्न सकिएन ।’
नाघ्यो कार्यदलको समयसीमा
पार्टीभित्रको गुट उपगुटले भागवण्डा नमिल्दा साउन २५ गतेभित्रको समय सीमा पाएको कार्यदलले कम नसकेपछि साउन मसान्तसम्मको समय पायो । तर अहिलेसम्म काम टुंगिएको छैन ।
त्यसपछि फेरि भदौ ५ सम्मको समय पायो । त्यो समय पनि गुज्रिएको छ । अब सबै काम कहिले सकिन्छ भन्ने टुंगो छैन । नेताहरु ‘एक दुई दिन’ भन्ने थेगो प्रयोग गर्न थालेका छन्I
एक केन्द्रीय सदस्यका अनुसार केही जिल्लाको मात्र समस्या समाधान हुन बाँकी छ । तर आकांक्षी बढी भएपछि धेरैजसो जिल्लामा विवाद छ। सबै कमिटिहरुको एकीकरण हुन अझै समय लाग्ने निश्चित छ ।
एमालेका नेताहरु चिन्तित
तत्कालीन एमालेका धेरैजसो जिल्लातहका नेताहरु माइनस हुने डरले समस्यामा छन् । पदाधिकारीमा कम स्थान पाएको भन्दै तत्कालीन माओवादी केन्द्रले स्थानीय तहमा अलि बढी पकड जमाउन खोजेपछि भागवन्डा नपुग्ने चिन्तामा तत्कालीन एमाले नेताहरु पुगेका हुन् ।
एक जिल्लातहका नेताले निकै आक्रोश पारामा भने, ‘हामीले काँध थापेर नेताहरुलाई केन्द्रमा पुर्याउँछौं, अहिले हामी अप्ठेरोमा परेका बेलामा आश्वासन समेत दिन्नन् ।’
यसबाट स्पष्टै हुन्छ कि माथि पुगेपछि तल नहेर्ने परिपाटी नेकपाका नेताहरुमा पनि छ । यस्तै गतिविधिले गर्दा तत्कालीन एमालेभित्र असन्तुष्टि चुलिँदो छ ।
माओवादीभित्र पनि विवाद नभएको होइन । तर उनीहरु भने चित्त बुझाउनतिर लागेको बुझ्न सकिन्छ ।
नारायणकाजी श्रेष्ठलाई प्रवक्ता मात्रको जिम्मेवारी दिएर रुनु न हाँस्नु बनाइएको छ । उनले राजीनामा दिएर पनि स्वीकृत गरिएन ।
श्रेष्ठले पार्टी एकतामा अहम् भूमिका रहेको जिकिर गर्दै आएका छन् । तिनै नेतालाई निर्णय भइसकेपछि ‘लौ बाहिर गएर पत्रकारलाई सुनाइदिनू’ भन्ने हुकुमी प्रमांगी पाएपछि बाहिर आएर सुनाउने बाहेकको भूमिका दिइएको छैन ।