arrow

निर्मला हत्या थप रहस्यमय : एसपीका छाेरा र मेयरसा’वका भतिजालाई सोध्नै नहुने हो ? 

भीअाइपी अाइरहने 'दिदिबहिनी' को घरमा प्रहरी छिर्नै नमिल्ने हाे ?

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
nirmala1.JPG

काठमाडौं । कञ्चनपुरको निर्मला हत्या प्रकरणले अहिले सिंगो मुलुकको ध्यान खिचेको छ। निर्मला हत्याको घटनाबारे विभिन्न तथ्यहरु बाहिर आएका छन्। अपराध अनुसन्धानमा अन्तर्राष्ट्रिय ख्याती कमाएको नेपाल प्रहरीको शिर निहुरिएको छ। त्यतिमात्रै होईन। संघीय संरचना अनुरुप बनेको वर्तमान सरकारले आफ्नै अनुहारमा हिलो छ्यापेको छ। 

घटनाक्रमको विवाद बढ्दै जानुमा मूल दोषी कञ्चनपुर प्रहरीको तत्कालीन नेतृत्व र स्थानीय सरकार प्रमुख नै हुन्। अन्य पक्षहरु पछि जोडिन पुगेका हुन्। विभिन्न पक्षहरु जोडिन पुगेपछि घटनामा उत्तेजना थपिएको छ। पूर्व गृहमन्त्री समेत भईसकेका व्यक्ति भीम रावलले होस् गुमाउँदा घटनामा राजनीति घुसेको छ। हुँदा हुँदा एउटा घटनाले आन्दोलन अवथा सरकार विरोधी अभियानको रुप लिएको छ। यो विवादको मूल जड तीनै हुन्, तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र नेकपाबाट निर्वाचित भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट। 

एसपी विष्टलाई गृहमन्त्रालयले सरुवा गरेर मात्र पुग्दैन उनीमाथि अनुसन्धान गरिनु पर्ने माग पीडितका आफन्त र आन्दोलित स्थानीयले राखेका छन्। नेपाल प्रहरीका एक पूर्व एआईजी भन्छन्, ‘प्रहरीले ठूलो गल्ती गरेको छ। घटना भएको २४  दिनसम्म पनि अनुसन्धानले गति नदिने भन्ने हुँदैन। प्रहरी प्रशासनले सबै भन्दा पहिले पीडितको कुरालाई नै रेस्पोन्स गर्ने हो। यहाँ त्यो देखिएको छैन। उल्टै घटनास्थलमा भएका प्रमाण मेटाएको कुराले प्रहरीलाई फसाईसकेको छ।' 

उनका अनुसार स्थानीयको कुरालाई मान्ने हो भने, ‘अहिले संघीय संरचना अनुसार बनेका स्थानीय सरकारले पनि नागरिकको सुरक्षाबारे जिम्मेवार हुनु पर्दछ। स्थानीय सरकारका प्रमुखबारे पनि छानविन अनिवार्य छ।’
अहिलेको सरकार निकट कञ्चनपुरका केही कार्यकर्ता एवं पत्रकारले समेत निर्मलाका भीआईपी हत्यारालाई नङ्ग्याउने कुरा पटक–पटक सामाजिक सञ्जालमा लेखेका छन्। यही कुरालाई मात्रै लिने हो भने पनि  निर्मला बलात्कार तथा हत्याका दोषीलाई उम्काउन प्रहरी र स्थानीय सरकार नै क्रियाशील रहेको देखिन्छ । 

नभन्दै कुरा भुईँमा पोखिएको छ। जुन घरमा प्रहरीले यतिका समयसम्म अनुसन्धान गरेन त्यही घरमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका छोराको बाक्लै आवत जावत हुन्थ्यो । 

कञ्चनपुर प्रहरी भन्दा घटनाबारे अपडेट त्यहीँका स्थानीय हरेछन्। कञ्चनपुरकै एक स्थानीय अधिकारकर्मीका अनुसार, ‘निर्मला किताब लिन गएको भनिएको घरमा दुई जना दिदिबहिनी मात्रै बस्छन् । त्यो घर भाडामा लगाईएको छैन। त्यो घरका घर मूली दार्चुलामै बस्छन्। घर, पनि पूर्व भीआईपीसँग जोडिएका व्यक्तिकै हो। त्यो घरमा भीईआपीहरु आउने जाने भईरहन्छ। त्यो घरमा प्रहरीले छानविन त के अहिलेसम्म पाईला टेकेको छैन ।’ उनले कुन् र कस्ता खालका भीआईपी आउँथे भनेर भने भनिनन् ।

निर्मला किताब लिन गएको घर दुईतल्ले छ। बस्ने दिदिबहिनी मात्रै। बाबु आमा दार्चुलामै छन्। त्यो घरमा बस्ने रोशनी अर्थात् आँचल र अनिता बम। रोशनी निर्मलाको साथी भनिएको छ। रोशनी १८ वर्षकी छिन्। उनकी दिदी अनिता उनीभन्दा ठुली। 

स्थानीय भन्छन्, ‘त्यो घर भाडामा छैन। तर, हुने खाने परिवारका जस्तो देखिने व्यक्तिहरु आउने जाने भईरहन्छ। र, दुई जना केटा अलिक बाक्लै ओहोर दोहोर गर्थे।’ ती दुईजना केटाबारे विवरण खुल्यो। एकजना कञ्चनपुरका तत्कालीन प्रमुख अर्थात् एसपी डिल्लीराज विष्टका आफ्नै छोरा। अर्को भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा। त्यही कारण बम दिदिबहिनीबारे पनि स्थानीयले शंका गरे।  

निर्मलाका बुबाले अहिलेसम्म किटानी जाहेरी नदिनु, प्रहरीले जबरजस्ती मानसिक अवस्था ठिक नभएका व्यक्ति दीलिपसिंह विष्टविरुद्ध किटानी जाहेरी दिन दबाब दिनु, निर्मला पढ्ने स्कुलमा गएर प्रहरीले विद्यार्थीलाई कसले मारेको हो भन्, भनेर हकार्नु, दीलिपको लुगा परिवर्तन गर्न लगाउनु, बम दिदिबहिनी बस्ने घरमा नयाँ पेन्टिङ देखिनु र क्राइम सिनमा निर्मलाको हत्या भएको रात पानी परेको भएपनि भुइँमा छरिएका किताब कपि सग्लै हुनु। बम दिदिबहिनीले दिउँसै हामीले अम्बा दिएर पठाएको थियौँ भन्नु तथा त्यो घरभित्र रहेको अम्बाको बोट काटिएको भेटिनु संकास्पद मात्रै होईन प्रहरीले खास अपराधीलाई जोगाउन खोजिएको प्रष्ट हुन्छ। यो भन्दा अरु कुनै प्रमाण चाहिएको भए, अब गृहमन्त्रालयले निजामती कर्मचारीको नेतृत्वमा गठन गरेको उच्चस्तरीय छानविन समितिले नै भन्ला । 

तर, क्राइम सिनका प्रमाण नष्ट गर्ने प्रहरी र निजामति कर्मचारीको नेतृत्वमा उच्चस्तरीय छानविन समिति बनाउने गृन्त्रालयको वुद्धिमता र नियतमा खासै केही भिन्नता छैन। स्थानीयको माग निर्मलाको बलात्कार र हत्याबारे सत्य तथ्य बाहिर आउनु पर्छ भन्ने नै हो। गोली खान तयार भएका स्थानीयले कुनै राजनीतिक दलका संगनको उक्साहटमा आन्दोलन गरेको भन्नु अघि सरकार वा सरकारमा बस्नेहरुले २४–२४ दिनसम्म अनुसन्धानले गति लिन नसक्नुको कारण खोज्नु र जनसमक्ष पेश गर्नु पर्दछ, भन्छन् पूर्व एआईजी विनोद सिंह। 

स्थानीयले पनि एसपीका छोरा र मेयरका भतिजालाई प्रहरीले सोध्नै नहुने हो भनि सोधिरहेका छन्। उनीहरुले ती दुई केटालाई छानविनको दायरामा ल्याओस् र दोषी भए नभएको जनसमक्ष स्पष्ट पारोस् भनिरहेका हुन् । अब यहाँनेर सत्ताधारी केन्द्रका नेताले त्यसलाई राजीतिक रंग दिनु के आवश्यक ? हुँदा हुँदा सरकार पनि ?

कमजोर परिवारलाई हेप्यो प्रहरी र स्थानीय सरकारले 
गएको साउन १० गते बलात्कारपछि हत्या गरिएकी निर्मला गरिब परिवारकी छात्रा हुन्। भीमदत्त पन्त नगरपालिका–२ स्थित खोल्टीमा बस्थिईन् । उनी स्थानीय सरस्वती माविमा कक्षा ९ मा पढ्दै थिइन् । आमा बुबा ज्याला मजदुरी गरेर जीवन धानिरहेका थिए । 

निर्मला हुनेखाने देखिने बम दिदिबहिनी भएको घरमा होमवर्क गर्न राति गएकी भने हैनन। बिहान ११ बजेतिर गएकी थिईन्। बम दिदीबहिनीको जवाफ छ,-निर्मला साईकल लिएर २ बजे नै निस्किएकी थिईन्। दिउँसै निस्किएकी निर्मला घर फर्किनन्। आमा बुबा खोज्दै दिदिबहिनी भएको घरमा पुग्दा हामीले निर्मलालाई अम्बा दिएर पठाएका हौं, भने । यतिबेरसम्म आईन भन्दा, उनीहरुले ‘पोईला गई होला’ भने । यहीँनेर थाहा हुन्छ कि गरिब परिवारलाई कस्तो व्यवहार गरिन्छ?

प्रहरीले पनि त्यस्तै व्यवहार देखायो। भोलि खोजम्ला भन्यो। भोलि विहान त्यो रहस्यम घर नजिकैको उखुघारीमा निर्मलाको शव भेटिन्छ। घटना भएको २४ दिनपछि भदौ ४ गते मृतक निर्मला पन्तकै गाउँको एकजना मानसिक अवस्था ठीक नभएको ४१ वर्षीय दीलिपसिंह विष्टलाई प्रहरीले बलात्कारी एवं हत्यारा भन्दै सार्वजनिक गर्छ। यो कुरा निर्मलाका परिवार र स्थानीयले अझै पत्याईरहेका छैनन्। आन्दोलनका क्रममा एक जनाको मृत्यु भईसकेको छ, ५ घाईते छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ