arrow

पाटनको कृष्ण मन्दिर ५७ लाखमा जीर्णोद्धार : ३ वर्षपछि दर्शनार्थीका लागि खुल्ला 

logo
प्रकाशित २०७५ भदौ ९ शनिबार
patan1.JPG

काठमाडौं । पाटन दरबार क्षेत्रमा रहेको २१ गजुरको कृष्ण मन्दिरको जीर्णोद्धार पूरा भएको छ । जीर्णोद्धार पूरा भएसँगै दर्शनार्थीको लागि खुला भएको छ ।  सत्रौं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण भएको मन्दिर २०७२ को भूकम्पले आंशिक क्षति पुगेकाले मर्मत सम्भार गरेर दर्शनार्थीका लागि खुल्ला गरिएको हो । 

जीर्णोद्धार सकिएपछि क्षमापूजा भएको छ । मन्दिरको जीर्णोद्धार गर्न ३ वर्ष लागेको काठमाडौँ उपत्यका संरक्षण कोषले जनाएको छ ।राजपूत अर्थात् मुगल शैलीमा निर्माण भएको मन्दिर ५७ लाखमा जीर्णोद्धार सम्पन्न भएको कोषका निर्देशक रोहित रञ्जितकारले बताए  ।

महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंह मल्लले खन्न लगाउँदा जमीनमुनि कृष्णको मूर्ति फेला परेको थियो । त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको पुजारी विष्णुधर राजोपाध्यायले बताए  ।

मन्दिरको मर्मतसम्भारका लागि जर्मनीको गेर्दा हेङ्कल फाउण्डेशन र जापानी राजदूतावासले सहयोग गरेको कोषका निर्देशक रञ्जितकारले बताए । आउने १७ गते कृष्णाष्टमीका दिन बिशेष मेला लाग्ने भएकाले त्यस दिन सर्बसाधारणले दर्शन गर्न सकोस भन्ने उद्धेश्यले सर्बसाधारणका लागि खुल्ला गरिएको रञ्जितकारले सुनाए । 

भुकम्पपछि सर्बसाधारणले माथी मन्दिरमा उक्लिएर दर्शन गर्न पाएका थिएनन । दर्शनार्थीका लागि तल मन्दिर बाहिरै दर्शन गर्ने व्यवस्था मिलाईएको थियो । शुक्रबार पर्यटनमन्त्री, ललितपुरका मेयर, पुरातत्व विभागका महानिर्देशकको सहभागितामा क्षमा पुजा गरी दर्शनार्थीका लागि खुल्ला गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ