प्रधानन्यायाधिशमा रोकिनु भन्दा पनि एसएलसीको सर्टिफिकेट विवादित बनाएकोमा रुष्ट रहे दिपकराज जोशी
वालुवाटारबाट धुम्वराही जाँदै जोशी
हाम्राकुरा डेस्क,
प्रकाशित २०७५ भदौ ९ शनिबार
420
Shares
काठमाडौं। संवैधानिक परिषदले ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधिशका लागि संसदीय सुनुवाई विशेष समितिमा सिफारिस गरेपछि प्रधानन्ययाधिशका लागि दिपकराज जोशीको प्रसङगमा विराम लागेको छ। उनको प्रसङगमा विराम लागेसँगै जोशी वालुवाटार छोड्ने तयारीमा छन्। व्यक्तिगत सामानहरु परिवारका सदस्यहरुले सार्दैछन्।
जोशी बुधवार वालुवाटारको सरकारी निवासबाट नीजि निवास धुम्वाराही जाँदैछन्। केहि महिना मात्रको वालुवाटार बसाइमा उनले आफूमाथि सुनियोजित प्रहार भएको देखे। त्यसलाई रोक्न भने खासै सकेनन्। आफू सहि छु भन्ने कुरा आफ्ना निकटहरुसँग भनेपनि उनले त्यसको भ्रम भने चिर्न ढीला गरे। हुन त नियतवश आक्रमणमा पर्दा त्यसको प्रतिकार गर्ने मौका नपाएको उनले निकटहरुलाई बताएका पनि छन्।आफूमाथि अप्रसाङगिक चर्चा गराएर शक्ति केन्द्रहरुले हुर्मत लिने प्रयास शुरु भएदेखि नै आफू कुनै पनि दिन वालुवाटार छोड्ने स्थितिमा पुग्ने आँकलन भने जोशीले गरेका थिए।
संसदीय सुनुवाई समितिमा सुनुवाई चलिरहँदा कामु प्रधानन्यायाधिश दिपकराज जोशीको विद्यालयको सर्टिफिकेटको प्रसङ चर्चामा ल्याइयो। त्यहिबाट जोशीले आफुमाथि संगठित र सुनियोजित आक्रमण भएको गन्ध पाए। आधिकारीक रुपमा छलफलमा नल्याइए पनि उनलाई तेजोवध गर्न त्यो काफी थियो।सर्टिफिकेटको प्रसङग उठाएर जोशीको जनमानसमा साख गिराउन पर्याप्त थियो। उनले आफूलाई प्रधानन्यायाधिश हुन रोकेको भन्दा पनि आफ्नो सर्टिफिकेटको विवाद झिकेर वदनाम गराउने प्रयास गरेकोमा दुख व्यक्त गरेका छन्।
तथ्यहरुलाई तोडमोड गरेर जोशीलाई रक्षात्मक बनाउने गरि गरिएको हल्ला नियोजित थियो भन्ने कुरा सुनुवाई समितिले गरेको निर्णयले समेत देखाएको छ। जोशीको नेपाल राष्ट्रिय विद्यापिठ विरगञ्ज नेपालको एसएलसीको लेजरमा उनी पास भएको प्रमाण देख्न सकिन्छ।
परीक्षा नियन्त्रक कार्यालयको मार्क लेजरमा जोशी २०२९ सालमा एसएलसी उतीर्ण भएको उल्लेख छ। विद्यापीठको मार्क लेजरको ५४औं पृष्ठमा जोशीको नाम र प्राप्ताङक रहेको छ। ५४औ पृष्ठमा २३ जना परीक्षार्थीको नाम भएकोमा चार जना मात्र उतीर्ण भएको लेजरमा देखिन्छ। सोहि पृष्ठको छैठौं नम्वरमा जोशीको नाम उल्लेख रहेको छ।
जोशीको नाम रहेको लेजरको पृष्ठ ५३ मा १९ मध्ये ५ जना उतीर्ण रहेको, पृष्ठ ५२ मा २४ मध्ये ८ जना उतीर्ण रहेको, पृष्ठ ५१ मा २४ मध्ये ५ जना उतीर्ण रहको देखिएको छ। पृष्ठ ५५ मा २४ मध्य ५ उतीर्ण रहेको तथ्य समेत फेला परेको छ।
शिक्षा मन्त्रालय अन्तर्गतको परिक्षा नियन्त्रण कार्यालय एकमात्र वोर्ड हुनुअघी नेपालमा ३ किसिमका वोर्ड समेत रहेको तथ्य यो प्रसङगसँगै उजागर भएको छ। पछि मात्र परिक्षा नियन्त्रण कार्यालयलाई मात्र एक मात्र वोर्ड बनाइयो।
एसएलसीको एउटा वोर्ड, विद्यापीठको एउटा वोर्ड र नन्दी रात्री विद्यालयमा गोपाल असीम लगायतले सञ्चालन गरेको अर्को पनि वोर्ड थियो। जोशीको सर्टिफिकेट नेपालकै मान्यता प्राप्त वोर्डबाट प्राप्त भएको यो तथ्यबाट समेत पुष्टी भएको छ।
परिक्षा नियन्त्रण कार्यालयमा भेटिएको विद्यापीठको परिक्षा उतीर्णहरुको संख्या र अनुतीर्णहरुको संख्या हेर्ने हो भने विद्यापीठबाट सबै उतीर्ण हुन्थे भन्ने अफवाह पनि नियोजीत रहेको चलाइएको समेत पुष्टी भएको छ।
जोशीले सोहि प्रमाणपत्रको आधारमा उच्चशिक्षा हासिल गरि नेपाल ल क्याम्पसको प्राध्यापक र सोहि संकायमा डीन रहेका थिए। पछि जोशी सर्वोच्च अदालतको न्यायाधिश बनेका थिए।
संविधान जारी भएपछि सोहि संविधान अनुसार सर्वोच्च अदालतको न्यायाधिशमा समेत संसदीय सुनुवाई हुँदा नआएको यो शैक्षिक प्रमाणपत्रको विषय प्रधानन्यायाधिश हुँने बेलामा किन आयो र कस्ले ल्यायो अब यो जगजाहेर भइसकेको यस क्षेत्रका जानकारहरु बताउँछन्।
प्रधान्यायाधिश हुनबाट रोकिएका जोशी अब केहि दिन विदा बसी के गर्ने भन्ने निर्णयमा पुग्ने बताउँछन्।