काठमाडौं । निर्मला हत्याका दोषीलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुले दिपकराज जोशीको पक्षमा समेत नारा लगाएका छन् ।
शनिबार काठमाडौंमा नेपाल विद्यार्थी संघले गरेको प्रदर्शनमा उत्रिएकाहरुले जोशीको पक्षमा समेत नारा लगाएका हुन् । उनीहरुले नारा लगाउँदै जोशीको न्यायिक पुर्नबहालीको समेत माग गरे ।
प्रदर्शनकारीले ‘संविधान विरोधी सरकार मुर्दाबाद, दिपकराज जोशीलाई न्यायिक आधारमा पुर्नबहाली गर, न्यायको घाँटी रेटियो, कम्युनिष्ट सर्वसक्तावाद देखियो’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
सरकारविरुद्ध प्रदर्शन गरेका विद्यार्थीले जोशीको पक्षमा नारा लगाएपछि काँग्रेसले स्वतन्त्र न्यायालयको पक्षमा आफूलाई उभ्याएको रुपमा लिइएको छ ।
संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीश हुने ढोका बन्द गरिदिएपछि घर फर्किन लागेका जोशी प्रधानन्यायाधीश नबनाएको भन्दा पनि सर्टिफिकेट विवादमा पारेकोमा रुष्ट छन् ।
संवैधानिक परिषदले भावी प्रधानन्यायाधीशका लागि कायम मुकायमको जिम्मेवारीमा रहेका ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधिशका सिफारिस गरिसकेको छ ।
मिश्र सिफारिस भएपछि विदामा रहेका जोशी नैतिकताका आधारमा प्रधानन्यायाधीको सरकारी निवास बालुवाटार छोड्न लागेका छन् । व्यक्तिगत सामानहरु परिवारका सदस्यहरुले सारिरहेका छन् । जोशी अब बुधवार वालुवाटारको सरकारी निवासबाट निजी निवास धुम्वाराही सर्ने छन् ।