जनै पूर्णिमा : नेवार समुदाय भ्यागुतालाई भात खुवाउँदै
प्रदेश २ र ७ मा सार्वजनिक बिदा
प्रकाशित २०७५ भदौ १० आइतबार
610
Shares
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आईतबार विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ । आईतबार बिहानै यजमान आफना गुरु पुरोहित कहाँ गई यज्ञोपवीत मन्त्रने गर्दछन् । यही दिन मन्त्रेको जनै वर्षभरिका धार्मिक कर्ममा प्रयोग गरिनुका साथै फेर्नलाई समेत उपयोग गरिन्छ ।
कुनै पनि धार्मिक कर्म गर्दा र जुठो, सूतकबाट चोखिँदा यही दिन मन्त्रिएको जनै फेरेर शुद्ध भइन्छ भन्ने वैदिक मान्यता छ । पूर्णिमाको व्रत भने भदौ ९ गते अर्थात् हिजै गरिएको छ, व्रतमा चन्द्रमा पूजा गरिने भएकाले सायंकालमा पूर्णिमा परेको दिन गर्नुपर्ने शास्त्रमा उल्लेख छ ।
शनिबार दिउँसो २ बजेर २७ मिनेटदेखि पूर्णिमा तिथि शुरु भएको र आईतबार दिउँसो ४ बजेर १८ मिनेटसम्म पूर्णिमा तिथि छ । ऋषि तर्पणी, रक्षाबन्धन भने सूर्योदयकालमा पूर्णिमा भएका दिन गर्नुपर्ने शास्त्रीय मान्यता भएकाले आइतबार बिहानै गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा आज पनि प्रचलित छ ।
यसैकारण गुरु पुरोहितहरुले रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए ।
नेपालको तराई क्षेत्रमा भने यही दिन दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर राखिबन्धन मनाइन्छ । यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ ।
यही दिन तागाधारीले आफनो जनै फेर्छन् । यसका लागि हिजैदेखि कपाल मुण्डन गरी एक छाक मात्र खाएर चोखोनितो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले आज बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दतिवन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेरिन्छ ।
कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ। वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा पुजिन्छ ।
अर्को डोराको तीन वटा शिखालाई भने कर्म, उपासना र ज्ञानको त्रियोगका रुपमा मानिन्छ । यो दिन शरीर शुद्ध गरी देवता, ऋषि र पितृलाई पनि तर्पण गरिने भएकाले नै ऋषि तर्पणी समेत भन्ने गरिएको हो ।
क्वाँटीले स्वास्थ्यमा पार्ने प्रभाव
यो दिन ९ थरिका गेडागुडी मिसाइ भिजाएर टुसा उमारेर क्वाँटी बनाई खाने परम्परा छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ जस्ता गेडागुडीको मिश्रण क्वाँटी खानु अघि यस्लाई टुसा उम्रने गरी पानीमा भिजाउने चलन छ । चार दिन भिजाएर टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् । यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।
स्वास्थ्यको लागि फाइदा जनक भएपनि क्वाँटीमा प्रोटिनको मात्रा उच्च हुन्छ, जसले गर्दा शरीरमा युरिक एसिड बढ्ने सम्भावना रहन्छ । नेवार समुदायले यो पर्वमा एक सातासम्म क्वाँटी बनाएर खाने भएकाले अधिक प्रोटिन हुन गई मृगौलाले त्यसको भार थेग्न नसकी विभिन्न रोग निम्त्याउन सक्नेप्रति चिकित्सकले सजग हुन भनेको छ । मासु र क्वाटी संगै खाँदा उच्च प्रोटिनको मात्रा हुने भएकाले स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने र किड्नी रोगीहरुले क्वाटी कम खान डाइटिसियनहरुकोे सुझाब छ ।
नेवार समुदायले भ्यागुतोलाई भात खुवाएर ‘गुन्ह्पुन्ही’ मनाउँदै
नेवार समुदायले यो दिनलाई दिन ‘गुन्हपुन्ही’ भनी मनाउँछन् । उपत्यकाको नेवार समुदायले यो पूर्णिमालाई गुन्हुपुन्ही पर्वको रुपमा क्वाँटी खाएर मनाउने गर्दछन् । यस्तै उपत्यकामा नेवार समुदायका किसानले खेतमा गई भ्यागुतालाई पूजा गरी सिमीको पातमा क्वाटी , भात, मासु लगायतका चोखो बनाएर पकाएका सबै थोक राखेर खुवाउने भएकाले यो दिनलाई भ्यागुतालाई भात खुवाउने दिन पनि भन्ने गरिन्छ । वर्षा र खेतीको कामबारे कृषकहरूलाई जानकारी दिने भ्यागुताले गठेमङ्गलका दिन नरभक्षी घण्टासुरलाई बाटो भुलाई धापमा जाकिदिएकाले यो दिन भ्यागुताको पनि पूजा गर्ने प्रचलन रहेको छ ।
यही दिन भगवान् गौतमबुद्धले आफनो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्धग्रन्थको ललितविस्तारमा उल्लेख गरिएको छ । यो दिन स्वयम्भूमा पनि ठूलो मेला लाग्दछ । यस दिन रसुवाको गोसाइँकुण्ड (शिलु तीर्थ) मा ठूलो मेला लाग्दछ । साथै, गोसाइँ कुण्डबाटै पानी आइराखेको जनविश्वास रहेको पाटनको कुम्भेश्वरमा पनि ठूलो मेला लाग्दछ ।
कुम्भ ऋषिले तपस्या गरेकाले उनकै नामबाट कुम्भेश्वरको नामबाट प्रसिद्ध भएको उक्त कुण्डमा स्नान गरेर त्यहाँ रहेको कुम्भेश्वर महादेवको पूजा अर्चना गर्ने गर्दछन् । यस दिन नेवार समुदायमा करुण रसले भरिएको ‘सिलु तीर्थ जाने’ गीत गाउने चलन छ । काठमाडौंको पशुपति र मणिचूड, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधाम लगायतका ताल, पोखरी र कुण्डमा पनि आज मेला लाग्छ ।
प्रदेश २ र ७ मा सार्वजनिक बिदा
प्रदेश नं ७ को सरकारले जनै पूर्णिमा को अवसरमा प्रदेश नं ७ मा सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को शनिबार बसेको आकस्मिक बैठकपछि सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले जनै पूर्णिमा तथा रक्षा बन्धनका दिन भदौ १० गते प्रदेशमा रहेका सम्पूर्ण सरकारी कार्यालय एवं सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको बताए ।
यसैगरी, प्रदेश नं २ सरकारले पनि रक्षाबन्धनका अवसरमा सार्वजनिक बिदा दिएको छ । प्रदेश २ का सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिदाबारे सूचना प्रकाशित गरी जानकारी दिए । प्रदेश २ का सम्पूर्ण सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तिय संस्था, संस्थान र विद्यालयमा सार्वजनिक बिदा कार्यान्वयन गराउन सम्बन्धित सबैका लागि सूचना प्रकाशित गरिएको छ ।