काठमाडौं । नयाँ संविधान जारी भएपछि बनेको नयाँ संघीय सरकारले आफ्नै केन्द्रीय राजधानीमा बिम्स्टेक सम्मेलन गर्दैछ । यो नेपालका लागि ऐतिहासिक पनि हुनेछ । बिम्स्टेक सदस्य राष्ट्रको यो चौथो जमघट भएपनि संघीय नेपालका लागि पहिलो र ऐतिहासिक सम्मेलन हुनेछ ।
नयाँ संरचनामा प्रवेश गरेकै बेला सात मुलुक आवद्ध क्षेत्रीय सहयोग संगठनको नेतृत्व लिई सम्मेलन गर्न लाग्नु गज्जबको संयोग र अवसर भनिएको छ । यो अवसरलाई जतिसक्दो उपयोग गर्न विज्ञहरुले सुझाएका छन् । बिम्स्टेक सात मुलुकहरुको एक अन्तर्राष्ट्रिय संगठन हो । यो संगठनमा दक्षिण एसियाली र दक्षिणपूर्वी एसियाली मुलुक छन् । हुन त नेपाल सहभागि भएको यस्तै अर्को अन्तर्राष्ट्रिय क्षेत्रीय सहयोग संगठन पनि छ, दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) । बिम्स्टेक र सार्क उस्ता यस्तै क्षेत्रीय सहयोग संगठन हुन् । तर, दुबैको फरक अवस्थाबाट स्थापना भएका संगठन हुन् ।
अर्कोतिर सार्कमा दक्षिण एसियाली मुलुकहरु मात्रै छन् । बिम्स्टेकमा दणिपूर्वी एसियाली मूलुक पनि सामेल छन् । बिम्स्टेकको पूरा रुप बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको योजना भन्ने, हुन्छ । यो संगठनको सदस्य बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड, भुटान र नेपाल हुन् । यी मुलुकहरु बंगालको खाडीसँग निर्भर रहेका छन् । यसमा दुई मुलुक म्यानमार र थाईल्याण्ड दक्षिण पूर्वी एसियाली हुन् ।
सन् १९९७ जुन ६ थाइल्याण्डको बैंककमा यसको सानो रुपको स्थापना भएको थियो । जसलाई बंगलादेश, भारत, श्रीलंका र थाइल्याण्ड आर्थिक सहयोग (बिस्टेक) नाम राखिएको थियो । सन् १९९७ डिसेम्बर २२ मा यो संगठनमा म्यानमार पूर्ण सदस्य बनेको थियो । यससँगै यो संगठनको नाम म्यानमारलाई पनि जोडेर बिम्स्टेक राखिएको थियो । १९९८ मा नेपाल निरीक्षक मुलुक बन्न पुगेको थियो र सन् २००४ मा नेपाल र भुटानलाई पनि सो संगठनमा समावेश गरिएको थियो ।
के हो बिम्स्टेक, के हो सार्क ?
बिम्स्टेक एक क्षेत्री संस्था अथवा संगठन हो । पूर्व राजदूत तथा पराराष्ट्रविद् डा. भेखबहादुर थापा भन्छन्, ‘यो पनि सार्क जस्तै क्षेत्रीय संगठन हो । कसैले यसलाई सार्कको विकल्प भन्छन्, कसैले पूरक पनि भन्छन् ।’ के यो सार्कको विकल्प हो त ? जवाफमा उनले भने, ‘विकल्प होईन । पूरक हुन सक्छ । सार्क निष्क्रिय भएर धेरै खालका अड्कल हुँदा कसैले विकल्प भने होलान् । तर, विकल्प होईन । सार्कको सिस्टम फरक छ, यसको फरक छ ।’
सार्कले प्रगति गर्न सकेन, उनले भने, ‘सार्कमा प्रतिबद्धता जनाउने काम मात्रै भयो । कार्यान्वयन भएन । शिथिलता देखियो ।’ सार्क शिथिल हुनुको कारण ? उनले भने, ‘भारत र पाकिस्तानबीचको सम्बन्ध । र, अर्को कुरा सबै सदस्य राष्ट्रले आ–आफ्नो जिम्मेवारी बहन गर्न नसक्नु अर्को कारण हो ।’
भारत सार्कको विकल्प खोज्न अग्रसर भएको हो ?
डा. थापा भारतले सार्कको विकल्प खोज्न थालेको भन्न मिल्दैन, भनेका छन् । उनले भने, ‘यदि कसैले त्यस्तो सोचिरहेको हो भने, त्यो अड्कलबाजी मात्रै हो ।’ किन ? उनले जवाफमा भने, ‘भारतले सार्क फण्ड देखि लिएर धेरै प्रतिवद्धताहरु जनाएको छ । सार्कको छुट्टै महत्व छ ।’ बिम्स्टेकले पनि यतिका वर्ष खासै प्रगति नगरेको बताउँदै डा. थापाले सम्मेलनका लागि नेपालले गरेको तयारी राम्रै रहेको तर, परिणाम हेर्न बाँकी छ, भनेका छन् । उनले भने, ‘अब कसरी अघि बढ्छ भन्ने कुरा महत्वपूर्ण हो ।’
सार्क गतिमा फर्किने संकेत
भारत र पाकिस्तानको सम्बन्धका कारण १९औँ सार्क शिखर सम्मेलन अझै अन्योलमा छ । पाकिस्तानमा हुनुपर्ने शिखर सम्मेलन अहिलेसम्म हुन सकेको छैन । तर, पछिल्लो समय पाकिस्तानमा ईमरान खानको उदयले सार्क गतिमा फर्किने संकेत मिलेको छ । यो कुरा डा. थापाले पनि भनेका छन् ।
उनले भने, ‘पूर्व क्रिकेटर समेत रहेका ईमरान खानको घोषणा र भारतीय प्रधानमन्त्रीको बधाईले सम्वाद आरम्भ भईसकेको मान्नु पर्दछ ।’ पाकिस्तानको प्रधानमन्त्री बनेपछि खानले भारतसँग अनवरत वार्ता गर्ने घोषणा गरिदिए । ता कि उत्तर कोरिया र अमेरिकाबीचको आइसब्रेक जस्तै । भारतीय प्रधामन्त्री मोदीले समेत खानलाई बधाई दिए । अर्कोतिर पूर्व क्रिकेटर खान भारतीय क्रिकेट ईतिहासप्रति निकै श्रद्धा गर्दछन् । र, भारतीय विचारलाई सकारात्मक लिन्छन् ।
बिम्स्केट र सार्कको महत्व नै अलग
विदेश मामिलाका जानकार प्राध्यापक डा. श्रीधर गौतमले बिम्स्टेक र सार्क दुबै क्षेत्री सहयोग संगठन भएकाले दुबैको महत्व अलग–अलग छ, भने । उनले अगाडि थपे, ‘यसको व्याख्या गर्ने हो भने धेरै समय खर्च होला । छोटोमा बुझ्दा बिम्स्टेक भनेको जो–जससँग जे छ, त्यसमा साझेदारी गर्ने र सहयोग गर्ने हो । आर्थिक, सामाजिक सम्भाव्यता यसको मूल उद्देश्य हो । सार्कले दक्षिण एसियाली मुलुकको समग्र अवस्थाबारे सरोकार राख्दछ ।’
नेपाललाई बिम्स्टेकले के टेवा पुग्छ ? ‘मूख्य कुरा बंगालको खाडीसँग जोडिएकाले पानी, रेल, विजुलीको कुरा सोझै बंगलादेशसँग गएर ठोक्किन्छ । मूख्य कुरा यसमा बंगलादेश हो । जस्तो बन्दरगाहसँगको सोझो पहुँचको कुरा पनि होला । यसमा मूल कुरा बंगलादेश हो । बंगलादेशपछि अरु सम्बन्धहरु विस्तार हुन्छन् ।’