arrow

मेक्सिकोसँग ठूलो व्यापारिक सम्झौता चाँडै हुँदैछ : ट्रम्प

अमेरिका र मेक्सिको बीचको व्यापार वार्ता सहमति नजिक

logo
प्रकाशित २०७५ भदौ ११ सोमबार
donald-trump.jpeg

वासिङ्टन। उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) लाई अद्यावधिक गर्नेसम्बन्धी संयुक्तराज्य अमेरिका र मेक्सिकोका मध्यस्थकर्ताको वार्ता सोमबार पुनः आरम्भ गर्ने तयारी थालिएको छ। वासिङ्टनमा दुबै पक्षबीच साताभर चलेको अनौपचारिक वार्तामा व्यापार र लगानीका विषयमा व्यापक छलफल भएको र दुवै पक्ष सहमति नजिक पुगेको बताइएको छ।

मेक्सिकोका अर्थसचिव इल्डेफोन्सो गुआजार्डोले आठ घण्टासम्म चलेको छलफल निकै सकारात्मक रुपमा अगाडि बढेको जानकारी दिए। आइतबारको वार्तामा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजर र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर सहभागी थिए। 

गुआजार्डोका अनुसार, वार्ता सोमबार बिहानै शुरु हुनेछ। वार्तामा द्विपक्षीय विषयमा सहमति जुटाउने तथा नाफ्टाको तेस्रो साझेदार मुलुक क्यानडासँग छलफल गरी नयाँ सम्झौतामा हस्ताक्षर गरिनेछ।

सचिव गुआजार्डो तथा मेक्सिकोका विदेशमन्त्री लुइस भिडेगारेले दुई देशबीचका मुख्य व्यापारिक समस्या सुल्झाउन एक महिनाभन्दा बढीदेखि अमेरिकी व्यापार प्रतिनिधिसँग वार्ता गर्न पटकपटक वासिङ्टनको भ्रमण गरिसकेका छन्। उनीहरु आगामी अगष्ट महिनाअघि नै सवारी साधनको बजार समेतका विषयमा ठोस निष्कर्षमा पुग्ने प्रयास गरिरहनु भएको छ।

मेक्सिकोमा जुलाई १ मा भएको राष्ट्रपतीय चुनावले पनि मे महिनाका लागि तोकिएको वार्तामा असर परेको थियो। अमेरिका, क्यानडा र मेक्सिको सम्मिलित नाफ्टाका बारेमा राष्ट्रपति ट्रम्पले निरन्तर आलोचना गरिरहेका छन्छ। अमेरिकाका लागि “घातक” रहेको भन्दै ट्रम्पले सम्झौतामा आवश्यक संशोधन नभए नाफ्टाबाट अलग्गिने चेतावनी दिएका छन्।

तर २५ वर्ष पुरानो यस सन्धिका विषयमा नयाँ परामर्श भइरहेको छ, र अमेरिका तथा मेक्सिको यस सम्झौतालाई अद्यावधिक गर्नेमा लगभग सहमति नजिक पुगेका छन्। अमेरिका–मेक्सिको बीचको सवारी साधन उद्योगसम्बन्धी नियममा के कस्तो सहमति हुन्छ भनी पर्खेर बसेको क्यानडालाई पनि वार्तामा आमन्त्रण गर्ने योजना छ।

अमेरिका र मेक्सिकोका वार्ताकारहरु राष्ट्रपति एनरिक पेना नीटोले डिसेम्बर १ मा सत्ता छाड्नुअगावै सम्झौतामा पुग्न प्रयासरत छन्। मेक्सिकोको राष्ट्रपतिमा आन्द्रेस म्यानुअल लोपेज ओब्राडोर निर्वाचित भइसक्नु भएको छ र उनले आगामी डिसेम्बर १ तारिखदेखि सत्ता समाल्नेछन्। नयाँ सम्झौतालाई कार्यरुप दिन अमेरिकी संसद कङ्ग्रेसलाई ९० दिनको अग्रीम समय दिनु पर्दछ।

क्यानडाका विदेशमन्त्री क्रिस्टिया फ्रिल्यान्डले अमेरिका–मेक्सिकोबीचको वार्ताको प्रगतिबाट उत्साहित भएको र दुवै मुलुकबीचको द्विपक्षीय वार्ता सकिएलगत्तै क्यानडा सहभागी हुने बताए। राष्ट्रपति ट्रम्पले शनिबार बिहान गरेको एक ट्वीटमा वार्ता सहमति नजिक पुगेको बताए।

“मेक्सिको सँगको हाम्रो सम्बन्ध अत्यन्त सकारात्मक रुपमा अघि बढेको छ,” ट्रम्पले लेखे। “मेक्सिकोसँग ठूलो व्यापारिक सम्झौता चाँडै हुँदैछ।” एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ