arrow

पाल्पामा जात्राको लहर , भव्यरुपमा मनाइयो गाईजात्रा

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ भदौ ११ सोमबार
gai-jatra-palpa.jpg

पाल्पा । नेवार समुदाय भएका ठाउँहरुमा भाद्र शुक्ला प्रतिपादका दिन सोमबार देखि जात्राहरु सूरु भएका छन् । नेवार समुदायमा जात्रा मृत्यु संस्कारसँग सम्बन्धित भएकाले वर्षभरिमा दिवंगत भएकाको सम्मान तथा सम्झनामा गाईको प्रतिक बनाई  नगर परिक्रम गराईन्छ । पाल्पामा पनि परम्परागत रुपमा मनाउँदै आएको गाईजात्रा पर्व सोमबार भव्य रुपमा मनाएको छ।

आफ्नै संस्कृति र परम्परा अनुसार एक वर्ष अगाडि देखि मृत्यु भएका आफन्ताको सम्झनामा काठमाडौं उपत्यका लगायत देशभरका मूख्य मूख्य शहरहरुमा नेवार समुदायले आआफ्नो घरबाट गाई जात्रा(सापारु) निकालेर यो पर्व मनाउने गर्दछन् । मृत्यु भएका आफ्न्ताको सम्झनामा गाईको प्रतिकमा मानिसलाई सिँगारपटार गरी बाजागाजा सहित नगर परिक्रम गरेर यो पर्व मनाउने प्रचलन रहेको छ । विगत देखि नै भाद्र कृष्ण प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट गाईजात्रा निकाल्ने चलन रहँदै आएको हो।

धार्मिक ग्रन्थ तथा किवंदन्ती अनुसार गाईजात्राको दिन गाई प्रदर्शन गर्ने क्रममा उक्त गाईको एक पाईलाबराबर  एक अश्वमेघ यज्ञ गरेबराबरको फल प्राप्त हुन्छ भन्ने जनविश्वास रहि आएको छ। यस दिन गाईको प्रतिक बनाउनु अघि मृतकका नाममा किरियापुत्रीद्वारा संकल्प गराई पुरोहीतले विधिपूर्वक पूजाआजा सम्पन्न गर्दछन्। पुरोहीतले पूजाकै क्रममा गाईको प्रतिक बनाउन लगाउँछन् र तयार भएको गाई आ आफ्नो क्षेत्रको सम्बन्धित एंव निश्चित क्षेत्रमा परिक्रमा गराईन्छ।

तानसेनका गाइजात्रा निकाल्ने घरबाट भग्वान राम, सिता, लक्ष्मण, कृष्ण, राधाको रुपमा वालवालीकालाई सिगारेर भजन, रामायाण गाउँदै दिवंगत आत्माको शान्तिको कामना गर्दै टोल छरछिमेक र बजार घुमाइएको थियो। पाल्पामा निकालिने हरेक गाईजात्रा पाल्पा दरवारमा लैजाने परम्परा आजसम्म पनि कायम रहेको छ। सरकारी निकायको प्रमुख थलो मानिएको दरवारमा गाईजात्रा नदेखाएमा सरकारले मृतकहरुको रेकर्ड राख्न सक्दैन भन्ने परम्परागत मुल्य मान्यताका साथ दरवारमा गाईजात्रा लगिने गरिएको हो । गाईजात्राका दिन स्वर्गको दोस्रो ढोका खुला हुने भएकाले मृत आत्माको चिरशान्तीको कामना गर्दै भजन किर्तन गाउदै बजार परिक्रमा गर्ने चलन रहेको संस्कृतिका जानकार राजेन्द्र गोपाल सिंहले बताए। पाल्पामा जात्रा ९ दिन सम्म मनाइन्छ। यसलाई स्थानीय नेपाली भाषमा गुन्हु पुन्ही भनिन्छ।

गाईजात्रालाई नेपाली भाषमा ‘सापारु’ पनि भन्ने चलन रहेको छ। गाईको प्रतिक प्रदर्शनसँगै विशेष किसिमको संगीतको तालमा लट्ठी जुधाएर घिन्ताङघिसी नाच नाच्नु पाल्पाको  गाईजात्राको विशेष आकर्षण हो। नौ दिन सम्म मनाइने जात्राको पहिलो दिन सांस्कृतिक र संस्कारगत गाईजात्रा सकिएपछि दोस्रो रोपाई जात्रा  हुन्छ। तेस्रो दिनदेखि हास्यव्यंग्य, घोचपेचसँगै विभिन्न मौलिक नाच प्रदर्शन गरेर जात्रा मनाईन्छ । यस वेला विशेष गरेर देवी नाच, भैरव नाच, कर्कलो नाच, लुसी नाच, बाँदर नाच, नागांचा प्याखां, गाँइचा, म्हेखा प्याखं, मयुर नाच, ख्याक नाच, कुकुर नाच लगायतका विभिन्न नाच देखाईन्छ।

पुत्रशोकले भावविह्वल भएकी आफ्नी रानीलाई खुसी तुल्याउन राजा प्रताप मल्ले जनतालाई आ आफ्ना मरेका व्यक्तिको नाममा गाईजात्रा निकाली नगरपरिक्रमा गराउनु भनी आज्ञा दिएको र यतिले पनि रानीको मन शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रदर्शन तथा हस्यव्यङ्ग्यात्मक कार्यक्रम पनि गराउने आदेश दिए अनुरुप गाईजात्रा निकाल्ने प्रचलन रहेको इतिहासमा पाईन्छ। त्यसै अनुरुप पाल्पाका नेवार समुदायले मृत आत्माको सम्झनामा छुट्छुटै गाईजात्रा निकालेका हुन्। गाईजात्रा तानसेनको टक्सार टोल, शित्तलपाटी, मख्खनटोल, पेट्रालपम्प, आन्दोलनचोक हुँदै पुन शित्तलपाटी आएर विर्सजन गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ