arrow

शहीद खुनाका परिवारको धोको : गोली खाएको ठाउँमा छोराको शालिक हेर्ने

logo
शेरबहादुर सिंह,
प्रकाशित २०७५ भदौ ११ सोमबार
kanchanpur.JPG

भीमदत्तनगर । सोमबार बिहान कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरस्थित शहीद सनी खुनाको घर पुग्दा आफन्तबीच उनको परिवार शोकमा डुबेको थियो ।

यहाँको भाषीस्थित साहुको घरमा काम गरेको ज्याला रकम लिन हिँडेका १४ वर्षीय सनी शुक्रबार बेलुकी प्रहरीको गोली लागेर शहादत प्राप्त गरेयता उनका बुबा वीरबहादुरको आँखाबाट बगेको आँशुको भेल अझै रोकिएको छैन ।

विसं २०६६ अघिसम्म भीमदत्तनगरपालिका–१६ वसन्तपुरमा कमैया जीवन बिताएका वीरबहादुर हाल भीमदत्तनगरपालिका कार्यालयमा नगर सरसफाइका जागिरे हुन् । कमैया मुक्त भएपछि भगतपुरमा मिलेको साढे चार धुर जमीनमा ओत लाग्ने दुई कोठे झुपडी बनाएर परिवार पालिरहेका वीरबहादुर छोरा सनीको निधनले स्तब्ध मात्रै छैनन्, आफ्नो जीवनको सहारा गुमाउँदा अथाह पीडामा डूबेका छन् ।

सनीका आमा मञ्जु खुना पनि गहभरि आँशु लिएर सहानुभूतिका लागि आउने आफन्तजनसित कुराकानी गर्छिन् । “छोरा शहीद भए पनि नियतिले घरपरिवरको खुशी नै लुटेको छ”, उनले भनिन् , “निर्दोष सनी छातीमा गोली थापेर शहीद बन्यो ।”

पछिल्लो समय ज्याला मजदुरीमा लागेर परिवारको खर्च चलाउन सहयोगी बनेका सनीले अध्ययन भने गर्न सकेनन् । “आर्थिक अवस्था निकै कमजोर भएकाले सनीको ४ कक्षामै पढाइ रोके” आमा मञ्जुले भनिन, “केही गरेर परिवार चलाउँ भन्ने बेला सपना सबै उडेँ ।” उनिले छोराले गोली खाएको ठाउँमा शहीद सनीको शालिक बनाएको देख्ने आफ्नो धोको रहेको सुनाए । “छोरा ढलेको ठाउँमा उसको शालिक बनाइदिए हुन्थ्यो । मञ्जुले भनिन्, “छोराको शालिक हेरेर चित्त बुझाउनु हुन्थ्यो ।”

मञ्जु पनि विगत दुई वर्षदेखि भीमदत्तनगरस्थित मन्टेश्वरी स्कूलमा खाना बनाउने काम गर्छिन् । “घटना भएको दिन दिउँसोसम्म सनी घरमै थियो”, उनी भनिन्, “ठूलोबुबाको छोरा उमेशसित काम गरेको पैसा लिन गएछ, फर्केर आएन”, मञ्जु शहीद सनीका कान्छी आमा हुन् । सनी अढाइ वर्षको छँदा उहाँकी आमा मायादेवी खुनाको निधन भएको थियो । सनीका भाइ एलुन खुना अहिले पाँच वर्षका छन् भने दुईवटै दिदीको विवाह भइसकेको छ ।

रक्षाबन्धनकै दिन भाईको शव देख्दा सनीका दुई दिदी त्यो दिन रोएर बिताएको मञ्जुको भनाइ छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ