काठमाडौंं । बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलनका लागि सरकारले सुरक्षाप्रति गम्भीर सतर्कता अपनाएको छ ।
सुरक्षाका लागि १८ हजार सुरक्षाकर्मी परिचालन हुँदैछन् । चार वटै सुरक्षा निकाय सतर्क भएका छन् । सरकारले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागबाट जनशक्ति परिचालन गर्दैछ ।
सम्मेलनस्थल होटल सोल्टीमा सेनाको कमान्डमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् । पहिलो घेरामा सेना, दोस्रोमा प्रहरी, तेस्रोमा सशस्त्र र चौथोमा अनुसन्धानले घेरा हाल्नेछ ।
सोमबारदेखि नै सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाडौं उपत्यकामात्र हैन नेपाल–भारत खुल्ला सिमानाका कारण सुरक्षामा असहजता नआओस भन्ने उद्धेश्यले त्यहाँ पनि नेपाल भित्रिने मुख्य नाकामासमेत सुरक्षा निगरानी बढाइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र बिमानस्थल हुँदै ओहोर–दोहोर गर्ने यात्रुहरुको समेत निगरानी बढाइएको छ । बिमानस्थलमा अनावश्यक भिडभाड नहोस भन्ने अभिप्रायले बिमानस्थल प्रवेश गर्ने मुख्य गेटबाटै यात्रुलाई मात्र बिमानस्थल प्रवेश गर्न दिइएको बिमानस्थल कार्यालयले जानकारी दिएको छ ।
कुनै व्यक्ति वा समुह माथि शंका लागेमा तत्कालै नियन्त्रणमा लिएर सोधपुछ गर्न निर्देशन दिइएको छ ।
कसका कति सुरक्षाकर्मी ?
बिमस्टेकको सुरक्षाका लागि सबैभन्दा बढी नेपाल प्रहरीका सुरक्षाकर्मी खटिँदै छन् । नेपाल प्रहरीका झण्डै ९ हजार सुरक्षाकर्मी खटिने छन् ।
त्यसैगरी नेपाली सेनाबाट झण्डै ५ हजारको हाराहारीमा सैनिक परिचालन रहेका छन् । सशस्त्र प्रहरीबाट ३ हजार ५ सय र राष्ट्रिय अनुसन्धानबाट ५ सय भन्दा बढी सुरक्षा अधिकारी खटिने जनाइएको छ ।