arrow

गगन थापा सोध्छन् - ओली र प्रचण्डको नेतृत्वले नगरेको कामको जिम्मा देउवाले लिनुपर्ने ?

क्याल्कुलेटर बोक्नु भएको छ कि के हो ? : प्रधानमन्त्री

logo
प्रकाशित २०७५ भदौ १२ मंगलबार
oli-deuba-prachanda.jpg

काठमाडौं। नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वले नगरेको कामको जिम्मा सभापति शेरबहादुर देउवाले लिनुपर्ने भन्ने प्रश्न सोधेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले प्रधानमन्त्री ओलीलाई संविधान जारी भएपछि यहाँसम्म आइपुग्दा ७५ प्रतिशत समय सरकार कसले चलाएको भनि प्रश्न गरे ।   

थापाले भने, 'सम्मानीय प्रधानमन्त्रीज्यूले आफ्नो सम्बोधनको क्रममा संविधान निर्माण पछाडि यहाँसम्म आइपुग्दा अगाडिका सरकारहरुले काम नगरेको कारण धेरै दु:ख पाए भन्नुभयो । प्रधानमन्त्रीज्यूलाई जानकारी गराउदै सोध्न चान्छु  संविधान जारी भएपछि यहाँसम्म आइपुग्दा ७५ प्रतिशत समय सरकार कसले चलाएको हो ?'   

उनले प्रधानमन्त्री ओली र उनका पार्टीका विमान हाँक्ने कोपाइलट पूर्व प्रधानमन्त्री पुष्षकमल दाहालको सरकार जोड्दा ७५ प्रतिशत समय पुग्ने जानकारी दिँदै भने, 'प्रधानमन्त्रीज्यूको सरकार र  प्रधानमन्त्रीज्यूको पार्टीको जहाज हाँक्ने कोपाइलटले चलाउनु भएको सरकार जोड्दै गर्दा ७५ प्रतिशत समय पुग्छ । त्यो ७५ प्रतिशत समयमा काम गर्न नसकेको जिम्मा सम्मानीय प्रधानमन्त्रीज्यू लिन तयार हुनुहुन्छ ।'

यसअघि प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अझै केही कानून बन्न बाँकी रहेको बताउँदै 'संघीयता कार्यान्वयनमा पूर्ववर्ती सरकारले विरासतमा छाडेको कानूनी शून्यतालाई सम्बोधन गर्न समय लाग्नेनै थियो । कतै सरकार अलमल जस्तो देखिए, यिनै बिषय हुन् भनेर स्पस्ट हुनुपर्छ ।' भनेका थिए ।     

संविधान जारी भएपछि २०७४ को आम निर्वाचन अघि नेपाली कांग्रेसको तर्फबाट शेरबहादुर देउवाले एक पटक सरकारको नेतृत्व गरेका थिए भने तत्कालीन नेकपा एमालेबाट केपी शर्मा ओली र माओवादी केन्द्रबाट पुष्षकमल दाहालले एक-एक पटक सरकारको नेतृत्व गरेका थिए । तत्कालीन नेकपा एमाले र  माओवादी केन्द्र पार्टी एकिकरण भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको छ ।    

सांसद थापाको प्रश्नमा प्रधानमन्त्रीले सिधा उत्त नदिइकन गोलमटोल उत्तर दिए । उनले भने, 'क्याल्कुलेटर बोक्नु भएको छ कि के हो ७५ प्रतिशतको कुरा गर्नु भएको थियो , मिक्स पर्सेन्टेज निकाल्नु भएन कि के हो ?'

उनले पहिले सरकार निर्माणको अभ्यास बारे भने, ' कांग्रेस र एमालेले धेरै पटक संयुक्त सरकार चलाएका थिए। कांग्रेस र माओवादीले पनि संयुक्त सरकार चलाएको हो । कांग्रेस र राप्रपाले पनि चलाएको हो । हामीले इतिहासमा लोकेन्द्र बहादुर चन्दलाई प्रधानमन्त्री बनाएर पनि चलायौँ । कहिले सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाएर चलायौँ । आफ्नो पार्टी भित्र  प्रधानमन्त्रीको दावेदार नभएर त हैन होला ? यी प्रतिशतका कुरा त होलान् ।'      



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ